आइपी टिभीको उदय
नेपाली बजारमा आइपी टिभी प्रविधि भित्रिएको छ । कमटेकमार्फत वल्र्डलिंक, भायनेट तथा ब्रोडलिंकले आइपी टिभी भित्र्याएका हुन् । ब्रोडलिंकले फाइवर प्रविधिबाट आइपी टिभी विस्तार गर्नुका साथै इन्टरनेट र भ्वाइस कल पनि उपलब्ध गराएको छ । त्यस्तै वल्र्डलिंकले ल्याएको आइपी टिभीमा ३० भन्दा बढी एचडी च्यानल तथा एक सयभन्दा बढी डेफिनेसन च्यानल हेर्न सकिन्छ ।
त्यसैगरी भायनेटले नेटटिभीसँग सहकार्य गरी भायनेट नेटटिभी उपलब्ध गराएको छ । त्यस्तै वेबसर्फरले पनि विभिन्न केवल टिभीसँगको सहकार्यमा टिभीनेट ब्रान्डिङ गरेको छ । इओसी प्रविधिमार्फत यो सेवा प्रदान गरिनेछ । सुविसुले पनि आइपी टिभी भित्र्याउने तयारी गरिरहेको छ ।
जेडटिई ब्लेड एस–६
पछिल्लो समय आक्रामक रूपमा बजार विस्तार गरिरहेको जेटिईले नयाँ मोडल ब्लेड एस ६ फोन सार्वजनिक गरेको छ । ५ इन्चको आइपीएस क्यापासिटिभ टचस्क्रिन भएको यो फोनमा १.५ गिगाहर्जको अक्टाकोर क्वालकोम प्रोसेसर छ । २ जिवी र्यामको यो फोनमा १६ जिवी इन्टरनल स्टोरेज क्षमता छ । यसलाई ६४ जिवीसम्म विस्तार गर्न सकिन्छ ।
यो स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ५.०.१ ललिपप अपरेटिङ सिस्टममा चल्ने यो फोनमा २४०० एमएएचको ब्याट्री क्षमता छ । फोरजी सपोर्ट गर्ने यो फोनले २ वटा न्यानो सिम सपोर्ट गर्छ । यसको मूल्य १५ हजार ९ सय ९० रुपैंया पर्छ ।
सामसुङ ग्यालेक्सी जे–७
सामसुङले हालै बिश्व बजारमा आएको नोटको ७ प्रदर्शन गरेको छ । सामसुङको ग्यालेक्सी जे–७ फोन पनि नेपाली बजारमा उपलब्ध छ । १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसरको यो फोनमा २ जिबीको र्याम तथा १६ जिबीको इन्टरनल स्टारेज क्षमता छ । यसलाई १ सय २८ जिबीसम्म एक्सपान्ड गर्न सकिन्छ ।
१३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्स्ेलको फ्रन्ट क्यामेरा जडित यो फोनमा ३,३०० एमएएच क्षमताको ब्याट्री छ । एन्ड्रोइड ६.०.१ मा अपडेट हुने यो स्मार्टफोनको स्क्रिन ५.५० इन्चको छ । त्यसैगरी जे फाइभमा १.२ क्वाडकोर प्रोसेसर तथा २ जिबी र्याम छ ।
भिक्लाउड पोइन्ट
विद्यालय तथा सानो बिजनेसका लागि लक्षित गरी सर पावरले भिक्लाउड प्वाइन्ट बजारमा ल्याएको छ । यसअन्तर्गत सर्भर र होस्ट कम्प्युटरमा एप्स राखिन्छ र नेटवर्कमार्फत हरेक व्यक्तिको नेटवर्कमा जोडिन्छ । यसरी नेटवर्किङ गर्दा एउटा युजरको फाइल अर्काे युजरले हेर्न सक्छ ।
यो सिस्टममार्फत विद्यालयका प्रधानाध्यापकले कुन विद्यार्थीले के गरिरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । एउटा आइफाइभ कम्प्युटरको मद्दतले ३० वटा वर्किङ स्टेसन बनाउन सकिन्छ । यसबाट विद्युत खपत समेत कम हुने कम्पनीको दाबी छ । यसका साथै आइपी नयाँ किसिमका क्यामेरा, पिओइ स्विच, साइनोलोजी, सर्भिलेक्स आदि पनि नेपाली बजारमा
