पवनकुमार अग्रवाल, पूर्वकप्तान (नेपाली राष्ट्रिय क्रिकेट टिम)
एक दशकयता चर्किएको विभाजनको राजनीतिमा राष्ट्रिय क्रिकेट टिमले च्याम्पियन बन्दै नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने काम गर्यो, तर यही क्रिकेट पनि अहिले राजनैतिक दाउपेचको सिकार भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नै राजनीतिक रङ दिन चाह्यो ।
त्यसैले गत वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई निलम्बन गर्यो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवनकुमार अग्रवाल यो राजनीतिका एक साक्षी पनि हुन् । नेपाल क्रिकेट खेलाडी संघका अध्यक्षसमेत रहेका अग्रवालले नेपाली क्रिकेटको उज्यालो र अँध्यारो दुवै पाटोलाई नजिकबाट नियालेका छन् । ४२ वर्षीय अग्रवाललाई आफ्नो गुटमा भित्र्याउन चाहनेहरू थुप्रै छन् । अहिलेको विवादको जड र समाधानका उपायका सम्बन्धमा अग्रवालसँग गरिएको कुराकानी :
नेपाल क्रिकेट संघ (क्यान) मा कसरी विवाद सुरु भयो ?
सबैलाई थाहा भएकै कुरा हो, जब २०७२ को मंसिरमा निर्वाचन भयो तब क्यानभित्रको विवाद सतहमा आयो । त्यसअघि कमिटीभित्र मात्र विवाद थियो, गुटहरू थिए । क्यानको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग पनि राम्रो सम्बन्ध थिएन ।
विवादको चुरो के हो त ?
व्यक्तिगत स्वार्थ । जो क्यानमा हुनुहुन्थ्यो, उहाँहरू क्रिकेटभन्दा पनि व्यक्तिगत एजेन्डामा केन्द्रित हुनुभयो । त्यसो हुँदा एकआपसमा कुरा मिलेन/मिल्दैन, सामूहिक एजेन्डा भए पो मिल्थ्यो ? व्यक्तिगत एजेन्डा र इगोले प्राथमिकता पाएपछि यो विवाद सुरु भएको हो र त्यही विवाद चर्कंदै जाँदा अहिलेको अवस्था सिर्जना भएको हो ।
व्यक्तिगत इगो र झगडाले क्षति त नेपाली क्रिकेटलाई गर्यो नि ?
यो विवादले नेपाली क्रिकेटलाई दीर्घकालीन असर पुर्याइसकेको छ । तीन वर्षयता घरेलु क्रिकेट खत्तमै भएको छ । विकासका गतिविधि ठप्प छन् । बितेको तीन वर्षयता केही भएकै छैनभन्दा हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्र जारी छ । यसको वास्ताविक अर्थात् डरलाग्दो असर त देखिन बाँकी नै छ । तत्कालै सुधार गरिएन भने यो विवादको प्रभाव भयावह रूपमा देखा पर्नेछ ।
नेपाली खेलकुदको सबैभन्दा जेठो संघ क्यानले गति लिन लागेका बेला सुरु भएको यो विवादले नेपाली क्रिकेटको गतिलाई कति पछाडि धकेलेको छ ?
चार वर्षअघि नेपाली क्रिकेट सुधारोन्मुख अर्थात् माथि आइरहेको अवस्थामा थियो । अहिले हामी त्योभन्दा पनि पछाडि धकेलिएका छौं । अघि बढ्नुपर्ने बेलामा विवादकै कारण काम नहुँदा हामी कम्तीमा पाँच–सात वर्ष पछाडि धकेलिएका छौं ।
अब यसलाई कसरी सच्याउने ?
