भारतीय सीमा सहर जुगौलीका खुर्सिद अहमद भदौ १२ गते सुनौलीबाट पोखरा आउने क्रममा निकै उत्साहित थिए । कारण उनलाई भेट्न भैरहवाकी एक युवतीले पोखरा बोलाएकी थिइन् । फोन–फोनमै चिनजान भएकी ती महिलाको आग्रहमा खुर्सिद पोखरा आउन तयार भए । ती महिलालाई भेटे पश्चातका योजना मनमा सजाउदै भदौ ११ गते रात्रि बस चढेका खुर्सिद १२ गते पोखरा आइपुगे ।
उनलाई लिन ती युवती पृथ्वीचोक बसपार्कमा उपस्थित थिइन् । अहमदलाई आफ्नो घर लाने भन्दै उनले लेखनाथ नगरपालिका–८ स्थित अशोक अधिकारीको घरमा रहेको आफ्नो डेरामा पुर्याइन् । त्यहाँ पुगपछि मात्र खुर्सिद अहमदलाई आफू अपहरणमा परेको थाहा भयो । उनी त्यही घरमा भाडा लिइएको कोठामा बन्धक बनेर बसे । कोठामा बन्दी बनाइएका अहमदले त्यहाँ झ्यालबाट निस्केर भाग्ने योजना बनाए । झ्यालबाट बाहिर निस्कने क्रममा उनलाई देखेपछि घरधनी र अरूले चोरी गर्न लागेको आरोप लगाए । त्यसपछि अहमदलाई प्रहरी कार्यालय पुर्याइयो ।
प्रहरीले सोधपुछ गरेपछि मात्र थाहा भयो उनी चोरी गर्ने मनासयले नभई अपहरणबाट मुक्त हुन झ्यालबाट भाग्न खोजिरहेका थिए । उता अपहरणकारीले भने उनका दाजुसँग एक करोड रुपैयाँको माग गर्दै फोन गरिसकेका थिए । अपहरणमा परेका अहमदलाई भदौ १३ गते साँझ कास्कीको लेखनाथ–८ शिशुवास्थित अशोक अधिकारीको घरबाट अपहरण मुक्त गरिएको प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
डीएसपी बज्राचार्यका अनुसार अपहरणकारीले एक महिनाअघि यो योजना बनाएका थिए । सोहीअनुसार अहमदलाई उनीहरूले पोखरा घुम्न बोलाएर अपहरण गरेका हुन् । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक सहाबुद्धिन कुरैसीलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोलसमेत बरामद गरेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती–११ बस्ने वर्ष २१ का अरुण घलेलाई रूपन्देहीबाट पक्राउ गरी कास्की ल्याइएको छ । अहपरणका मुख्य योजनाकारको खोजी भैरहेको डीएसपी बज्राचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरूको बयानका आधारमा मुख्य योजनाकार पनि छिट्टै पक्राउ पर्ने बज्राचार्यको दाबी छ । घटनाका मुख्य योजनाकार पनि भारतीय नागरिक नैभएको अनुसन्धानका क्रममा देखिएको उनले बताए । अहमदसँग नाटकीय प्रेम गर्ने ती महिलासमेत फरार छिन् । पक्राउ परेकाहरू विरुद्ध अपहरण शरीर बन्धक मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता बज्राचार्यले बताए ।