साप्ताहिक संवाददाता
बडादसैंको पूर्वसन्ध्यामा ललितपुर मोबाइल कम्प्लेक्सले दोस्रो ललितपुर मोबाइल एक्स्पोको आयोजना गरेको छ । गत शुक्रबार लगनखेलस्थित सञ्चयकोष भवनमा प्रारम्भ हुने यो मेला १० दिनसम्म सञ्चालन हुने आयोजक संस्था ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।
अन्तर्राष्ट्रिय स्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्रान्ड मोबाइल शोरुम भएको कम्प्लेक्स तथा मलले आफ्ना उपभोक्ताहरूलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पोको आयोजना गरेको बताइएको छ । ‘आजदेखि असोज ३ गतेसम्म उपभोक्ताले विशेष छुटका साथमा मोबाइल फोन खरिद गर्न सक्नेछन्,’ अध्यक्ष बस्नेतले बताए– ‘त्यसका अतिरिक्त विभिन्न उपहार तथा तत्कालै पाइने सुविधा पनि उपलब्ध गराएका छौं ।’ ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सको प्रथम वार्षिकोत्सवको अवसर पारेर आयोजित मेला गत वर्षको भन्दा भव्य हुने अध्यक्ष बस्नेतको दाबी छ ।
ललितपुर जिल्लामा आयोजित भए पनि यो राष्ट्रिय स्तरको मेला भएको अध्यक्ष बस्नेतले साप्ताहिकलाई बताए । बस्नेत भन्छन्– काठमाडौं उपत्यकामा बस्दै आएका सर्वसाधारणलाई मेलामा आकर्षित गर्ने गरी हात खाली नजाने उपहार कार्यक्रम सञ्चालन गरिएको छ । मोबाइल एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल फोनसेट तथा एसेसरिजमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । ललितपुर मलका अध्यक्ष नेपाल डंगोलका अनुसार अहिलेको खुला आर्थिक प्रतिस्पर्धामा व्यवसायिक विकासका निम्ति पनि यस प्रकारको एक्स्पो आवश्यक छ ।
एक्स्पोलाई नै लक्षित गरेर थुप्रै ब्रान्डका नयाँ संस्करणका मोबाइल सार्वजनिक हुने बताइएको छ । हुवावे तथा सामसुङका नयाँ मोडलका मोबाइल मेलामै लन्च हुनेछन् । १० दिनको मेलामा हरेक दिन विशेष अतिथिहरूको उपस्थितिमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् भने सर्वसाधारणलाई मोबाइल फोनसँग सम्बन्धित जानकारी प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
मोबाइल फोनका अतिरिक्त इलेक्ट्रोनिक्स ग्याजेट तथा एसेसरिजहरूका बारेमा अवलोकनकर्ताले जिज्ञासा मेट्न पाउनेछन् । यस्तै कम्प्लेक्समा उपलब्ध आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर मेलामार्फत नै सञ्चालनमा आउँदैछ । उपभोक्ताका मोबाइल तत्कालै मर्मत गरिदिने स्किम पनि सार्वजनिक गरिएको छ ।
ललितपुर मोबाइल कम्प्लेक्समा एकैपटकमा ४ देखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्छन् । ललितपुर मलको दोस्रो तलामा अवस्थित यो मल्टिब्रान्ड शोरुममा ४० भन्दा बढी शोरुम तथा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा छन् । मेलामा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । यो मेलामा ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका ब्रान्डेड मोबाइल खरिद गर्न सकिनेछ ।
करिब ३ लाख अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको यो मेलामा सामसुङ, आइफोन, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट नोकिया, डिटिसी, ओबिआई, एमआई, मोटोरोला, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्लाकबेरी, कार्बन, पानासोनिक, जेडटिई आदि ब्रान्डेड फोनका नयाँ संस्करण आकर्षणमा रहनेछन् ।
मोबाइल पारखीहरूले यी ब्रान्डका विभिन्न मोडल सेटलाई टच एन्ड फिल गरी खरिद गर्न पाउनेछन्, अध्यक्ष बस्नेतका अनुसार मेलामा आउने दर्शकहरूमध्येबाट लक्कि ड्रबाट हरेक दिन तीन जनालाई आकर्षक स्मार्टफोन प्रदान गरिनेछ ।
विश्वबजारमा उपलब्ध स्मार्टफोनका सेवा–सुविधाका सम्बन्धमा इन्फर्मेसन डेस्कबाट जानकारी उपलब्ध गराइनेछ । मोबाइल फोन सेटमा भएका फिचर तथा एप्लिकेसन्सका बारेमा एउटै थलोमा जानकारी उपलब्ध गराउन मेला प्रभावकारी हुने आयोजकहरूको विश्वास छ ।
पछिल्लो समयमा जीवन उपयोगी थुप्रै एप्स सार्वजनिक भएको तर आमनागरिकहरू त्यसका बारेमा बेखबर रहेकाले उपभोक्तालाई त्यससम्बन्धी जानकारीसमेत प्रदान गरिने अध्यक्ष बस्नेत बताउँछन् । उपभोक्ताले बोक्दै आएका पुराना सेटलाई उचित ‘भ्यालुएसन’ गर्ने स्पेसल टास्क टिम मेलामा उपलब्ध हुने भएकाले उनीहरूले नयाँ सेट खरिद गर्न थप सहजता प्राप्त गर्नेछन् ।
कमसल मोबाइलबाट जोगिनु पर्छ
पुरुषोत्तम बस्नेत
अध्यक्ष, ललितपुर मोबाइल कम्प्लेक्स एक्स्पो आयोजनाको उद्देश्य ? किप्याडदेखि स्मार्टफोनसम्मका यी सेटहरूका बारेमा आमनागरिकलाई सुसूचित गराउनु मेलाको मूल उद्देश्य हो । मोबाइलको ट्ेरड बजारलाई प्रवद्र्धन गर्नु अर्को उद्देश्य हो । पछिल्लो समयमा विकसित नयाँ प्रविधि तथा एप्लिकेसन्सका बारेमा जानकारी दिन पनि मेलाको आयोजना प्रभावकारी सावित हुनेछ ।
यो एक्स्पोको विशेषता के हो ?
