साप्ताहिक संवाददाता
कलाकार जया शर्मा तथा उपकार घमालले खुलामञ्चस्थित बसपार्कमा मंगलबार ‘महत्व’ शीर्षकमा एक घण्टाको पर्फमेन्स कला प्रदर्शन गरे । सेतो र कालो वस्त्र लगाई आँखामा पट्टी बाँधेर बटुवाहरूलाई फलामको टुक्रा र एक रुपैयाँको सिक्का वितरण गरेर गरिएको उक्त कला प्रदर्शनीमार्फत मानिसहरूमा पैसाको महत्व दर्साइएको सहभागी कलाकारहरूको धारणा थियो । उक्त प्रदर्शनी भोलि शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा पनि हुँदैछ ।
अन्तर्राष्ट्रिय पर्फमेन्स कला
बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा नेपालसहित चीन, जापान, इन्डोनेसिया, भारत तथा बंगलादेशका पर्फमेन्स कलाकारहरूको सहभागितामा चारदिने पर्फमेन्स कला प्रदर्शन गरियो । प्रदर्शनीमा नेपालका १३ एवं विदेशका १० जना पर्फमेन्स कलाकार सहभागी थिए । पर्फमेन्स कलाकारहरूले उपत्यकाका तीन सहर काठमाडौं, ललितपुर तथा भक्तपुरमा उक्त कला प्रस्तुत गरेको आयोजक संस्थाका पृथ्वी श्रेष्ठले बताएका छन् ।