ति ग्रुपका युवा सदस्य सौरभ ज्योतिसँग मोटरबाइकको महत्त्वपूर्ण संग्रह छ । विशोरवयदेखि नै बाइकप्रति आकर्षित सौरभ नेपालकै सबैभन्दा ठूला बाइक क्रेजी हुन् भन्दा फरक पर्दैन ।
ठ्याक्कै हेक्का छैन, उनी कहिलेदेखि मोटरसाइकल चलाउन थाले, उनी जन्मिदा नै उनको परिवारले मोटरसाइकल व्यवसाय अँगालेको धेरै वर्ष बितिसकेको थियो, त्यसैले जब उनले आफूलाई बुझ्न थाले, त्यतिबेलासम्ममा उनी मोटरसाइकलको संसारमा मज्जाले रमाउन थालिसकेका थिए ।
सयौं मोटरसाइकल आफ्ना आँखा अघि देख्दा त्यसलाई हुइक्याउने रहर उनको बालमस्तिष्कमा उब्जन्थ्यो, तर त्यसलाई हुइक्याउन एउटा निश्चित उमेर आवश्यक थियो । सौरभ ज्योति, ज्योति समूहका निर्देशक, मुलुकका जल्दाबल्दा युवा उद्योगी–व्यवसायी । सौरभका धेरै परिचय छन् तर ती विभिन्न परिचयमा पनि सौरभ बाइक प्रेमी युवाका रूपमा आफूलाई चिनाउँदा मख्ख पर्छन् ।
कक्षा ८ मा अध्ययनरत रहँदा भाइबहिनीलाई राखेर पर्सा परवानीपुरस्थित ज्योति समूहको फ्याक्ट्रिमा मोटरसाइकलमा बेतौड हुइँकिएको घटना उनको मानसपटलमा अझै ताजै छ । १३ वर्षे त्यो उमेरमा उद्योग क्षेत्रभन्दा बाहिर बाइक चलाउँदा ट्राफिक कारबाहीमा परिने भएकाले उनी उद्योग ग्रामभित्र सीमित रहेर बाइक चलाउँथे । ‘दार्जिलिङ नर्थप्वाइन्टस्थित सेन्ट जोसेफ स्कुलमा अध्ययनरत थिए’ सौरभले सम्झिए– ‘छुट्टीको समयमा हामी परवानीपुर आइपुग्थ्यौं, त्यतिबेला औद्योगिक क्षेत्रभित्र बाइकमा बत्तिनु मेरो पहिलो प्राथमिकता हुन्थ्यो ।’
करिब ६ फिट अग्ला सौरभ नर्मलदेखि हेभी सबै किसिमका बाइक चलाउँछन् । बानी त हो, उनले संक्षिप्त रूपमा भने– ‘बाइक चलाउने निश्चित ट्रिक भएपछि पुग्छ’ यद्यपि हेभी बाइक उनको प्राथमिकतामा पर्छ । सेफ्टीदेखि सजिलोसम्म हरेक हिसाबले हेभी बाइक पहिलो रोजाइ हुने सौरभको तर्क छ ।
फ्लासब्याकमा जाने क्रममा सन् १९६८ मा पुगे सौरभ, उनका बाजे मणिहर्ष ज्योतिले जापानको होन्डा कम्पनीका मोटरसाइकल नेपालमा बिक्री गर्न अधिकृत विक्रेताको जिम्मेवारी लिएका थिए । हिमालस्टिलको प्लान्ट निर्माणका निम्ति प्राविधिक सहयोगीका रूपमा आएका जापानी नागरिकले नेपालमा मोटरसाइकल व्यवसाय सुरु गर्न उत्प्रेरित गरेपछि मणिहर्षले होण्डाको सोल डिस्ट्रिब्युसनको जिम्मा लिए ।