हामी उपभोक्ताको हितअनुकूलको मेला गर्न सफल भएका छौं । नेपाली मोबाइल बजारलाई स्थायित्व दिन, ग्रे र डुब्लिकेट मोबाइल बजारलाई निरुत्साहित तुल्याउन यो मेला आयोजित गरिएको हो । यस्तो मेलाले उपभोक्तालाई ब्रान्डेड शोरुममा गएर मोबाइल किन्ने ट्ेरन्ड विकास गर्न सहयोग गर्छ । यो मेलाको मुख्य विशेषता उपभोक्ताले सस्तो मूल्यमा भरपर्दो मोबाइल सेट प्राप्त गर्नु पनि हो ।
अहिलेको नेपाली मोबाइल फोनको बजार कस्तो छ ?
अहिले १३ अर्ब रुपैयाँ बराबरको मोबाइल फोनसेटको कारोबार हुन्छ । धेरै ब्रान्डको उपस्थिति भएकाले तीव्र प्रतिस्पर्धा छ, जसले गर्दा उपभोक्ताले फाइदा पाएका छन् । बजारमा तीव्र प्रतिस्पर्धा भएकाले यो क्षेत्रको व्यवसायमा विभिन्न चुनौती पनि देखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्रान्ड तथा मोडलका सेट नेपाली बजारमा भित्रिरहेका छन् ।
मोबाइल प्रयोगकर्ताहरू स्मार्टफोनमा हुने विशेष फिचर तथा एप्लिकेसनका बारेमा कत्तिको अपडेट हुन्छन् ?
अहिलेको योङ जेनरेसन स्मार्टफोनका फिचर तथा एप्लिकेसन्सका बारेमा अपडेट हुन्छन् । उनीहरूले इन्टरनेटमा सर्च गरेर सबै जानकारी लिइरहेका हुन्छन् । मोबाइल फोनको क्षेत्रमा विकसित प्रविधिका बारेमा उनीहरू जानकार रहन्छन् । अलि प्रौढ उमेरका नागरिकलाई भने जानकारी दिनु आवश्यक छ । यो मेलाले यस विषयमा पनि ध्यान पुर्याएको छ ।
यो एक्स्पो विशेष रूपमा केमा केन्द्रित रहन्छ ?
कतिपय पसलमा सिल प्याक खोलिएका सेट बिक्री गरिन्छ, जसमा ब्याट्री, चार्जर आदि परिवर्तन गरिएका हुन्छन् । यस्ता सेटबाट कसरी जोगिने भन्ने जानकारी दिन्छौं । त्यसैगरी चोरीका मोबाइल सेटहरू बजारमा उपलब्ध छन् । ग्राहकहरूले त्यस्ता सेट सस्तो मानेर किन्छन् तर पूर्ण रूपमा ठगिन्छन् । त्यस्ता ग्रे प्रोडक्टको पहिचान कसरी गर्ने भन्ने कुरा उपभोक्ताहरूले जान्नु जरुरी छ ।
एक्स्पोमा आउने ग्राहकहरूले कस्तो तयारी गरेर आउँदा राम्रो ?
उपभोक्ताले आफूले कस्तो मोबाइल किन्ने हो, योजना बनाएर आउनुपर्छ । ग्राहकले स्मार्टफोन नै किन्ने तयारी गर्नुपर्छ । हामीकहाँ स्मार्टफोनको मूल्य १० हजार रुपैयाँबाट सुरु हुन्छ । स्मार्टफोन किन्दा एक–दुई वर्षलाई ढुक्क पनि हुने र खोजेअनुसारको सुविधा पनि पाइने हुन्छ ।