लुम्बिनी बौद्ध विश्वविद्यालयले गत वर्ष गुरु योजना तयार पारेपछि त्यस अनुरूप दुई नयाँ विषयको अध्यापन प्रारम्भ गर्न लागेको छ । जसअन्तर्गत अब संग्रहालय र पुरातत्वमा विशेषज्ञ बन्ने अवसर प्राप्त हुनेछ । नेपालमा त्यसै पनि संग्रहालय र पुरातत्वका विशेषज्ञको अभाव छ । जति छन्, त्यसमा अधिकांश विदेशी छन् । त्यसमाथि बुद्धको जन्मभूमि नेपालमा त्यससँग जोडिएर गर्नु पर्ने पुरातात्विक अनुसन्धान धेरै छन् ।
यसैगरी नेपालमा संग्रहालयको स्थापना र त्यसको सञ्चालन पनि खासै हुन सकेको छैन । यी यस्ता दुई विधा हुन्, जसमा दक्षता हासिल गर्न कडा मेहनत र पर्याप्त रुचि चाहिन्छ । यी विषयमा दक्षता प्राप्त गर्नुको अर्थ ख्याति र राम्रै आर्थिक आम्दानी पनि हुन सक्छ । विश्वविद्यालयले सुरु गरेको पहिलो कार्यक्रम हो, संग्रहालय विज्ञानमा स्नातकोत्तर । अरू जुनसुकै विषयमा स्नातक गर्नेहरूले यो विषय अध्ययन गर्न सक्छन् ।
दुई वर्ष चल्ने यो कार्यक्रममा चार सेमेस्टर छन् । यो विषयको अध्ययनमा संग्रहालय अर्थात् म्युजियमसम्बन्धी वैज्ञानिक अध्ययन, म्युजियमको स्थापना एवं त्यसको व्यवस्थित सञ्चालन समेटिन्छ । यो विषयले पुराना ऐतिहासिक वस्तुको जर्गेना र संरक्षणमा योगदान पुर्याउनेछ, जसले गर्दा नयाँ पुस्ता आफ्नो इतिहासका सम्बन्धमा जानकार होस् । सुरुको दुई सेमेस्टरमा संग्रहालयसम्बन्धी ठोस अध्ययन गर्नुपर्छ ।
पहिलो सेमेस्टरमा म्युजियम के हो, यो किन चाहिन्छ, कसरी यसको व्यवस्थापन हुन्छ भन्ने कुरा अध्ययन गर्नु पर्ने हुन्छ । दोस्रो सेमेस्टरमा म्युजियमको प्रदर्शनीदेखि लिएर अनुसन्धानसम्बन्धी अध्ययन गर्नुपर्छ । तेस्रो सेमेस्टरमा बौद्ध धर्मको आधारभूत ज्ञान प्रदान गरिन्छ र यसैसँग जोडिएर संग्रहालयसम्बन्धी थप अध्यापन गराइन्छ । यस्तै चौथो तथा अन्तिम सेमेस्टरमा इन्टर्नसिपदेखि लिएर संग्रहालयसम्बन्धी व्यवहारिक अभ्यास गराइन्छ ।
यसको पढाइ काठमाडौंको मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ बिजनेस एन्ड इकोनोमिक्समा हुनेछ । उक्त कक्षा साताको ६ दिन बिहान सञ्चालन हुने कुरा बताइएको छ । यो कार्यक्रमका कोअर्डिनेटर नेपालका संग्रहालय विशेषज्ञ जयकृष्ण श्रेष्ठ हुन् । दोस्रो कार्यक्रम पुरातत्वमा पोस्ट ग्राजुयट डिप्लोमा (पीजीडी) हो । यो विषयमा अध्ययन गर्न चाहनेहरू पनि कुनै पनि विषयमा स्नातक हुनुपर्छ ।
यसको पढाइ पनि ग्लोबल कलेजमै हुनेछ र यो कार्यक्रमका संयोजक हुन्, प्रख्यात विद्वान् दिनेशचन्द्र रेग्मी । पीजीडीमा पाँच पेपर छन् । यो पढाइको उद्देश्य नेपालमै पुरातत्वसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नु हो । यो विषयको अध्ययन पूरा गर्नेहरूले नेपालका एनजीओ तथा आईएनजीओमा अवसर पाउने सम्भावना हुन्छ । यसमा पनि बौद्ध धर्मको आधारभूत अध्ययनपछि पुरातत्वसँग जोडिएका विषयको गहन अध्ययन गर्नुे पर्नेछ ।
पीजीडीको सबैभन्दा आकर्षण विषय हो, ४२ दिनको फिल्ड वर्क र त्यो पनि लुम्बिनीमै ।
यसका लागि विश्वविद्यालयले नेपाल पुरातत्व विभाग तथा लुम्बिनी विकास कोषसँग सहकार्य गर्नेछ । नेपालमा संग्रहालय एवं पुरातत्वसम्बन्धी छुट्टै विषयको अध्ययन–अध्यापन प्रारम्भ हुन लागेको यो पहिलो अवसर हो । अरू कुनै विषयमा विशेषज्ञता हासिल गरिसकेकाले पनि यी कार्यक्रममा सहभागी भएर आफूलाई प्राज्ञिक रूपमा अझ दक्ष बनाउन सक्छन् ।