हाल स्याकार ट्ेरडिङ प्रालिका रूपमा वर्षमा न्यूनतम ५० हजार मोटरसाइकल बिक्री गर्ने ज्योति ग्रुपको ऐतिहासिक पक्षलाई सौरभले यसरी सुनाए । अब स्याकार ट्ेरडिङले सन् २०१८ मा स्वर्णजयन्ती मनाउँदैछ, सन् १९७४ मा जन्मिएका सौरभले भने– ‘अहिले हामी होन्डा ब्रान्डका मोटरसाइकल छिमेकी मुलुक भारतका अतिरिक्त जापान, ब्राजिल, स्पेन, चाइना, थाइल्यान्ड आदि मुलुकबाट झिकाइरहेका छौं ।’
ज्योति ग्रुपको जमलस्थित घरमा प्रशस्त गाडी छन्, त्यतिमात्र होइन, सौरभसँग महँगो मूल्यका होन्डाका चारपाङ्ग्रे सवारी पनि छन्, तर फुत्त निस्कनुपर्दा सौरभ मोटरसाइकलमै सवार हुन्छन् । सौरभकी अर्धाङ्गिनी श्रीमान्को पछाडि बसेर बाइकमा हुइँकिन पाउँदा फुरुंग हुन्छिन् । ‘पानी पर्दा वा मौसम अनुकूल नहुँदा बाइक चलाउन मन लाग्दैन, अन्यथा प्राय: बाइकमै कम्फर्टेबल महसुस हुन्छ’ सौरभ भन्छन्– ‘काठमाडौंको सडक व्यस्त रहँदा कतिपय मिटिङ एटेन्डका लागि बाइकमै हिँड्छु ।’ सौरभको मोटरसाइकल ग्यारेजमा मात्र दुई दर्जनभन्दा बढी हेभी बाइक छन्, जसलाई उनी पालैपालो चलाउँछन् ।
कतिपय बाइक ‘कस्टमाइज’ गरिएका छन् । तिनको लुक्स हेर्दै चलाऊँ–चलाऊँ लाग्छ । ‘हाम्रो देशमा मोडिफाइ वा कस्टमाइज गरिएका बाइक चलाउनुलाई प्रहरी प्रशासनले ठूलै अपराध मानेको छ’ सौरभ भन्छन्– ‘विदेशतिरचाहिँ कस्टमाइज र मोडिफाइमै करोडौं लगानी गरिएका उद्योग छन्, उत्पादक कम्पनीले बनाएको भन्दा उत्कृष्ट र सरल हुन्छन्, परिवर्तन गरिएका बाइक ।’
सौरभले बुबा पद्मज्योतिले चलाएको ड्याक्स–सेभेन्टी बाइक देखाउँदै भने— ‘त्यतिबेलाको मोपेडभन्दा केही ठूलो यो बाइक बुबाले धेरै समय चलाउनुभयो ।’ पद्मज्योतिले त्यो बाइक हिमाल अक्सिजन परवानीपुरको प्लान्ट इन्जिनियरलाई बेचे पनि पछि उनले खोजेर उक्त बाइक फिर्ता ल्याए । अहिले त्यसलाई पुनर्निर्माण गरेर चल्ने बनाइएको छ । ड्याक्स–सेभेन्टी त्यो बाइक हो, जुन जापानको मोटेगीस्थित होन्डा कलेक्सन हल म्युजियममा राखिएको छ । नेपाल भित्रिएका कमर्सियल बाइकको पहिलो पुस्ता हो— ड्याक्स–सेभेन्टी ।
ड्याक्स सेभेन्टी २०२७ साल अर्थात सन् १९६९ मा निर्मित बाइक हो । अर्को पुरानो ५० सीसीको मोपेड देखाउँदै उनले भने– ‘यो पनि एक ठाउँमा भेट्टाए, ल्याएर मर्मत गरेपछि अहिले चल्ने अवस्थामा छ । यो मोपेड पनि अहिले ऐतिहासिक भैसकेको छ ।’ घरको ग्यारेजका अतिरिक्त होन्डाका विभिन्न सो रुममा भएका सिटी–९०, (२०३६), बेन्ली एस ११० (२०३५) मोडललाई पनि सौरभले सम्झिए ।
