वर्ष २०७२ मा आएका कृतिहरूमध्ये उत्कृष्ट मानिएको कथ–संग्रह ‘ऐना’ ले मदन पुरस्कार पाउने भएपछि यसका सर्जक रामलाल जोशी टाइमलाइनमा छन् । यसअघि एउटा गजल–संग्रह प्रकाशनमा ल्याएका जोशी गएको चैत महिनामा ‘ऐना’ प्रकाशनमा आएपछि बिस्तारै चर्चामा आउन थालेका थिए । जसले कृति पढे, उनीहरूले रामलालको खोजी गरे । ऐना मदन पुरस्कारले निकालेको शीर्ष सात पुस्तकको सूचीको पहिलो नम्बरमा परेपछि उनलाई प्रकाशन संस्थाहरूले काठमाडौं बोलाउन थाले ।
उनको कृति अर्को महत्वपूर्ण पुरस्कार पद्मश्री साहित्य सम्मानमा पनि परेपछि त पाठकहरू उनका बारेमा जान्न उत्सुक हुने नै भए । यही बेला सरकारले उनलाई युवा प्रतिभा पुरस्कारले समेत सम्मान गर्यो । पुरस्कार थापेर आफ्नो कर्मथलो धनगढी फर्किएलगत्तै मदन पुरस्कार घोषणा भएपछि साप्ताहिकले जोशीसँग लामो कुराकानी गरेको थियो ।
२०७३ तपाईंका लागि असाध्यै राम्रो भएर आयो नि ?
हो, २०७२ को अन्तिम चैतमा पुस्तक प्रकाशन गरेको थिएँ । त्यतिबेला पुस्तक छाप्ने मात्र इच्छा थियो । नयाँ वर्ष लाग्नेबित्तिकै ज–जसले पुस्तक पढ्नुभयो, इन्टरनेटमा मलाई खोज्न थाल्नुभयो । फ्रेन्ड रिक्वेस्टहरू आउन थाले । धमाधम मदन पुरस्कार, पद्मश्री सम्मान तथा युवा प्रतिभा पुरस्कारमा मनोनीत हुन थालेपछि त म आफैं छक्क परेँ । अहिले दसैंअघि त्यही कृतिले मदन पुरस्कार पाएको खबर पाएको छु । असाध्यै खुसी लागेको छ ।
एउटै पुस्तकबाट यति धेरै चर्चाको अपेक्षा गर्नुभएको थियो ?
पटक्कै थिएन । म मोफसलको मान्छे, काठमाडौंबाहिरका अरू मानिसजस्तै ममा पनि पूर्वाग्रही सोच थियो । काठमाडौं बाहिर बसेर गरेको साहित्य साधनालाई काठमाडौंले वास्ता गर्दैन, सुन्न चाहँदैन । त्यसैले मैले ठूलो अपेक्षा नगरी आफैं पुस्तक छापेर धनगढी फर्किएको थिएँ । यद्यपि महिना दिनभित्रै मैले अस्वभाविक प्रतिक्रिया पाएँ । पहिले–पहिले मेरो लेखनको कुरा गर्दा फुर्याएको होला भन्ने मानेँ ।
प्रकाशन गृहहरूले फोन गरेपछि केही आत्मविश्वास पलायो । मदन पुरस्कार गुठी र खेमलाल–हरिकला प्रतिष्ठानजस्ता सम्मानित संस्थाले यो पुस्तकलाई पुरस्कारका लागि मनोनीत गरेपछि भने छक्क परेँ । वास्तवमा यो नेपाली समाज परिवर्तन भएको संकेत हो । तपाईं जहाँसुकै बसेर जे सुकै गर्नुहोस्, तपाईंले राम्रो काम गर्नु भएको छ भने समाजले मूल्यांकन गरिरहेको हुँदो रहेछ । अनावश्यक कुण्ठा पालेर बस्नुभन्दा आफ्नो काममा ध्यान दिनुपर्ने रहेछ । यसले मोफसललाई विशेष सन्देश दिएको छ ।
मदन पुरस्कारको घोषणासँगै सामाजिक सञ्जालभरि छाउनुभएको छ, यो कुन कुराको संकेत हो ?
