साप्ताहिक संवाददाता
आँखामा पट्टी बाँधेका सेतो वस्त्र धारी एक महिला र कालो वस्त्रधारी एक पुरुषले बटुवाहरुलाई सिक्का बाँडन थालेपछि खुलामञ्च र रत्नपार्कको बीचमा रहेको सिटी बसपार्कमा मानिसहरुको भिंड लाग्न थाल्यो । शान्त रहेर ती पुरुष र महिलाले सुर्केथैलीबाट बटुवाहरुलाई सिक्का बाँडिरहे ।
फरक यति थियो कि महिलाले दिने सिक्का एक रुपैंयाको असली थियो भने पुरुषले दिने सिक्का एक रुपैंया सिक्काको आकारमा काटिएको फलामको पाता थियो । सेतो वस्त्रमा कलाकार जया शर्मा र कालोमा कलाकार उपकार घमालले मंगलबार ५० मिनेटसम्म गरेको उक्त पर्फमेन्स आर्टको शिर्षक ‘भ्यालु’ अर्थात् महत्व राखिएको थियो । कलाकारद्वय जया शर्मा र उपकार घमाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रिय ललितकला विभागबाट ललितकला बिषयमा स्नातकोत्तर गर्दै गरेका कलाकार हुन् । कलाकारद्वयले मानिसहरुमा पैसाको महत्वलाई कलात्मक ढंगबाट बुझाउन खोजेको बताए ।
कलाकार जया शर्माले पर्फमेन्सको मूल पाटोको बारेमा स्पष्ट पार्दे भनिन् –‘एकै पटक दुईजनामा एकले सक्कली र अर्कोले फलामको टुक्रा बाँडदा बटुवाहरु फलामको टुक्राको के काम रु पैसा पो काम लाग्छ भन्दै गरेको सुने । वास्तवमा हामीले पर्फमेन्स आर्टमार्फत बताउन खोजेको पनि त्यही थियो । त्यो समयमा फलामको टुक्रासंग एक रुपैंयालाई दाँज्दा त्यो एक रुपैंयाको महत्व धेरै लाग्यो भने दैनिक जीवनमा त्यो एक रुपैंयालाई हामी किन महत्व दिइरहेका छैनौ रु पसलमा जाँदा एक रुपैंया फिर्ता दिदाँ पसलेले चकलेट दिन्छ । बाटोमा एक रुपैंया भेट्दा लाजले टिपिन्न । कतै पनि एक रुपैंया फिर्ता लिने वा दिने गरिन्न ।
खासमा त्यही एक–एक रुपैंयाबाटै सय, हजार, लाख, करोड, अरब, खरबको गन्ती हुन्छ, तर एक रुपैंयालाई हामीले वास्ता गरिरहेका छैनौं । एक रुपैंयाकै महत्व छैन भने त्यसको पछाडि जति शुन्ना थपिए पनि त्यसको महत्व हुन्न । जाबो एक रुपैंयाको सिक्का न हो भनेर त्यसमा त्यति चासो राख्दैनौं । त्यहीबाट शुरु भएर महत्व बनाएको सय, हजार, लाख, करोड, अरब जत्तिकै त्यो एक रुपैंयाको महत्व उस्तै होइन र रु किन त्यसलाई जाबो भनिन्छ रु पैसाको महत्व बुझ्ने भनेकै त्यही एक रुपैंयाबाट हो । हाम्रो पर्फमेन्सको मूल पाटो त्यही थियो ।’
अर्का कलाकार उपकार घमालले उनले बाँडेको सिक्का आकार बनाइएको फलामको पाता वितरणलाई पनि विभिन्न किसिमबाट बुझ्नु पर्ने बताए । उनले भने ‘हामीले सेतो र कालो वस्त्र लगाउनुको कारण पनि जसरी सिक्काको दुई पाटो हुन्छ त्यस्तै गरेर हाम्रो दैनिक जीवनमा घटने घटनाको पनि दुई पाटो हुन्छ, एउटा सकारात्मक र अर्को नकारात्मक । जसरी सिक्काका दुई पाटाको उत्तिकै महत्व हुन्छ, सकारात्मक र नकारात्मक पनि एक अर्काको पूरक हुन् ।
समाजमा हुने प्रत्येक क्रियाकलाप वा प्रक्रिया पनि सकारात्मक वा नकारात्मक हुन्छ भनेर पनि देखाउन खोजेका हौं । विज्ञानमा पनि इलेक्ट्रोन र पोट्रोन, गणीतमा पनि प्लस र माइनस, मानिसमा पनि असल र खराब हुन्छ । प्रकृतिमा पनि दिन र रातको एकअर्कासंग जोडिएको महत्व हुन्छ । असली सिक्का मात्रै बाँडिएको भएपनि त्यसको महत्व हुन्नथियो, त्योसंगै फलामको टुक्रा दिदाँ मानिसहरु बल्ल त्यो एक रुपैंयाको सिक्काको महत्व बुझेको पाएँ ।’
कलाकार उपकार घमाल समाजले बनाएको सिस्टमको विरोधमा लगातार आठ बर्षदेखि हातमा कालो पट्टी बाँधेर पर्फमेन्स गरिरहेका छन् । उनी समाजमा निस्कदाँ दुई आँखीभौं माथि प्लस र माइनसको चिन्ह बनाएर निस्कन्छन् ।
कलाकार जया शर्माले डेढ दशकअघि नै फ्रान्सबाट पर्फमेन्स आर्टमा स्नातकोत्तर गरेकी कलाकार शोभा चन्दसंग काठमाडौंमा आयोजित उनको पर्फमेन्स आर्ट वर्कसपमा सहभागीता जनाएकी थिइन् । यी दुई कलाकारले उक्त पर्फमेन्स आर्ट शनिवार कमलपोखरीस्थित सिटी सेन्टरमा प्रस्तुत गर्दैछन् । यसका साथै उनीहरुले बसपार्कबाट शुरु भएको उक्त प्रदर्शन काठमाडौंको स्थानलगायत उपत्यका बाहिर पनि लिएर जाने भएका छन् ।