१८ वर्ष पुगेपछि सौरभले पहिलो पटक बैधानिक रूपमा मोटरसाइकल चलाउने अनुमति पाए । बाजे मणिहर्षले नातिलाई गिफ्टका रूपमा होन्डाको एनएक्स २५० सीसीको बाइकको चाबी दिएका थिए तर बाजेले उक्त बाइक नातिलाई उपहार दिँदा सौरभका बुबा–आमा भने उनलाई बाइक चलाउने अनुमति दिइरहेका थिएनन् । अहिलेको प्लस टु सरहको शिक्षा हासिल गरिसकेपछि एनएक्स २५० सीसी बाइक चलाएका सौरभले जतन साथ त्यसलाई ५ वर्ष राखे ।
पछि कलेज अध्ययनमा गएपछि बुबाले त्यो बाइक बेचिदिनुभएछ, म एकदमै रिसाए, सौरभ सम्झन्छन्– ‘पहिलो गिफ्टका रूपमा पाएको सुरक्षित बाइक राख्ने रहर थियो ।’ त्यसपछि उनले सिबिआर ६०० एफ चलाए । समयक्रममा त्यो बाइक नाङ्लो बेकरीका श्याम कक्षपतिका छोराले किनेका थिए तर पछि फेरि त्यो बाइक पनि सौरभले किनेर फिर्ता ल्याए । सिबिआर ६०० एफलाई सुम्सुम्याउँदै सौरभले भने– ‘अहिले यसलाई पनि कस्टमाइज गरेको छु ।’
सौरभले घरमा बनाएको मोटरसाइकलको मिनी म्युजियम समयक्रमसँगै बृहत् म्युजियममा रूपान्तर हुने संकेत देखिन्छ । उनीसँग लिमिटेड भर्सनका मोटरसाइकल पनि छन्, जुन अहिले लाखौं रुपैयाँमा बिक्री हुन्छन् । करोडौं रुपैयाँका मोटरसाइकल कलेक्सन गरेका सौरभले होन्डाका विभिन्न सोरुममा पनि एन्टिक बाइक सजाएर राखेका छन् । जसले मोटरसाइकल प्रेमीहरूलाई यसको इतिहास बुझ्न मद्दत गर्छ । मोटरसाइकल कल्चरसँग उनी कति लहसिएका छन् भन्ने कुरा होन्डाका अतिरिक्त अन्य ब्रान्डका हेभी मोटरसाइकलको कलेक्सनले पनि प्रस्ट पार्छन् । सुजुकी, डुकाटी, यामाहा आदि थुप्रै ब्रान्डका बाइकको कलेक्सन छ उनीसँग ।
कलेज लाइफमा चलाएको यामाहा राजदूत ३५० सीसीको बाइक पनि उनले खोजेर घरमा संग्रह गरेका छन् । यो बाइक नेपालमा एकसमयको इतिहास बोक्ने बाइक भएकाले पनि उनले त्यसलाई खोजेर निकालेका हुन् । नेपालमा उनीसँग मात्र भएको अर्को बाइक हो— सिबिआर १००० आरआर (फायर ब्लेड) । होन्डाले २८ औं एनिभर्सरी मनाउने क्रममा पहिलो पटक १००० सीसीको सिबिआर फायर ब्लेड लन्च गरेको थियो । त्यसभन्दा अघि उक्त बाइक ९ सय सीसीको मात्र हुन्थ्यो ।
सुजुकी बि किङ जिएसएक्स १३०० सीसी कन्सेप्ट बाइकतर्फ इंगित गर्दै सौरभले भने– ‘यो बाइक हलिउडको ट्रान्सफर्मर मुभीको पहिलो संस्करणमा प्रयोग भएको थियो । यसलाई चलचित्रका निम्ति नै तयार गरिएको थियो, तर माग बढेपछि निश्चित संख्यामा बिक्री गर्ने उद्देश्य राखेर प्रोडक्सन गरियो । पछि त्यति माग नभएपछि उत्पादन बन्द भयो ।’
