साप्ताहिक संवाददाता
मोडल, अभिनेत्री पछि सञ्चारकर्मीको परिचय बनाएकी कृति भट्टराई अब व्यवसायी पनि भएकी छिन् । गत साता काठमाडौंको नयाँ बानेश्वर थापागाउँस्थित अर्गानिक एस्प्रेसो कफी सप सञ्चालनमा ल्याएर उनले नयाँ परिचय बनाएकी हुन् ।
कफी सपको उद्घाटन नायिका रेखा थापा, युवा नेताद्वय लक्ष्मी खतिवडा तथा रामकुमारी झाँक्रीले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । पछिल्लो समयमा अभिनयभन्दा पनि संचारकर्ममा व्यस्त कृतिले व्यवसायीका रूपमा फरक पेसाको अनुभव बटुल्न कफी सप खोलेको बताइन् । कृतिको यो कफिसपमा ललितपुरमा उत्पादन भएको विशुद्ध अर्गानिक कफी प्रयोग गरिने बताइएको छ ।
उद्घाटन समारोहमै छक्कापन्जाकी निर्देशक दीपाश्री निरौलासहितको टिमले केक काटेर कफी सपको औपचारिक सेवा प्रारम्भ गरेका थिए । चलचित्र विश्वासबाट अभिनय यात्रा सुरु गरेकी कृतिले आधा दर्जनजति चलचित्रमा नायिकाका रूपमा काम गरिसकेकी छिन् ।