साप्ताहिक संवाददाता
नयाँ खेल सुरु हुनुपर्छ, त्यसमा नेपालले पेस गर्ने चुनौती प्राय: राम्रै हुन्छ । पछि नेपालको चुनौती जस्ताको तस्तै रहन्छ, अरू देशले भने प्रगति गरिसकेका हुन्छन् । अनि त्यस्तो पनि स्थिति आउँछ, जसमा नेपाल पछाडि पर्छ र अरूले हामीलाई सजिलै उछिन्छन् । महिला क्रिकेटमा पनि त्यस्तै भएको छ । कुनै समय थियो, नेपाल विश्व क्रिकेटमा गैरटेस्ट मान्यताप्राप्त देशबीच अब्बल स्थानमा थियो । अरु टिमले प्रगति गरेपछि नेपाली महिला क्रिकेट निकै कमजोर देखियो ।
स्थिति कस्तोसम्म भएको छ भने नेपाली महिला क्रिकेट अब शून्यमै झरेको स्थितिमा छ । नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको पनि तीन वर्ष भैसकेको छ । हुँदा–हुँदा अब क्रिकेटमा खासै कुनै इतिहास नभएका देशको सामना गर्दा पनि आत्तिनुपर्ने स्थिति छ । शून्यको यो स्थिति चिर्दै नेपालले आईसीसी वुमन्स वल्र्डकप क्वालिफाइङ म्याच खेल्न लागेको छ र यो नेपाली महिला क्रिकेटका लागि फेरि ब्युँझने प्रयास हुनेछ ।
यो एसियाली छनोट हङकङमा अक्टोबर ९ देखि १५ सम्म सञ्चालन हुनेछ र त्यसमा सहभागी हुने चार टिम हुन्– हङकङ र नेपालसँगै चीन र थाइल्यान्ड । यही प्रतियोगिताका लागि अहिले नेपाली टिमको तयारी चलिरहेको छ । नेपाली महिला क्रिकेट टिमले अन्तिम पटक सन् २०१४ मा सम्पन्न इन्चेन एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता नेपाल न त अन्तर्राष्ट्रिय प्रतियोगितामै सहभागी भयो, न त घरेलु महिला क्रिकेटमै केही हुन सक्यो ।
यसपल्टको छनोटको मुख्य विशेषता हो— राउन्ड रोबिन । यो प्रतियोगितामा एउटै मात्र टिमले वुमन्स वल्र्डकप क्वालिफाइडको अर्को चरणमा खेल्न पाउँछ । त्यसैले सहभागी सबै टिमका सामु शीर्ष स्थान हात पार्ने विकल्प मात्र छ । यसमा नेपाली महिला क्रिकेट आफैं पनि ठूलो परीक्षाबाट गुज्रिनेछ । प्रतियोगिता ट्वान्टी–२० फरम्याटमा हुनेछ । यसका लागि नेपाली महिला टिम अहिले एक महिना लामो बन्द प्रशिक्षणमा छ र विश्वास छ, उक्त प्रशिक्षणले टिमलाई तिखार्न मद्दत गर्नेछ ।
यसपल्ट टिमका प्रशिक्षक छन्— राजु बस्नेत अनि उनलाई सहयोग गरिरहेका छन्, जगत टमाटा र विनोद दासले । सन् २००७ मा नेपाली महिला क्रिकेटले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको थियो र त्यसमा उपविजेता भएको थियो । एसीसीको अन्डर १९ मा त नेपालले लगातार तीन पल्ट जित निकालेर ह्याट्रिक नै गरेको थियो, तर ती सबै कुरा अहिले इतिहास भएका छन् । टिमको कप्तानी गरिरहेकी छिन, रुविना क्षेत्रीले । रुविना भन्छिन्, ‘नेपाली टिमका सामु कडा मेहनत र राम्रो प्रदर्शनबाहेक अरु विकल्प छैन ।’