चन्द्रमामा पाइला टेक्ने दोस्रो अन्तरिक्षयात्री बज एल्ड्रिनले विज्ञान तथा मानवीय क्षमताको उचित संयोजनका कारण आफूहरू आजभन्दा ४६ वर्षअघि चन्द्रमामा पुग्न सफल भएको कुरा बताउँदै अबका केही वर्षमा त्यस्तै अर्को सपना (मंगलग्रहमा बस्ती बसाउने) पनि सफल हुने दाबी गरेका छन् ।
सुनसरीको एभरेस्ट साइन्स सेन्टरमा मंगलबार विद्यार्थीहरूलाई अन्तरिक्ष यात्राको अनुभव सुनाउँदै एल्ड्रिनले उक्त कुरा बताएका हुन् । हाम्रा धेरै सपना छन्, मानव र मानवताको सामूहिक प्रयासका कारण हामीले एउटा सपना पूरा गर्यौं । सो अवसरमा एल्ड्रिनले अब मंगलग्रहमा बस्ती बसाउने अर्को सपना पूरा गर्न सबैको सहयोग चाहिने कुरा पनि बताए ।
चन्द्रमामा पुग्नुभन्दा तीन वर्षअघि आफ्नी आमाको मृत्यु भएको घटना सम्झँदै उनले भने, ‘मेरी आमाको नाम मुन नै थियो, उहाँको मृत्यु भएको तीन वर्षपछि म आफू मुन (चन्द्रमा) मा पुग्न सफल भएँ ।’ मेकानिकल विज्ञानमा पिएचडी गरेका एल्ड्रिनले मानिसको क्षमतालाई कसैले रोक्न नसक्ने र सामूहिक प्रयास गर्दै अघि बढ्नुपर्ने कुरासमेत बताए ।
कार्यक्रममा सहभागी मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमकता अध्यक्ष तथा बजका छोरा डा. एन्ड्रिउ एल्ड्रिनले अबको अन्तरिक्ष यात्रा कम खर्चिलो बनाउन स–साना यान निर्माणमा आफूहरू लागेको बताए । उक्त अवसरमा उनले मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमसम्बन्धी जानकारी गराउँदै मंगलग्रहमा बस्ती बसाउन सन् २०२८ मा मानिस लिएर त्यता जाने योजना सुनाए ।
पूर्वाञ्चलका एक दर्जन स्कुल तथा कलेजका करिब ३ हजार छात्रछात्रा सहभागी भएको उक्त कार्यक्रममा पहिलो पटक नेपाल आएका ८६ वर्षीय एल्ड्रिन शान्तिवन आउँदा निकै उत्साहित र खुसी देखिन्थे । सन् १९६९ मा निल आर्मस्ट्रङसँगै चन्द्रमामा पाइला टेकेका एल्ड्रिन एभरेस्ट साइन्स सेन्टरको निम्तोमा नेपाल आएका हुन ।
एल्ड्रिनले सुनसरीस्थित शान्तिवनमा विद्यार्थीहरूलाई एक घण्टा प्रवचन दिएका थिए । टोलीमा अन्तरिक्ष यात्री बज एल्ड्रिनसँगै उनका छोरा तथा बुहारी पनि थिए । यस्तै अमेरिकी अन्तरिक्ष संस्था नासाका पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए ।
बजको सुरक्षाका लागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । बज एल्ड्रिनलाई नेपाल ल्याउँदा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीले जानकारी दिए । एल्ड्रिनलाई नेपाल ल्याउन एक वर्षभन्दा लामो समयदेखि निरन्तर प्रयास गरिएको एभरेस्ट साइन्स सेन्टरले जनाएको छ । नेपालमा चन्द्रमा र अन्तरिक्ष शिक्षासम्बन्धी ज्ञानको निकै कमी भएको तर चासो धेरै भएकाले नेपाल आइदिन आग्रह गरिएको अधिकारीले बताए । एल्ड्रिनले शान्तिवनमा वृक्षारोपण समेत गरेका थिए ।
को हुन् एल्ड्रिन ?
एल्ड्रिन मानिस बोकेर पहिलो पटक चन्द्रमामा अवतरण गरेको अन्तरिक्ष यान अपोलो–११ का पाइलट थिए । एल्ड्रिन चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति हुन् । उनीभन्दा अघि मिसनका कमान्डर नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए । उक्त अन्तरिक्ष यानमा तीन जना अर्थात् मिसन कमान्डर नील आर्मस्ट्रङ, माइकल कोलिन्स तथा एल्ड्रिन सवार थिए ।
उनीहरूले चन्द्रमा लगेको इगल नामको यान २१ घण्टा ३१ मिनेट चन्द्रमाको सतहमा रह्यो । आर्मस्ट्रङ र एल्ड्रिनले चन्द्रमाबाट २१ किलो ५ सय ग्राम धूलो, पाउडर र चट्टान संकलन गरेर पृथ्वीमा ल्याएका थिए । उनीहरूले चन्द्रमाबाट ल्याएको त्यही चट्टान एल्ड्रिनले प्रवचन दिएको एभरेस्ट साइन्स सेन्टरमा ४ वर्षअघि प्रदर्शन गरिएको थियो ।