साप्ताहिक संवाददाता
बर्सेनि क्यान सफ्टटेक आयोजित गर्दै आएको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ नेपालले यो वर्ष पहिलो पटक क्यान कमटेक–२०१६ को आयोजना गरेको छ । भकृटीमण्डपस्थित प्रदर्शनीस्थलमा आजदेखी प्रारम्भ भएको ‘सुविसु क्यान कमटेक–२०१६ इन एसोसिएसन विथ सामसुङ’ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकसित नयाँ प्रविधि तथा उपकरणहरू सार्वजनिक गरिएका छन् । मेला आइतबारसम्म सञ्चालन हुनेछ ।
‘कम्युनिकेसन टेक्नोलोजीको क्षेत्रमा दु्रत गतिमा भएको विकासलाई आत्मसात् गर्दै त्यसका बारेमा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले कमटेकको आयोजना गरेका हौं,’ क्यान महासंघका अध्यक्ष विनोद ढकालले साप्ताहिकसँग भने– ‘कम्युनिकेसन टेक्नोलोजी अहिले आममानिसको जीवनशैली नै भैसकेको छ, त्यसैले हामीले यो प्रविधि मेलाको शीर्षक नै कमटेक राखेका हौं ।’ इन्फर्मेसन–कम्युनिकेसन टेक्नोलोजीभित्र समग्र आइसिटी (सूचना तथा सञ्चार प्रविधि) क्षेत्र नै समेटिने भएकाले र अहिलेको समयमा मोबाइल फोनमै अक्सर सबै प्रविधि अटाउने भएकाले यस विषयमा मेलामा बृहत् अन्तक्र्रिया हुनेछ ।
यो क्षेत्रसँग सम्बन्धित उत्पादक कम्पनी, ट्ेरडिङ कम्पनी, सेवाप्रदायक संस्था तथा अन्य स्टेकहोल्डरको सहभागिता रहने भएकाले आमनागरिकले खोज्ने सबै जिज्ञासाको हल मेलामा पाइने क्यान महासंघका महासचिव विश्वराम बलामी बताउँछन् ।
प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, विद्युतीय सेक्युरिटी, सुरक्षा तथा समाधान, हार्डवेयर बिक्री तथा मर्मत, पावर सोलुसन्स, मोबाइल फोनसेट, मोबाइल फोन एसेसरिज आदि विषयमा अवलोकनकर्ताले नयाँ–नयाँ जानकारी प्राप्त गर्न सक्नेछन् ।
प्रदर्शनीमा डिलर डिस्ट्रिब्युटर, आइसिटी कलेज, ट्ेरनिङ इन्स्टिच्युट, पेमेन्ट सोलुसन्स आदिका स्टल पनि रहने महासचिव बलामीले बताए । क्यान कमटेकलाई भव्य बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कम्पनीलाई सहभागी गराइएको क्यान महासंघले बताएको छ ।
स्मार्टफोनको जमाना भएकाले त्यसमा फोकस भएका हौं
विनोद ढकाल
अध्यक्ष, क्यान महासंघ ८१ वटा स्टल रहने यो मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थीले २५ रुपैयाँमा मेला अवलोकन गर्न पाउनेछन् । मेलाको आयोजना हेर्दा मोबाइल फोनका नयाँ संस्करण एवं इन्टरनेट सेवाप्रदायकका विशेष स्किम उपहार यो मेलाको मुख्य आकर्षण बन्ने देखिन्छ । यो मेला ब्रोडब्यान्ड इन्टरनेट तथा कम्युनिकेसन टेक्नोलोजीमा बढी फोकस भएको अध्यक्ष ढकाल स्वीकार गर्छन् ।
ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्च गतिको इन्टरनेट प्रदान गर्न सेवाप्रदायकहरूबीच प्रतिस्पर्धा देखिन्छ । मेलाकै क्रममा देशका प्रमुख सहरहरूमा अनिवार्य डिजिटल टिभी ट्रान्समिसन प्रणाली लागू गर्ने सरकारी लक्ष्यअनुरूप सोसम्बन्धी जानकारी उपलब्ध गराइने बताइएको छ । क्यान कमटेकलाई नै लक्षित गरेर विश्वविख्यात एन्ड्रोइड मोबाइल फोनका नयाँ प्रविधिहरू सार्वजनिक हुने महासचिव बलामीले बताए ।
क्यान कमटेक कस्तो मेला हो ?
