औरावनी, सुनसरीका जगदीश यादवलाई आफ्ना १९ वर्षीय छोरा विनोद यादवले अल्पायुमै छाडेर जालान् भन्ने लागेकै थिएन । सानैदेखि इमान्दार र पढाइप्रति समर्पित विनोद एमबीबीएस अध्ययनका लागि रकम जोहो गर्न विराटनगरमा एउटा होस्टल सञ्चालन गर्दै आएका थिए ।विराटनगरस्थित शिक्षादीप कलेजबाट विज्ञानमा १२ कक्षा उत्तीर्ण विनोद होस्टल सञ्चालनसँगै एमबीबीएस अध्ययनको तयारी गरिरहेका थिए ।
विराटनगरमा अक्सफोर्ड होम नामक होस्टल सञ्चालन गरिरहेका विनोदले राम्रो आम्दानी गर्दै एमबीबीएस अध्ययनका लागि रकम जुटाइरहेको कुरा आफ्ना बाबुलाई बताउँथे । ‘डाक्टर बन्छु, त्यसका लागि रकम जम्मा गर्दैछु भन्थ्यो,’ विनोदका बाबु जगदीश भन्छन्, ‘छोराका लागि उसका साथीहरू नै काल बनेर आए ।’
विनोदको हत्या अघिल्लो मंगलबार राति उनकै साथीहरूले विभत्स ढंगले गरे । हत्यामा संलग्न अभियुक्तहरूलाई मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्दीपराज भण्डारीको कमाण्डमा खटिएको टोलीले २४ घण्टाभित्रै पक्राउ गर्यो । प्रहरीले सप्तरी महुवाका १७ वर्षीय जितेन्द्रकुमार साह, सिरहा प्रिप्राहाका २२ वर्षीय राकेशकुमार यादव तथा सिरहा सोठिआइनका १७ वर्षीय कृष्णकुमार यादवलाई अघिल्लो बुधबार साँझ ८ बजेतिर नेपाल–भारत सीमा नाकास्थित एउटा होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको एसपी भण्डारीले बताए । गुप्त रूपमा परिचालित प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेलगतै हत्यामा सहयोग पुर्याउने अन्य दुई जनालाई समेत पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धानमा रहेका तीन जनामध्ये राकेशकुमार यादवले विनोदले चलाएको होस्टलका लागि केही रकम सापटी दिएको बताइन्छ । सुरुमा रकम सापटीका रूपमा दिए पनि पछि होस्टलको नाफाले उसको मन कुँड्यायो । त्यही सापटीका आधारमा होस्टलको स्वामित्व हत्याउने उद्देश्यले राकेशकुमारले विनोदको हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याका मुख्य योजनाकार राकेश नै रहेको प्रहरीले जनाएको छ ।
हत्या योजना बुनेर विराटनगरको तीनटोलियामा डेरा सरेका अभियुक्तहरूले विनोदलाई त्यहाँ मेजमानी खान बोलाएका थिए, जहाँ साथीहरूको विश्वास गरेर मेजमानी खान पुगेका विनोद जीवित फर्कन सकेनन् । त्यहाँ उनीहरूले विनोदलाई ११ बोतल बियर ख्वाएको र आफूहरूले कम खाएर बसेको प्रहरीसँगको बयानमा बताएका छन् ।
खानपिनका क्रममा लेनदेनको विषयमा केही तनाव उत्पन्न भएपछि हत्यामा संलग्नमध्येका मुख्य योजनाकार राकेशका १३ वर्षीय भाइलाई अर्को कोठामा थुनेर सुरुमा विनोदको टाउको काटिएको बताइन्छ ।
हत्यापछि आफ्नो अपराध लुकाउन सबैभन्दा पहिले लास ठेगान लगाउन उनीहरूले टाउको झोलामा र जीउ अनि हात–खुट्टा सिरकमा बेरेर तीनवटा पोका बनाए । उनीहरूले बिहानीपख फोन गरेर बोलाएको रातो रंगको टाटा सुमोमा सिरकले बेरेको पोको हालियो ।
झोलामा भएको टाउको छुटेपछि सामान छुट्यो भन्दै एक जना घरपछाडि लागेपछि चालकले शंका गर्दै गाडीको साइड मिरर (ऐना) मा नियालेर हेरे । मिररमा टाउको राखिएको झोला बोकेर आएका युवा हतासिएको र झोलामा आलो रगत लतपतिएको देखेपछि चालकले आशंकै–आशंकामा गाडीको डिकी चेक गरे ।
डिकी चेक गर्दा त्यहाँ राखिएको सिरकले बेरिएको पोकोमा समेत मानव शरीरको टुक्रा देखेपछि ती चालकले तत्काल उक्त सामान ओराल्न लगाई त्यहाँबाट हतारिँदै गाडी बाहिर निकाले । ती चालक तत्कालै प्रहरीलाई खबर गर्ने मनसाय व्यक्त गर्दै हिंडेपछि अभियुक्तहरू पनि अन्तालिँदै त्यहाँबाट भागेका थिए ।
