साप्ताहिक संवाददाता
साउदी अरबमा रहने नेपाली नारीहरुले भब्य रुपमा तीज मनाए । ‘जन सम्पर्क समिती साउदी अरेबिया’ को आयोजनामा सम्पन्न तीज कार्यक्रममा दर खाएर, नाँचगान गरेर तीजमा रमाइलो गरे । ‘परदेशमा जतिसुकै सुबिधा सम्पन्न भएपनि आफ्नो देश जस्तो नहुँदो रहेछ ।’ ललिता सापकोटा कोइरालाले भनिन् ‘चाडबाडमा यहाँ जति नै रमाइलो गरे पनि नेपालमा रहेका आफन्त, छिमेकी, साथीसंगीहरुको याद खुब आउँदो रहेछ ।’
काठमाण्डौंकी पेप्सिकोला ३५ स्थायि ठेगाना भएकी ललिता साउदीमा परिवार सहित बस्छिन् । तैपनि उनले बरोबर नेपाल मिस गर्छिन् । काठमाडौंमा तीजका बेला सडक नै राताम्य बनेको, साथीसंगीहरुसंगको भेटघाट गरेको झझल्कोले उनलाई सताईरहन्छ । साउदीको कानुन कडा छ । यहाँ महिला र पुरुष एकै ठाउँमा रमाइलो गर्न, नाँच्न त परको कुरो अन्य महिलाको अनुहार पनि हेर्न नहुने ठाउँ हो । यस्तो अबस्थामा पनि तीज मनाउँन पाउँदा उनी खुसी छिन् ।
रियादमा बस्ने नेपाली दिदी, बहिनी, दाजुभाइसंग एकै ठाउमा तीज मनाउन पाउँदा सीता पन्थ पाण्डेको मन पनि कम्ति रमाएन । नवलपरासि घर भएकी पाण्डेले नेपाल खुब मिस गरिन् । बिदेशमा एउटा हलभित्र बसेर तीज मनाउँदै गर्दा उनलाई नेपालका गाउँघर, चौतारोमा, मन्दिर, सार्वजनिक स्थलहरुमा दिदी, बहिनीहरु मिलेर नाँच्दै गाउँदै तीज मनाएको बिगत याद आइरह्यो । ‘माइतिघरमा गएर बाबा आमाले पकाएको दर खाँदै बालापनका साथीहरुसँग रमाइलो गर्दै तीज मनाएको याद आयो ।’ नवलपरासी घर भएकी उनले सुनाइन्, ‘ज्यान यता भए पनि मन चाही नेपालमा पुगेको थियो ।’
बिगत ८ वर्षदेखी अष्ट्ेरलियाको ब्रिसबनमा बस्दै आएकी रितिका लामिछानेले पनि यसपालीको तीज रमाइलोसंग मनाइन् । पछिल्लो समय अष्ट्ेरलियामा नेपालीहरुको संख्या बढ्दै गएको हुनाले चाडबाड मनाउन सजिलो भएको उनी बताउँछिन् । नेपालबाट नाम चलेका कलाकारहरु बोलाएर कार्यक्रमको आयोजना गर्दा झन् रमाइलो हुने रितिका बताउँछिन् ।
तीजको अबसर पारेर जापानको योकाइचि शहरमा भब्य कार्यक्रमको आयोजना गरियो । नेपाली र जापानी दुबै समुदायको सांस्कृतिक कार्यक्रममा जापानीहरुलाई नेपाल चिनाउन यस्तो कार्यक्रम गरिएको हो । सुनिता घिमिरेले भनिन्, नेपाल भ्रमण गर्न, नेपालको पर्यटन प्रबद्र्धन गर्न कार्यपत्र प्रस्तुती गर्ने योजनामा छु ।
अमेरिका बस्ने सिर्जना कोइरालाले पनि साथीसंगी, आफन्तहरुको साथमा तीज मनाउन पाउँदा खुसी व्यक्त गरिन् । त्यस्तै अमेरिकाकै टेक्सासमा बस्दै आएकी श्रद्धा श्रेष्ठ ‘बिमला’ ले यसपालीको तीज भब्य रुपमा मनाइन् । फेसबुकमा खोलिएको गु्रप US Nepal Help Network -(UNHN) मार्फत पोहोर साल खिन्न भएर रोएको मन यसपाली हर्षित भयो ।
अमेरिकामा भर्खर नयाँ आउने नेपालीहरुलाई, अमेरिकामा धेरै बर्षदेखि बस्दै आएका नेपालीहरुले आफ्नो अनुभवका आधारमा सहयोग गर्न सकुन् भन्ने उद्देश्यले खोलिएको समुह हो यो । अमेरिकाभरी बिभिन्न राज्यमा छरिएर बसेका थुप्रै नेपालीहरु यस कार्यक्रमका लागी भनेर टेक्सास आएका थिए । ‘पोहोर साल खिन्न भएर रोएको मन यसपाली आफ्नैहरुको बिचमा मस्त संग नाँच्यो ।’ श्रद्धाले भनिन्, ‘यसपालीको तीजमा न त आमा रुनु भयो न त म रोएँ ।’