साप्ताहिक संवाददाता
चलचित्र ‘नोभेम्बर रेन’की डल्ली अर्थात् नायिका छुल्ठिम गुरुङको नायिका रेखा थापासँग शत्रुता बढ्ने भएको छ । भदौ २५ गते छुल्ठिमको जन्मदिनको दिनदेखि यी दुईबीचको शत्रुताले ठूलै रूप लिँदैछ । केही साताअघि रेखाको जन्मदिनमा सरप्राइज केक लिएर उनको घर पुगेकी छुल्ठिम र रेखाबीचको यो शत्रुता मात्र एउटा डायरीका लागि हो ।
छुल्ठिमले निर्माण गर्न लागेको चलचित्र ‘डायरी’ मा उनी आफैं नायिका छिन्, अनि उनकी सखी रेखा थापा खलनायिका । छुल्ठिमको पथमा काँडा जस्तो भएर चलचित्रमा देखिने रेखाले आफ्नो चलचित्र यात्रामा पहिलो पटक नकारात्मक भूमिका निर्वाह गर्न लागेको निर्देशक अनिल योञ्जनले बताएका छन् ।
नायिकाकै रूपमा चर्चा पाइरहेका बेला नकारात्मक भूमिका निर्वाह गर्ने रेखा थापाको यो दुस्साहसले कस्तो परिणाम देखाउने हो ? डायरी प्रदर्शन भएपछि मात्र थाहा हुनेछ । यद्यपि भिन्न भूमिकामा प्रस्तुत हुने चुनौती स्वीकार गर्ने रेखाको निर्णयको कदर भने गर्नै पर्ने हुन्छ ।