सौरभले आफूलाई मन परेर भित्र्याएको होन्डाको सिबि १००० आर को खुलेर प्रशंसा गरे । इटालिमा निर्मित यो बाइक एकदमै हल्का भएको उनको तर्क छ । ११०० सीसीको यो बाइक ठमेलका साना भन्दा साना गल्लीमा पनि स्मुथ्ली चलाउन मिल्ने उनले बताए । सौरभको मोटरसाइकल प्रेम गजबकै छ । मोटरसाइकल ट्ेरन्ड, मोटरसाइकल रेसिङ, मोटरसाइकल डाइभर्सिटी तथा मोटरसाइकल मोहका बारेमा उनी घन्टौं गफिन सक्छन् । साना केटाकेटीले चलाउने बाइकदेखि हेभी बाइकका एक–एक प्राविधिक पक्षका बारेमा उनी जानकार छन् । भन्छन्– ‘मोटरसाइकल मेरो प्यासन हो, यो नै मेरो जीवन होभन्दा फरक नपर्ला ।’
विभिन्न मानिसमा आ–आफ्नै प्रकारको स्वभाव एवं रुचि हुन्छ, कसैलाई संगीतले, कसैलाई चलचित्रले, कसैलाई अध्ययनले त कसैलाई खेलले प्रभावित तुल्याउँछ । सौरभको रुचि भने मोटरसाइकलमा छ । मोटरसाइकलप्रतिको अपार प्रेमकै कारण उनले आफ्नो जीवनको महत्वपूर्ण क्षण यसकै निम्ति समर्पित गरेका छन् ।
श्रीमती र मोटरसाइकल कसको बढी माया लाग्छ ? हत्तपत्त नहास्ने सौरभ फिस्स हास्छन् र भन्छन्– ‘श्रीमती त एउटै हुन्छिन् नि, बाइक धेरै छन्, कसैले मलाई मेरो रुचि सोध्यो भने त्यसमा मोटरसाइकल नै पर्छ ।’ यसलाई स्वीकार गर्दै सौरभ भन्छन्– ‘कुनै समय बाइक भन्नेबित्तिकै होन्डा भनेर बुझिन्थ्यो, होन्डा चढ्ने रहर धेरैमा हुन्थ्यो, त्यही रहर गर्नेहरूमध्ये म पनि एक थिएँ तर होन्डाका हेभी बाइकमा आँखा लागेपछि त्यसमै मन गड्यो ।’
सौरभ मोटरसाइकल लिएर चरिकोट, पोखरा, कुरिनटार, तातोपानी, धुलिखेल, पाँचखाल तथा मुग्लिन–नारायणघाट दर्जनौंपटक पुगिसकेका छन् । यसरी लामो दूरीमा बतासिन उनलाई उत्तिकै प्रियकर लाग्छ । बाइक लिएरै उनी मुस्ताङसम्म पुगेका छन् । श्रीमतीलाई पछाडि राखेर मुस्ताङ जाँदाको यात्रा एड्भेन्चरस भएको उनले सुनाए । जोमसोम–मुक्तिनाथ खण्डमा उनको श्वास बढेको थियो । त्यहाँ उनले झरनाको करिब ३ फिट पानीमा बाइक चलाएका थिए ।
यस्तै कागबेनी ब्रिजमा बाइक चलाउँदाको घटना पनि अविस्मरणीय छ । जाँदा कसोकसो कागबेनी ब्रिज क्रस गरेका सौरभ फर्कंदा बतोडको हावा चलेपछि बाइक चलाउन गाह्रो भएको सम्झन्छन् । ज्योति भन्छन्– ‘तीव्र गतिको हावाका कारण झोलुंगे पुल आफैं हल्लिरहेको थियो, त्यसमा बाइक चलाउन जोखिम भएर लामो समय किनारमा कुरेर बसे तर हावा थामिने संकेत नपाएपछि आँटैले बाइक चलाएर पुल तरें, त्यो क्षण एकदमै रोमान्चक थियो ।’
