ईन्दिरा जोशी, गायिका
कार्यक्रमको सिलसिलामा नेपालीहरू भएका प्राय: सबै देशमा पुगे पनि किनकिन हङकङ मलाई विशेष लाग्छ । नेपालीहरूको बाक्लो बसोबास रहेको जोर्डन तथा युङ्लोङ नेपालकै कुनै रमणीय ठाउँझै लाग्छ । भनिन्छ, आफ्नो देशबाट टाढा भएपछि मातृभूमिको माया अझ बढ्छ ।
उहाँहरूको नेपाली गीत, संगीत र कलाकारहरूप्रतिको सद्भाव एवं मायाले हरेक पटक यस्तै महसुस गराउँछु । म आफ्नो मेकअप प्राय: आफैं गर्छु तर जब हङकङ आउँछु मलाई मायाले यहाँका दिदीबहिनीहरूले मेकअप गरिदिनुहुन्छ, यसले मलाई अझ जिम्मेवार बनाउँछ, वास्तममै म हङ्कङेली दर्शक–श्रोताको मायाले पुलकित हुन्छु ।
हङ्कङ व्यस्त तर सभ्य लाग्छ । मलाई यहाँका दर्शकहरू अद्भूत लाग्छन्, कारण सबै प्रकारका गीतमा उहाँहरूले साथ दिनुहुन्छ । हिपपप र रक सङदेखि लिएर अंग्रेजी गीतसम्ममा कम्मर मर्काउने दर्शक–श्रोता रोदी र हाक्पारेको भाकामा पनि सहज महसुस गर्दा मेरो ह्दय स्वाभिमानले चौडा हुन्छ । अझ हङकङका नेपाली होटल, रेस्टुराँ तथा बारहरूमा नेपाली गीत घन्कँदा नेपाली सिर्जनाको अन्तर्राष्ट्रियकरण भएको महसुस हुन्छ ।
जब दर्शकहरूले मेरा गीत ध्यान दिएर सुनिदिनुहुन्छ, मसँगै गीतमा नाचिदिनुहुन्छ, मेरो सारा थकान थकान मेटिन्छ । हङकङको युवा पुस्ता आधुनिकतामा हुर्किएको छ, उनीहरूले संसारका प्रविधि र विकास नजिकबाट नियालेका छन्, तर नेपालीपन र कलाकारितामा उनीहरूको जति लगाव छ, मुलुकभित्र बस्ने सहरिया पुस्तामा पनि त्यति ठूलो लगाव फेला पार्न गार्हो छ ।
हङकङको बसाइका क्रममा मैले थुप्रै नेपाली दाजुभाइ–दिदीबहिनीलाई भेट्दै आएकी छु, उहाँहरूको मायालाई नजिकबाट नियाल्दै आएकी छु, वास्तममै उहाँहरू आफ्नो देश र संस्कृतिलाई मिस गर्नुहुन्छ । देशको हरेक गतिविधिमा चासो राख्नुहुन्छ, यसले मलाई जहाँ गए पनि एक्लो छैन भन्ने आभास दिलाउँछ । हङकङमा व्यापार–व्यवसाय गरेर बसेका नेपाली दाजुभाइ–दिदीबहिनीहरू पनि प्रशस्त हुनुहुन्छ ।
यहाँ उहाँहरू सबैको साथ र माया पाइन्छ, छोटो तर अर्थपूर्ण सांगीतिक वातावरणमा आफूलाई हराउन पाइन्छ । जब म आफ्नो देश नेपाल फर्कन्छु र थाकेको शरीर लिएर कोठामा पस्छु मलाई प्रवासी नेपालीहरूको माया र प्रेमले ऊर्जा प्रदान गर्छ । त्यसैले त म भोलिको बिहानी नयाँ सिर्जनाका लागि सुम्पिन्छु । सोच्छु, मेरा गीत–संगीतमा उहाँहरूको खुसी र हाँसो गाँसिएको छ ।