तिनै चालकले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्दा तीनै जना पोको फ्याँकेर भागिसकेको भए पनि उनीहरूले कोठामा थुनेर राखेका राकेशका भाइ भने थुनिएकै अवस्थामा त्यहीं छुटेका थिए, एसपी भण्डारीले भने, ‘त्यसले प्रहरीलाई हत्यामा संलग्नहरूको पहिचान र प्रमाण जुटाउन सहज बनायो ।’
राति टाउको काटेर हत्या गरिएका विनोदको लासलाई खोलामा लगेर फ्याँक्ने योजना बुनेर गाडी बोलाएका अभियुक्तहरूले टाउको अलग्गै र जीउ अलग्गै फ्याँकेपछि डेरा छोडेर घर फर्कने योजना बनाएका थिए । लासलाई खोलामा लगेर फ्याँक्ने योजना बनाएर खुट्टासहितको जीउ सिरकमा पोको पार्दा खुट्टा देखिने भएपछि फेरि खुट्टा काटेर लासलाई चार टुक्रा पारिएको अभियुक्तहरूले प्रहरीसँगको बयानमा बताएका छन् ।
बिहान गाडीको चालकलाई फोन गर्दा चालकले नआउने बताएपछि उनीहरूले गाडी मालिकलाई नै फोन गर्दै दबाब दिएर गाडी मगाएका थिए । प्रहरीले घटनास्थलबाट एउटा कट्टी, एउटा कटुवा पेस्तोल, आठवटा मोबाइल सेट, एनसेल मोबाइलको सिमकार्ड, रगत लागेका विभिन्न कपडा तथा अन्य कागजात फेला पारेको छ ।
घटना लुकाउन सहयोग गर्ने दुई जनालाई मुद्दा
विनोद यादवको हत्याको घटना लुकाउन सहयोग गर्ने दुई जनाविरुद्ध पनि मोरङ प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले घटनास्थलको प्रमाण नष्ट गर्न तथा यादवको शव गायब पार्न एवं हत्यामा संलग्न अभियुक्तलाई भगाउन मद्दत गर्ने गोलबजार, सिरहाका २१ वर्षीय कमलदेव दास तथा सिरहाकै धनगढीमाईका १९ वर्षीय जितेन्द्र यादवविरुद्धसमेत कर्तव्य ज्यान मुद्दा चलाएको छ ।
दास र यादवले घटनास्थलको प्रमाण नष्ट गर्दै यादवको शवलाई घटनास्थलबाट अन्यत्र पुर्याउन तथा हत्यामा संलग्नहरूलाई भगाउन सहयोग गरेको खुलेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक भण्डारीले बताए ।
को हुन् विनोद यादव ?
सुनसरीको औरावनीका बासिन्दा जगदीश यादवका छोरा हुन्— विनोद यादव । उनको जन्म २०५४ कात्तिक २ गते भएको हो । विनोद परिवारका जेठा छोरा हुन् । उनी कक्षा ६ देखि विराटनगरस्थित देवकोटा बोर्डिङ स्कुलमा अध्ययनरत थिए र त्यहींबाट यादवले एसएलसी उत्तीर्ण गरेका थिए । पढाइमा मेधावी विनोदले शिक्षादीप कलेजबाट विज्ञान संकायमा कक्षा ११ र १२ उत्तीर्ण गरेका थिए । मृतकका फुपूका छोरा रूपनारायण यादवका अनुसार एमबीबीएस गर्ने विनोदको सपना उनकै साथीको लोभ र आवेगका कारण तुहिएको छ ।
यसरी पक्राउ परे अभियुक्त
प्रहरीलाई तीन जना आरोपित पक्राउ गर्न मोबाइलले विशेष सहयोग गरेको थियो । भारततर्फ भाग्ने योजनामा रहेका बखत मोबाइलमा सिम लगाएर अन गरेपछि प्रहरीले ट्रेस गरिरहेको अवस्थामा अभियुक्तहरूको ‘लोकेसन’ पत्ता लगाएको थियो । त्यसपछि नेपाल प्रहरीले जोगबनीको रेल्वे स्टेसन तथा होटल सिल गर्न भारतीय प्रहरीसँग सहयोग मागेको थियो । भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई स्थानीय सिटी होटलको एउटा कोठाबाट नियन्त्रणमा लिइएको बताइन्छ ।
भारतीय प्रहरीले अन्तर्राष्ट्रिय सुपुर्दगी सन्धिअनुसार मात्र आरोपितलाई नेपाल लान मिल्ने जिकिर गरेपछि नेपाल प्रहरीले सीमाक्षेत्रमा आफूहरूले गरेको सहयोग सम्झन आग्रह गरेपछि मात्र भारतीय प्रहरी आरोपितहरूलाई नेपाल ल्याउने अनुमति दिन सहमत भएको थियो भने नेपाल प्रहरीले अभियुक्तहरूलाई नेपाली भूमिमै नियन्त्रणमा लिइएको दाबी गरेको थियो ।