क्रिकेट व्यवस्थापनको एउटा संरचनालाई बलियो रूप नदिएसम्म अहिलेका कमजोरी सच्चिने छैनन् । क्रिकेट बोर्ड बनाउनु मात्र पनि यसको समाधान होइन । बोर्डमा कस्ता मान्छे आउँछन्, कस्तो भिजन भएका आउँछन्, उनीहरूमा क्रिकेटप्रति लगाव छ कि छैन, त्यसले पनि ठूलो भूमिका खेल्नेछ । त्यसैले अहिलेको परिस्थितिमा नेपाली क्रिकेटका कमजोरी सच्याउन क्रिकेट व्यवस्थापनमा पोख्त मानिसहरू आउनु आवश्यक छ ।
क्रिकेटको व्यवस्थापनमा पोख्त मान्छे नेपालमा छन् त ?
पक्कै पनि छन्, नहुने कुरै छैन । अहिलेसम्म नेपाली क्रिकेटको विकास यहींका मान्छेले गर्दा भएको हो । त्यसका लागि सही व्यक्तिको पहिचान गर्दै जानुपर्छ । यहाँ सम्भावना भएका मानिस धेरै छन् । सम्भावना भएका व्यक्तिको छनौट गरेर उसको क्षमता विकास गर्दै लानुपर्छ । त्यसले हाम्रो क्रिकेटलाई नै बलियो बनाउँछ ।
नेपाली क्रिकेट योग्य मानिसको हातमा पर्यो भने हामी कहाँसम्म पुग्न सक्छौं ?
हाम्रो लक्ष्य भनेको अन्तत: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्यता (टेस्ट खेल्ने देश) प्राप्त गर्नु नै हो । आईसीसीका सीईओले नेपाल टेस्ट टिमसम्म पुग्ने क्षमताको भएको कुरा सार्वजनिक रूपमै भनिसकेका छन् । टेस्ट टिम हुने कुरामा हामी आफैंले किन विश्वास नगर्ने ? हामी सक्छौं भनेर लाग्नुपर्छ अनि मात्र लक्ष्यमा पुग्न सकिन्छ । नेपालले टेस्ट क्रिकेट खेल्न सक्ने हुने कुरामा म विश्वस्त छु, यसमा कुनै दुविधा छैन ।
नेपाललाई टेस्ट खेल्ने स्तरमा पुर्याउन कति समय लाग्न सक्छ ?
विवाद अन्त्य गरेर नेपाली क्रिकेटमा एउटा पद्धति (सिस्टम) स्थापित गर्न अझै दुई–तीन वर्ष लाग्न सक्छ । सही बाटोमा लागे हामीले पाँच–सात वर्षभित्र वान डे इन्टरनेसनलको मान्यता प्राप्त गर्न सक्छौं र १०–१५ वर्षमा टेस्ट खेल्ने मान्यता हासिल गर्न सक्छौं ।
१०–१५ वर्षभित्र टेस्ट क्रिकेट खेल्न सक्छ भन्ने आधार के छ ?
हामीसँग भएको प्रतिभा । आईसीसीका एसोसिएट सदस्यमध्ये अफगानिस्तानबाहेक अरू देशमा बाहिरबाट बसाइँ सरेका खेलाडीहरूको वर्चस्व छ । आयरल्यान्ड र स्कटल्यान्डको अवस्था पनि उही हो । हामी भने घरेलु प्रतिभा हौं । नेपाली खेलाडीहरूले खेलेको खेल हेर्नुहुन्छ भने त्यसको तुलना उनीहरूलाई दिइएको सुविधासँग गर्न मिल्दैन । यसलाई हेर्दा खेलाडीको प्रदर्शन १ सय प्रतिशत छ भने सुविधा १ प्रतिशत मात्र । यसबाट नेपालमा प्रतिभा र राम्रो प्रदर्शन क्षमता भएको छर्लंग हुन्छ । यसैलाई विकास गरेर हामी अझ माथि जान सक्छौं ।
हामी क्रिकेटमा बलिया छौं, त्यसैले हामीले टेस्ट खेल्ने टिमहरूलाई समेत (उमेर समूहमा) पराजित गरिरहेका छौं । तीन वर्षयता घरेलु क्रिकेट भने शून्य छ तर अहिले नेपाली टिमले गरिरहेको प्रदर्शन भने खराब छैन । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्सलाई उसैको मैदानमा हराइदियो । त्यो जित प्रतिभा भएर नै हात लागेको हो । नेपालमा क्रिकेट संस्कृतिको विकास भैसकेको छ । यिनै कारण हामी त्यो स्तर (टेस्ट मान्यता) मा पुग्न सक्छौं ।
अहिलेको विवादमा खेलाडीको मानसिक अवस्था कस्तो देख्नुहुन्छ ? राष्ट्रिय टिमका खेलाडीलाई विस्थापित गर्न सक्ने अरू खेलाडी किन आएका छैनन् ?
