साप्ताहिक संवाददाता
दिनेश डिसीले आफ्नो सक्रियतामा सम्पन्न गरेको एलजी फिल्म एवार्ड समारोहमा दीपकराज गिरी तथा दीपाश्री निरौला उपस्थित थिएनन् । जबकि दीपक–दीपाको चलचित्र ‘वडा नम्बर ६’ एवार्डका लागि नौ विधामा मनोनयनमा परेको थियो, जसमध्ये दुईवटा विधामा एवार्डसमेत हात पार्यो । दीपकराज गिरी दिनेश डिसीलाई आफ्नो गुरु मान्छन् । गुरुले दिने एवार्डमा चेला आफैं मनोनयनमा परेनन् अनि उनको चलचित्र पनि उत्कृष्ट चलचित्रको विधामा अटाएन ।
सम्भवत: यही कुरामा गुरुसँग चित्त दुखाएकाले चेला दीपक एवार्ड कार्यक्रममा पुगेनन्, बरु सिटी सेन्टरमा बिंगो खेलाउन गए । दीपक आफ्नो चलचित्र ‘छक्का पञ्जा’ को प्रमोसनमा व्यस्त भएको कुरा गरेर पन्छिन पनि सक्दैनन्, किनभने डिसीको एवार्ड कार्यक्रममा चलचित्रको प्रमोसन गर्ने प्रशस्त अवसर थियो । पक्कै पनि चेलाको चित्त दुखेकै हुनुपर्छ । अब गुरुले कुन मल्हम लगाउने हुन्, चेलाको दुखेको चित्तमा ?