भित्रिएका छन् ।
एञ्जल बाइनरी टोटल सेक्युरिटी
रसियन कम्पनीको सहयोगमा नेपालीहरूले बनाएको एञ्जल बाइनरी टोटल सेक्युरिटी पनि नेपाली बजारमा भित्रिएको छ । यसबाट प्यारेन्टल कन्ट्रोल, फायरवाल इरेजर, सिस्टम अप्टिमाइजर, मेल प्रोटेक्सन, स्टार्टअप म्यानेजर, युएसवी रिपियर टुल आदि छन् । नेपाली उत्पादन भएकाले यसको गाइड पनि नेपालीमै तयार पारिएको छ ।
प्रिमियम एभी इन्टरनेट सेक्युरिटी
भारतीय ब्रान्ड प्रिमियम एभीको इन्टरनेट सेक्युरिटी नेपाली बजारमा सार्वजनिक गरिएको छ । यो बिश्वकै सवैभन्दा थोरै स्पेश लिने एन्टीभाइरस भएकाले यसबाट कम्प्युटर स्लो नहुने कम्पनीको दावी छ । यसका मुख्य विशेषता आइटिपी टेक्नोलोजी, डिभाइस कन्ट्रोल तथा अटोमेटिक अपटेड हुन् ।
नयाँ राउटरहरू
नेटिसका एमडब्लू ५२३०, डब्लूएफ २७१०, डब्लूएफ २७८० राउटर पनि नेपाली बजारमा भित्रिएका छन् । यी राउटरमार्फत छिटो डाउनलोड, इन्टरनेट फोन तथा एचडी भिडियो स्ट्रिमिङ गर्न सकिन्छ । त्यस्तै डब्लुएफ २५०५ मोडलको वायरलेस हाइपावर युएसवी एडेप्टर पनि सार्वजनिक भएको छ । त्यस्तै टोटोलिंकका राउटरहरू पनि नेपाली बजारमा उपलब्ध हुन थालेका छन् ।
राउटर ब्याट्री ब्याकअप
बेल्ट्रोनिक्सले राउटर ब्याट्री ब्याकअप उपलब्ध गराउन थालेको छ । लोडसेडिङका समयमा पनि सोलार चार्जबाट ५ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले दावी गरेको छ । इन्भरटर ब्याट्री नहुँदा पनि यसको प्रयोगबाट इन्टरनेट चलाउन सकिन्छ । यसमा नेपालमै डिजाइन र एसेम्वल गरिएको लिथियम इयन प्रयोग गरिएको छ । सोलार प्यानल तथा बत्तीसहित यसको मूल्य ९ हजार रुपैयाँ पर्छ । यो कम्पनीले अमेरिकन ब्रान्ड इटनको युपिएस पनि बजारमा उपलब्ध गराएको छ ।
वायरलेस लेजर प्रिन्टर
नेपाली बजारमा ब्रडर ब्रान्डका वायरलेस लेजर प्रिन्टर भित्रिएको छ । वायरलेस लेजर प्रिन्टरको मूल्य २० हजार ५ सय रुपैयाँ पर्छ । त्यस्तै ब्रडरकै डुप्लेक्स लेजर प्रिन्टरको मूल्य १५ हजार ५ सय रुपैंया पर्छ । त्यस्तै हालै सर्वजनिक वायरलेस लेजर मल्टिफंसन पनि सार्वजनिक भएको छ । यसबाट प्रिन्ट, फोटोकपी, स्क्यान तथा फ्याक्स गर्न मिल्छ । यो वायरलेस लेजर प्रिन्टरको मूल्य ३२ हजार रुपैंया पर्छ ।
जीपीएस भेहिकल ट्रयाकिङ
सवारी साधन चोरी तथा दुर्घटना नियन्त्रणका लागि जीपीएस भेहिकल ट्रयाकिङ भित्रिएको छ । ड्राइभरहरूले गर्ने बेइमानी, चोरी नियन्त्रण, पार्किङमा राख्दा अरूले चलाउने समस्या, सवारी सधानको लोकसन थाहा पाउन, सवारी साधनको विगतको अवस्था थाहा पाउन, अलर्ट म्यासेज आदिमा यो उपकरण प्रभावकारी सिद्ध हुने बताइन्छ ।