यसमा मेरो अनुभव खराब छ । केही सुविधा चाहियो भने खेलाडीले गुनासो गर्ने कुनै ठाउँ छैन । आईसीसीले सहभागिता सुनिश्चित गरिदिएको छ, अरू केही छैन । राष्ट्रिय टिमबाहेकका अरू खेलाडीहरूका लागि खेल्ने ठाउँ (प्रतियोगिता) नै छैन । केका लागि खेल्ने ? किन अभ्यास गर्ने ?
उत्साहित हुने कुनै आधार देखिँदैन । यसले नकारात्मक असर गर्छ । राष्ट्रिय टिमको प्रदर्शन हेर्दा त्यस्तो प्रभाव देखिँदैन, तर भविष्यमा पक्कै देखिनेछ । अहिलेका खेलाडीलाई विस्थापित गर्न सक्ने खेलाडी उत्पादन नहुनुको कारण पनि यही हो । अब अर्को पुस्ता वा टिमका लागि ‘कच्चापदार्थ’ छैन, हो हामीलाई त्यही चाहिएको छ ।
क्यानमा विवाद नहुँदा पनि घरेलु क्रिकेटको वातावरण त थिएन नि ?
सन् २०११ सम्म घरेलु क्रिकेट (प्रतियोगिता) थियो, शून्य थिएन तर भनेजस्तो पनि थिएन । यू–१६, यू–१९ तथा सिनियरका प्रतियोगिता वर्षमा एकपल्ट भए पनि सञ्चालन हुन्थे । सन् २०१२ यता त क्रिकेट गतिविधि शून्य नै छ, अहिले ती कुनै पनि प्रतियोगिता सञ्चालनमा छैनन् ।
समाधान कसरी हुन सक्छ ?
व्यवस्थापकीय संरचना निर्माण गर्नुपर्यो । क्रिकेटलाई चाहिएको मान्छे ल्याएर सिस्टम स्थापित गरेपछि मात्र नेपाली क्रिकेटमा सुधार ल्याउन सकिन्छ । अहिले आईसीसीले एउटा पहल गरेको छ, त्यसले कति सफलता पाउँछ भन्ने कुरा सरकारले कस्तो सहयोग गर्छ ? भन्ने कुरामा निर्भर छ ।
नेपालमा आईसीसीको भूमिकालाई कसरी लिनुहुन्छ ?
क्रिकेटको सर्वोच्च संस्था आईसीसी नै हो । उसले अहिले नेपालमा चासो देखाएको छ । आईसीसीले नेपाललाई महत्वपूर्ण देशका रूपमा हेरेको छ । केही फाइदा नभए पनि उसले नेपाललाई सहयोग गरिरहेको छ, माया गरेको छ, जुन स्वागतयोग्य छ । यहाँ विवाद चर्किए पनि उसले नामिबियासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल नेपालमै आयोजना गरिदियो । त्यसैले आईसीसीको भूमिका सकारात्मक छ । हामीले आईसीसीको भन्दा हाम्रो इच्छा आवश्यकतालाई प्राथमिकतामा राखेर हेर्नुपर्छ ।
आईसीसीले केही व्यक्तिलाई च्यापेकाले पनि नेपालमा विवाद बढेको आरोप छ नि ?
