साप्ताहिक संवाददाता
सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल ‘ए मेरो हजुर–२’ को सुटिङ युनिट यतिबेला सुन्दर नगरी पोखरामा छ । एक समयकी चर्चित नायिका झरना थापाको डेब्यु निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा ड्रिम्सबाट उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाह नायिकाको भूमिकामा छिन् ।
आगामी वैशाखमा प्रदर्शन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यो चलचित्रको छायांकन काठमाडांैपश्चात् हाल पोखरामा भैरहेको हो । पोखराको फेवाताल, लेकसाइड, नौडाँडा आदि पर्यटकीय स्थलहरूको दृश्य कैद गर्न युनिट पोखरा आएको हो । यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह नेवारी लुक्समा देखिएकी छिन् । चलचित्रमा उनले नवकलाकार सलिनमान बानियाँसँग रोमान्स गर्नेछिन् ।
यो चलचित्रको चर्चा लामो समयदेखि भए पनि छायांकनमा आउन ढिलाइ भएको थियो । चलचित्रको छायांकन मनाङमा समेत हुने बताइन्छ । नायिका झरना थापालाई निर्देशक झरना थापाका रूपमा चिनिन यो चलचित्र आफैंमा एउटा चुनौती भएको नायिका निर्देशक थापा बताउँछिन् ।