साप्ताहिक संवाददाता
नीलम कार्की निहारिका, साहित्यकार
नीलम कार्कीलाई तपाईंको पेसा के हो भनेर सोध्ने हो भने एकछिनसम्म जवाफ दिन सक्दिनन् । एकातिर उनले नेपाली साहित्यमा एमए गरेकी छिन् र लगातार साहित्यको सेवामा छिन् । अर्कातिर नर्सिङमा उच्च शिक्षा हासिल गरेर स्वास्थ्यसेवा पनि दिइरहेकी छिन् ।
नेपाल टेलिभिजनबाट स्वाथ्यसम्बन्धी लाइभ कार्यक्रम चलाउने पनि उनी नै हुन् र दाहाल यज्ञनिधिसँग मिलेर रेडियो नेपालमा साहित्य संसार कार्यक्रम चलाउने पनि उनी नै हुन् । स्वास्थ्य शिक्षामा एमएड गरेर स्वास्थ्यसेवाको प्रचारमा पनि उनले राम्रै योगदान पुर्याएकी थिइन् ।
नीलमका दुई कविता–संग्रह, दुई कथा–संग्रह तथा दुई उपन्यास प्रकाशित छन् । गएको वर्ष प्रकाशित ‘चिरहरण’ उपन्यास गत साता पद्मश्री पुरस्कारबाट पुरस्कृत भएको छ भने यो कृति मदन पुरस्कारमा समेत मनोनीत छ ।
पहिले कविता लेख्नुहुन्थ्यो, त्यसपछि कथा लेख्नुभयो । अहिले लगातार उपन्यास प्रकाशन गरिरहनुभएको छ । यसको कारण के हो ?
स्कुल पढ्दादेखि नै म कविता लेख्थेँ । राष्ट्रिय कविता महोत्सव–२०५३ मा तेस्रो, विराट कविता महोत्सवमा दोस्रो भएपछि म कविकै रूपमा परिचित भएँ । यद्यपि कविता कहिलेकाहीं आफ्ना कुरा अभिव्यक्त गर्न असमर्थ हुन्छ ।
त्यस्तो बेला म कथा लेख्छु । कहिलेकाहीँ केही कुरा भन्न कथा पनि असमर्थ हुन्छ, त्यति बेला उपन्यास लेख्नुपर्ने हुन्छ । मेरो अनुभवमा राम्रो कवि राम्रो उपन्यासकार हुन सक्छ तर राम्रो उपन्यासकारलाई राम्रो कवि हुन गाह्रै पर्छ ।
तपाईंको नामको पछाडि निहारिकाचाहिँ कसरी जोडियो ?
रेडियो नेपालमा दाहाल यज्ञनिधिसँग साहित्य संसार कार्यक्रममा जोडिँदा उहाँले यो नाम दिनुभएको हो । खासमा अर्को एक जना कविको नाम पनि नीलम कार्की भएका कारण म आफूलाई केही पृथक् परिचय दिन चाहन्थें । दाहाल सरले त्यो सोचलाई सार्थक बनाइदिनुभएको हो ।
कथा लेख्दा–लेख्दै उपन्यासतिर चाहिँ कसरी आउनुभयो ?
म ईश्वर बल्लभको असाध्यै ठूलो फ्यान हुँ । साहित्य संसार कार्यक्रम चलाउँदा म उहाँसँग सल्लाह लिइरहन्थेँ । उहाँ मलाई लेखनमा हौसला दिइरहनुहुन्थ्यो । यसबीच म अमेरिका पुगेँ । उहाँले तिमी जहाँ छौ, त्यहीँको कथा लेख्दा न्याय हुन्छ र अमेरिकामा रहेका नेपाली महिलाका पीडा लेख है भनेर आग्रह गर्नुभयो ।
त्यति मात्र होइन, उहाँले एउटा लेख नै लेखेर साहित्यकार जुन देशमा पुगे पनि उसले त्यहीँ बसेर नेपाली साहित्यको सेवा गरिरहेको हुन्छ । त्यसको उदाहरण नीलम हुन् । उनले अमेरिका बसेर पनि त्यहीँका नेपाली महिलाको कथा लेखिरहेकी छिन् भनेर मलाई परिबन्दमा पारिदिनुभयो । त्यसपछि उहाँको देहान्त भयो । अर्की आइमाई मैले उहाँको आकांक्षालाई ध्यानमा राखेर लेखेकी हुँ ।
चीरहरण लेख्ने योजना कति वर्षदेखिको हो ?