बाइक सवारीका रमाइला थुप्रै अनुभव छन् सौरभसँग, साथसाथै केही नमिठा सम्झना पनि । हात भाँचिएको, काठमाडौंको सडकमै पटक–पटक लडेको उनले सुनाए । लडेर चोटपटक पनि लागेको छ, तर त्यसले मेरो मोटरसाइकल मोहमा कुनै कमी ल्याएको छैन । सौरभ भन्छन्– ‘सवारी चलाउनेहरू कहिलेकाही सामान्य दुर्घटनामा पर्नु अस्वाभाविक होइन, तर होसियारी अपनाउन उत्तिकै आवश्यक छ ।
बाइक चलाउने निश्चित टेक्निकल ट्रिक छन्, त्यो जान्यो भने हत्तपत्त दुर्घटनामा परिँदैन ।’ हुन त अहिले सुरक्षाका निम्ति उनी ‘सेफ्टी गियर’ प्रयोग गर्छन् । सौरभ बाइक स्टन्टमा पनि उत्तिकै माहिर छन् । मोटरसाइकल स्टन्टका ‘विली’, ‘स्टपी’, ‘बर्नआउट’ ‘हाइचेयर’ जस्ता क्रियाकलापमा उनी पोख्त छन् ।
उत्कृष्ट ट्रेनिङ कोर्स
सौरभकै पहलमा स्याकार ट्रेनिङका तर्फबाट ग्वार्कोमा १० हजार ५ सय स्क्वायर मिटरमा दक्षिण एसियाकै ठूलो ट्रेनिङ सेन्टर सञ्चालनमा छ । इन्टरनेसनल स्टान्डर्डको होन्डा रेन्बो स्कुलको अवधारणामा तयार भएको यो सेन्टर सेफ्टी राइडिङ ट्रेनिङ सेन्टरका रूपमा परिचित छ । जहाँ साइकल चलाउनेदेखि बालबालिकालाई मोटरसाइकलका बारेमा प्रोपर ज्ञान दिने तथा सही ढंगले मोटरसाइकल चलाउने विधिसम्म सिकाइन्छ ।
यो ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरू लाइसेन्स निकाल्न शतप्रतिशत योग्य हुने उनको दाबी छ । मोटरसाइकल कल्चरलाई बढावा दिन नै यो ट्रेनिङ सेन्टरको कन्सेप्ट विकास गरेको सौरभले बताए । सौरभले भने– ‘यो ट्रेनिङ सेन्टर स्थापनापछि मोटरसाइकलको लाइसेन्स दिने निकायले पनि मोटरसाइकल सवारीका वैज्ञानिक विधि जान्ने मौका पाए ।’
संग्रह बढाउने चाहना
सौरभमा मोटरसाइकल संकलनको चाहना अझै छ । त्यसैले हालै उनले अमेरिका भ्रमणका क्रममा हार्ली डेभिड्सन बाइकको अगाडि उभिएर खिचाएको तस्बिर फेसबुकमा पोष्ट गरे । उनको इन्टाग्राम, ट्विटर र फेसबुक एकाउन्टमा मोटरसाइकलसँगको उनको सम्बन्ध चरितार्थ गर्ने थुप्रै तस्बिर छन् । हालै सौरभले अफ्रिका ट्विन अफरोड बाइक सिआरएफ ११०० बुक गरेका छन् । सन् २०१६ को अन्त्यसम्ममा त्यो बाइक जापानबाट नेपाल आइपुग्नेछ ।
जुन बाइक जस्तोसुकै बाटोमा पनि हिँड्न सक्छ । सौरभले खरिद गर्ने सपना साँचेको बाइकचाहिँ हार्ली भिआरएससिए हो । नाइट रड यो बाइक महँगो भएकाले तत्कालै किनिहाल्ने सोच भने उनमा छैन तर एकदिन त्यो बाइक पनि ज्योति समूहका यी हिरो उद्यमीले ल्याएरै छोड्ने उल्लेख गरे । घरमा भएको रोयल इनफिल्डको कस्टमाइज लुक्समा हार्ली डेभिड्सनको नेमट्याग राखिएको देख्दा पनि राजा बाइक मानिने हार्लीप्रति सौरभको झुकाव पुष्टि हुन्छ ।