साहित्य आममानिसको चासोमा पुगेको संकेत हो । राम्रो काम गर्नेलाई हामी तपाईंको साथमा छौं, तपाईं ध्यान दिएर आफ्नो काम गर्नुस् भन्ने संकेत हो ।
पुरस्कार पाएपछि स्रष्टाको मनोविज्ञानमा कस्तो असर पर्दो रहेछ ?
खुसी त लाग्छ नै, तर सँगै ठूलो दायित्व थपिएको महसुस हुँदो रहेछ । हिजोसम्म आफ्ना लागि लेखिन्थ्यो, त्यो कुरा कसैलाई मन पर्ला–नपर्ला त्यसमा त्यति ध्यान दिइँदैनथ्यो । पुरस्कारपछि मेरो कुरा आममानिसले पनि सुन्छन्, मैले लेख्दा–बोल्दा विचार पुर्याउनुपर्छ भन्ने कुरा मनमा आउँदो रहेछ ।
भनेपछि लेखनमा परिवर्तन आउँछ ?
पुरस्कारले लेखक परिवर्तन हुँदैन । उसले जे लेख्न खोजेको हो, त्यो अझ राम्रोसँग लेख्न हौसला पाउँछ, तर पाठकको नजरमा लेखक विशेष बन्न पुग्छ । हिजो उसले गहन कुरा लेख्दा पनि धेरैले चासो दिँदैनथे, पुरस्कारपछि उसले लेखेका–बोलेका कुरा विशेष हुन पुग्छन् । पुरस्कारले लेखकलाई एउटा विशेष पहिचान दिन्छ ।
तपाईंले सुदूरपश्चिमका दु:ख लेखेर एउटा पहिचान बनाउनु भयो, पुरस्कारपछि लेखनमा केही परिवर्तन हुन्छ कि ?
हुँदैन, म जुन धरातलमा जन्मिएँ, मैले जुन कुरालाई राम्रोसँग बुझेको छु, त्यही कुरालाई राम्रोसँग अभिव्यक्त गर्न सक्छु । नयाँ कुरा स्रष्टाले लेख्न सक्दैन, लेख्न खोज्दा राम्रो पनि हुँदैन । म सुदूरपश्चिमै बढी केन्द्रित रहन चाहन्छु । हो, अब अझै गहिरो अभिव्यक्ति दिन चाहन्छु । यसभित्र अझै डुब्न चाहन्छु ।
नयाँ के लेख्दै हुनुहुन्छ ?
उपन्यास लेख्ने सोच थियो, त्यसैलाई मूर्त रूप दिने योजना छ ।
तपाईंसँगै मनोनीत भएका अन्य पुस्तकका बारेमा केही टिप्पणी छ कि ?
म भाग्यवश नेपालका दुईवटा ठूला र सम्मानित पुरस्कार पद्मश्री र मदन दुवैमा मनोनीत भएँ । मसँगै मनोनीत हुनुभएका सबै स्रष्टा देशमा यसअघि नै नाम र पाठक कमाइसक्नुभएका स्रष्टाहरू हुनुहुन्थ्यो । उहाँहरूका कृतिका आ–आफ्नै विशेषता थिए ।
निकै राम्रा र पाठकहरूले पनि रुचाएका स्रष्टाका अघि म नाम नसुनिएको मोफसलको व्यक्तिले प्रतिस्पर्धा गर्न पाउनु नै ठूलो कुरा थियो । ती कृति र स्रष्टाहरूलाई म असाध्यै सम्मान गर्छु । ती सबै कृति गएका वर्ष प्रकाशन भएका राम्रा कृति हुन् भन्ने कुरामा कुनै शंका छैन ।