साप्ताहिक संवाददाता
म्यागासेसे विजेता सामाजिक अभियन्ता महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानाडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार चारसय पच्चिस रुपैंयाँ रकम उनको अभियानका लागि प्रदान गरेका छन् ।
सोमबार उनले सो रकम हस्तान्तरण गरे । गायक खरेल गत अगस्ट महिनामा क्यानाडामा नेपालीज् क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यहि अवसरमा आयोजित सांगितिक जमघटको आयोजना गरिएको थियो,’ उनले भने, ‘त्यसै बेलाल महावीरको अभियानका लागि सहयोग गर्न अपिल गरें ।’
महावीरले सहयोग रकम लिदै अभियानमा कलाकारले पुर्याइरहेको सहयोगको प्रशंसा गरे । ‘कलाकारका धेरै प्रशंसक हुन्छन् । उहाँहरुमार्फत धेरै सहयोग जुट्न सक्छ । अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छु,’ उनले भने ।
गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यो शुरुवात मात्र हो,’ उनले भने, ‘सांगितिक कार्यक्रमका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपिल गरिरहनेछु ।’