स्मार्ट मोबाइलले मानिसको जीवनशैलीमा उल्लेख्य परिवर्तन ल्याएको छ । त्यसैले कम्युनिकेसन टेक्नोलोजीमा फोकस भएर क्यान कमटेकको आयोजना गरेका हौं ।
यो मेलाको विशेषता के हो ?
समग्रमा बुझ्दा क्यान इन्फोटेकजस्तै हो यो मेला तर कमटेकमा हामी बढी स्मार्टफोनमा केन्द्रित छौं । कुनै समय थियो, हामी डेस्कटप कम्युटरको मेला गथ्र्यौं, विस्तारै डेस्कटपको बजार ल्यापटपले लियो, त्यसपछि थुप्रै वर्ष मेलाको केन्द्रबिन्दुमा ल्यापटप परे, अहिले ल्यापटपमा हुने काम स्मार्टफोनबाटै सम्भव भएकाले मानिसहरू स्मार्टफोनबाटै ती काम गरिरहेका छन् ।
यहाँसम्म कि वर्ड, एक्सल, पावरप्वाइन्टका काम स्मार्टफोनबाटै गर्न सकिन्छ । त्यसैले यो मेलाको विशेषता भनेको सर्वसाधारणलाई लेटेस्ट स्मार्टफोन र क्वालिटी इन्टरनेट सर्भिसका बारेमा सुसूचित गर्नु तथा त्यसको उपयोगका निम्ति सल्लाह दिनु हो ।
मेलाको नाम परिवर्तन गरिएको हो ?
क्यानले आयोजना गर्ने मेला भन्नेबित्तिकै त्यो सूचना तथा सञ्चार प्रविधिको मेला हो भन्ने आमबुझाइ छ, तसर्थ मेलाको शीर्षक जे भए पनि मेलामा सूचना तथा सञ्चार प्रविधिका नवीनतम कुराहरू प्रदर्शन गर्ने हाम्रो उद्देश्य रहन्छ । विगतमा सफ्टटेक आयोजना गर्दा विकसित सफ्टवेयरसँगै प्रविधिका अरू कुरा पनि प्रदर्शनीमा रहन्थे ।
यसपटक कमटेक भनेका छौं, यसैले स्मार्टफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवाप्रदायकहरूको उपस्थिति मेलाको आकर्षण बन्नेछ, यद्यपि त्यहाँ सफ्टवेयर विकासकर्ताहरू पनि सहभागी हुनुहुनेछ भने आइसिटी कलेजहरूका साथ अन्य आइसिटीसम्बद्ध निकायहरूको उपस्थितिसमेत रहनेछ ।
दीर्घकालीन प्रभाव पार्ने कुरा छैनन् ?
सरकारले यो क्षेत्रको विकास र यसको अधिकतम सदुपयोगका निम्ति पछिल्लो समयमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषद गठन गरेको छ । परिषद्मा निजी व्यवसायीहरूको छाता संगठन क्यान महासंघका तर्फबाट मैले प्रतिनिधित्व गरेको छु ।
परिषद्अन्तर्गत स्मार्ट सिटीको संयोजक पनि भएकाले साथै स्मार्ट सिटीका निम्ति कनेक्टिभिटी मुख्य कुरा भएकाले हामीले कमटेकलाई त्यसको लबिङ गर्ने प्लेटफर्मका रूपमा लिएका छौं । इन्टरनेटको उच्चतम प्रयोग नगरी हामी स्मार्ट सिटीको बाटोमा अग्रसर हुन सक्दैनौ ।