साप्ताहिक संवाददाता
एटिक बारको परिसरमा एउटा पृथक शैलीको फेसन शो सम्पन्न भयो । ‘आर्ट टक शो एण्ड म्युजिकल इभेन्ट—२’ शीर्षकको चित्रकला, फेसन शो तथा सांगीतिक कार्यक्रमको फ्यूजन कार्यक्रमको सबैभन्दा रोचक पक्ष फेसन शो रह्यो ।
एकातिर स्वदेश तथा विदेशका करिव एक दर्जन चित्रकारहरू लाइभ पेन्टिङ गरिरहेका थिए । उनीहरुले खुला स्थानमा झुन्ड्याइएका क्यानभासमा चित्रकला प्रारम्भ गर्ने बित्तिकै पानी पर्न थाल्यो तर मुसलधारे पानी परिरहँदा पनि उनीहरुले चित्र बनाउने क्रमलाई रोकेनन् । लाइभ पेन्टिङ सकियो तर पानी पर्न रोकिएन ।
त्यसपछि पालो आयो फेसन शोको । एक दर्जन मोडलहरूले चित्रकलाकै थिममा तयार पारिएका पहिरनहरू प्रदर्शन गर्न थाले । पानी पर्न नरोकिएपछि मोडलहरु छाता ओडेरै क्याटवाक गरे । त्यसक्रममा उनीहरुले डिजाइनर विजय गौतमले तयार पारेका पहिरनहरु प्रदर्शन गरेका हुन् । आर्ट ल्याण्ड तथा प्रसाद प्रोजेक्टद्वारा संयुक्त रुपमा आयोजित उक्त समारोहको उत्तराद्र्धमा आयोजित सांगीतिक प्रस्तुतीले पनि दर्शकको मन जित्यो ।
कार्यक्रमको अन्त्यमा नेपाली डिजेहरू पायल र भाइब तथा भारतीय डिजेहरू मौलिक तथा अशेषले उपस्थित दर्शकलाई नृत्यपरक गीतमार्फत नचाउन सफल भए । राती १२ बजे डान्स पार्टि सम्पन्न भयो तर आकाशबाट पानी पर्ने क्रम त्यसबेला पनि जारी नै रह्यो ।