दमक, झापाका भूपेन्द्र निरौला राष्ट्रिय चेस च्याम्पियन हुन् । भूपेन्द्र केही महिनाअघि इलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनसिपमा उत्कृष्ट ठहरिए । अहिले अजरबैजानको बाकुमा भैरहेको ४२ औं चेस ओलम्पियाडमा निरौलाले नेपालका तर्फबाट सहभागिता जनाइरहेका छन् । नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्यसमेत रहेका निरौलासँग साप्ताहिकको पाँच प्रश्न :
चेसप्रति कसरी आकर्षित हुनुभयो ?
झापाको लखनपुरमा अध्ययन गर्दा त्यहाँका शिक्षकहरूले चेस खेलेको देखेर सिकेको हुँ । २०५६ सालमा दमक आएपछि झापा जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष देवराज बस्नेतसँग संगत भयो । उहाँको प्रेरणा तथा २०५७ सालमा दमकमा वार्डस्तरीय चेस प्रतियोगितामा तेस्रो भएपछि यो खेलको लत बस्यो ।
चेस खेलको विकासका लागि के गर्नुपर्ला ?
राज्यका नीति–निर्माण तहमा रहेकाहरूले अझै पनि चेसलाई बुझ्न सकेका छैनन् । नेपाल बुद्धिचाल संघले पनि राज्यलाई चेस खेलको महत्त्व बुझाउन सकेको छैन । चेसका लागि ठाउँ–ठाउँमा एकेडेमीहरू सञ्चालन गर्न आवश्यक छ । विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताहरूमा चेसलाई पनि समावेश गर्नुपर्छ ।
कुन–कुन प्रतियोगितामा भाग लिनुभएको छ ?
भारत, श्रीलंका, बंगलादेशमा भएका प्रतियोगिताहरूमा भाग लिएको छु । २०७२ मा भारतको सिलिगुडीमा सम्पन्न पहिलो रतनलाल केडिया मेमोरियल अन्तर्राष्ट्रिय बुद्धिचालमा तेस्रो, २०६१ मा कलेज च्याम्पियन, २०६६ मा तेस्रो मदन भण्डारी मेमोरियल राष्ट्रिय प्रतियोगितामा तेस्रो तथा २०६७ मा फेण्ड्स अफ नेसनमा प्रथम भएको थिएँ ।
चेस ओलम्पियाडमा कस्तो तयारी छ ?
विशेष तयारी गरेको छु । नेपाल बुद्धिचाल संघले उपलब्ध गराएको प्रशिक्षण त छँदै छ म आफ्नै लगानीमा समेत भारत गएर प्रशिक्षण लिएको थिएँ ।
चेस खेलबाट जीवननिर्वाह गर्न सकिन्छ ?
पहिले त गाह्रै थियो तर नयाँ पुस्ताका लागि भविष्य राम्रो बन्दैछ । पुरस्कार राशि पनि बढ्दो क्रममा छ । विदेशमा हुने ओपन चेस प्रतियोगितामा उपाधि जित्न सक्नेहरूको जीवनस्तर राम्रै छ । म चेस खेल्नुका साथै पाँचवटा स्कुलमा चेस पढाउँछु, सिकाउँछु । यसबाट पनि मेरो जीविकोपार्जन भैरहेको छ ।