सानो छँदा आमाले मलाई महाभारतका कथा सुनाउनुहुन्थ्यो । मलाई त्यसका कथाले आश्चर्यचकित तुल्याउँथ्यो । विशेष गरी द्रौपदीको कथा सुन्दा अचम्म लाग्थ्यो । साहित्यमा लाग्दै जाँदा मलाई के लाग्यो भने हिजो महाभारतका नारीहरूले जस्तो समस्या भोगेका छन्, आज पनि त्यस्ता समस्या जस्ताका तस्तै छन् ।
कथा फरक होला, विज्ञान र प्रविधिले त्यो समस्यालाई फरक रूप दियो होला तर महाभारतका महिलाले जे भोगेका थिए आज पनि त्यही भोगिरहेका छन् । अनि मैले के पनि थाहा पाएँ भने नेपालीमा लेखिएका योजना गन्धा, द्वन्द्वको अवसान, माधवीजस्ता उपन्यास पुरुषहरूले नै लेखेका हुन् । महिलाको दृष्टिकोणबाट महिलाले नै यसमा कलम चलाउँदा कस्तो हुन्छ भन्ने लागेपछि मैले यो उपन्यास लेख्ने निर्णय गरेको हुँ ।
कति वर्ष मेहनत गर्नुभयो ?
तीन वर्ष मैले पटक–पटक महाभारत र महाभारतका विषयमा लेखिएका अन्य कृति, अनुसन्धानात्मक लेखहरू मात्र पढेँ । विज्ञहरूसँग सुझाव–सल्लाह लिएँ । त्यसपछि तीन वर्ष लगाएर उपन्यास तयार पारें । यो कृति मैले समालोचकीय एवं पाठकीय दुवै दृष्टिलाई मध्यनजर गर्दै लेखेकी थिएँ । त्यसैले पनि यो कृति बाहिर आउन ढिला भएको हो ।
उपन्यास लेख्ने क्रममा तथा लेखिसकेपछि तपाईंको मनमा बारम्बार आउने कुरा के थियो ?
पुरुषको जीवन केन्द्रमा जम्मा दुई कुराको लडाइँ भैरहेको हुँदो रहेछ, एउटा सत्ता र अर्को नारी । त्यसैले हिजो पनि सत्ताका लागि ठूला–ठूला लडाइँ भएका थिए र आज पनि भैरहेका छन् । नारीको अवस्था पनि यही हो । जब कोही सत्ता र नारीका लागि संघर्ष गर्न थाल्छन्, स्वत: त्यसमा नारीहरू समस्यामा पर्न थाल्छन् । यही कारणले आज पनि महाभारतका नारी पात्र पढ्दा आजकै कथा पढे जस्तो लाग्छ ।
तपाईं साहित्य नलेखेको बेला के गर्नुहुन्छ ?
राम्रा सिनेमा, संगीत र साहित्यको संगतमा हुन्छु । मलाई बाजीराब मस्तानी, प्रेमपीण्ड, मंगल पाण्डे, अर्थ, मेरा नाम जोकर जस्ता चलचित्र मन पर्छन् । त्यस्तै म सुगम पोखरेल, नारायणगोपाल तथा किशोर कुमारका गीतहरू सुन्छु ।
नेपाली साहित्यको बढ्दो लोकप्रियताका बारेमा केही भन्न मन लागेको छ ?
साहित्यिक कृतिको बजार त बढेको छ तर स्तर बढ्न सकेको छैन । अहिले पनि हामी बीपी र पारिजातका कृति जुन स्तरका छन्, त्यही स्तरमा पुग्न संघर्ष गरिरहेका छौं । जबकि हामीले उहाँहरूलाई जित्न सक्नुपथ्र्यो ।