म यसमा धेरै बोल्न चाहन्नँ । आईसीसीको कार्यालय दुबईमा छ, उसले त्यहींबाट नेपाललाई हेर्छ । उसले सूचित हुन सीमित व्यक्तिलाई रोजेको होला । ती मानिस कति सही छन्, कति गलत छन् भन्ने कुरा भविष्यले नै बताउँला । केही व्यक्तिबाट सूचना लिए पनि आईसीसीका प्रतिनिधिले काठमाडौं आएर सरोकारवाला सबैका कुरा सुनेका छन् ।
समस्या समाधानका लागि युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा निर्वाचित क्यानको भूमिका कस्तो छ ?
मिडियामा आएअनुसार नेपालमा क्रिकेट बोर्ड बन्छ जस्तो छ । समाधान निकाल्न सबै पक्ष सकारात्मक देखिएका छन् । हामी विवादको अन्त्यतिर छौं । दुई, तीन वा चार महिनाभित्र यो समस्या समाधान गर्ने टुंगोमा पुगेनौं भने हामी (नेपाली क्रिकेट) सकिन्छौं । त्यसै त हामी पाँच–सात वर्ष पछाडि परिसकेका छौं । मलाई लाग्छ, यो स्थितिलाई मध्यनजर गर्दै सबैले सकारात्मक भूमिका निर्वाह गर्ने छन् । क्रिकेटका लागि कसैले गलत नगर्लान् भन्ने मेरो विश्वास छ ।
अदालतमा मुद्दा चलिरहँदा बोर्ड गठन वा अन्य तरिकाले समाधान सम्भव होला ?
अहिलेसम्म बोर्ड गठन भैसकेको छैन, कुरा आएको सल्लाहकार समितिको हो । हामी सबै नेपाली हौं । हामीले नेपाली क्रिकेटको प्रगति चाहेका हौं । त्यसैले झगडा मात्र गरेर काम छैन । क्रिकेटलाई सुधार र विकास गरेर अघि बढाउने इच्छा देखाउने हो भने कुनै ठूलो समस्या छैन ।
क्रिकेटका लागि राम्रो गर्न हामी एक हुनुको विकल्प छैन । यो झगडालाई हामीले बिसाउनैपर्छ । त्यसका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ । ‘म’ होइन, क्रिकेटलाई महत्व दिनुपर्यो । व्यक्ति हावी हुनु भएन । क्रिकेटलाई केन्द्रमा राख्नुपर्यो समस्या स्वत: समाधान हुन्छ ।
बेलायतको औपनिवेशिक खेलका रूपमा चिनिएको क्रिकेट नेपालमा कसरी लोकप्रिय भयो ?
नेपालमा क्रिकेट राणाकालमै भित्रिएको हो । करिब साढे तीन दशकअघि जय ट्रफीको नामले अञ्चलको टिमले खेल्ने राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भयो । २०४८ सालपछि त्यसमा जिल्लाका टिमले प्रतिस्पर्धा गर्न थाले । औपचारिक रूपमा नेपालको अन्तर्राष्ट्रिय यात्राको थालनी २० वर्षअघि मलेसियामा सम्पन्न एसीसी ट्रफिबाट भएको हो । उक्त टिममा म पनि थिएँ ।
हामीले खेल्दा नेपालमा क्रिकेट लोकप्रिय थिएन । क्रिकेट काठमाडौंका केही क्लब तथा भारतसँगको सीमावर्ती क्षेत्रमै सीमित थियो । क्रिकेटको कसैले वास्ता गर्दैनथे, हेर्दैनथे । नेपाली राष्ट्रिय टिमले पहिलोपल्ट विदेश भ्रमण गरेकै वर्ष सन् १९९६ मा पहिलो पल्ट टेलिभिजनमा विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
त्यसले नेपालमा धेरै ठूलो प्रभाव पार्यो । त्यसपछि नेपालीहरूलाई क्रिकेटले आकर्षित गर्न थाल्यो । सन् २००० यता नेपाली क्रिकेटको विकास पनि भयो, नेपालले केही उपलब्धि पनि हात पारेको छ । यसले क्रिकेटलाई नेपालीहरूमाझ अझ लोकप्रिय बनायो ।