जे कुरा सकिन आँटेको हुन्छ, जीवनमा त्यही चीजको महत्व बढी हुँदो रहेछ । केटाकेटी बेलाको एउटा अनुभव: दसैं सुरु हुन्थ्यो । चारैतिर रौनकै रौनक । जताततै बहारै–बहार । मन फुरुङ्ग हुन्थ्यो । मन चङ्गाजस्तै उड्थ्यो । मन पिङजस्तै मच्चिन्थ्यो ।
मन नाच्न लाग्थ्यो तर जसै दसैँ सकिन्थ्यो, मन एकदमै खिन्न हुन्थ्यो । फूलपाती, अष्टमी, नवमी हुँदै उकालो लागेको उत्तेजना टीकाको दिनसम्म चरममा पुग्थ्यो, अनि एकादशी, द्वादशी, त्रयोदशी हुँदो ओरालो लाग्दै जाँदा बितेका दिनको रमाइलो दिमागमा फनफनी घुम्थ्यो ।
सकिन आँटेको चीजसित बिछोडिँदा मर्न लागेको मान्छेसित बिछोडिनु जत्तिकै पीडा हुन्छ । जतिसुकै खराब होस्, जतिसुकै दु:ख दिएको होस् चाहे मान्छे होस् वा समय, त्यसको अन्त्य हुँदैछ भन्ने कुराले मनमा च्वास्स त गरेर छाडेको रहेछ । कतिपय ठाउँमा जाँदा बसुन्जेल कहिले उम्कन पाइन्छ जस्तो हुन्छ, तर जब त्यो ठाउँलाई छाड्न लाग्छु, मलाई पीडा हुन्छ ।
कतिपय यात्रामा भोकै हिँड्नुपर्ने बाध्यता थियो । हो, यात्रा गरुञ्जेल मलाई त्यो यात्रा, त्यो समय, त्यो परिस्थितिसित खुब रिस उठ्यो तर जब त्यो यात्राको अन्त्य हुन लाग्थ्यो, म उक्त यात्रालाई मिस गर्न थाल्थेँ । फर्किसकेपछि पनि मलाई पुन: त्यही यात्राको धङ्धङीले निमोठिरहन्थ्यो ।
यस्ता धेरै उदाहरण, धेरै घटना छन् जो सकिन लाग्दा त्यसको महत्व हुन्थ्यो । सिनेमा हलमा गएर एउटा राम्रो सिनेमा हेर्दा अन्तिम–अन्तिममा, अर्थात् सकिन लागेको बेला सिनेमा नसकिए हुन्थ्यो जस्तो लाग्थ्यो । मन छुने पुस्तकका अन्तिम हरफहरूमा पुग्दा त्यसले झनै छोइदिन्छ ।
कुनै पिकनिकमा जाँदा दिनभरिको रमाइलोमा यति डुबिन्छ कि फर्किएपछि छुट्ने बेलामा सबै साथीहरू प्रिय लाग्दै जान थाल्छन् । मीठा खानेकुरा अन्तिममा, सकिन लागेका बेला, झनै मीठो मानेर लोभ गरी–गरी खाइन्छ । बत्ती जाने बेला जति उज्यालोसित लगाव अरू बेलाजस्तो कहाँ हुन्छ र ? जीवनमा आफूले मन पराएका मानिसहरूसितको साथ छुटिने बेलामा तन्काउन मन लाग्छ ।
यसपालिको झरी करिब–करिब सकिने तरखरमा छ भने मलाई प्रत्येक थोपा पानीसित मोह बढ्न थालेको छ । म आकाशबाट बर्सने प्रत्येक थोपा पानीलाई प्रत्येक पल, झ्यालबाट हुरुक्कै हुने गरी हेरिरहेको हुन्छु ।
हो, सकिने बेलामा धेरै कुरा मीठा लाग्छन्, प्रिय लाग्छन् । तिनलाई अझै पाउने लोभ लाग्न थाल्छ । अझै भोग्न मन लाग्छ त्यस्तो समय । हामी अतृप्त रहन्छौं । हामी औडाहमा हुन्छौं । हामी छट्पटाउँछौँ ।
जीवनमा धेरै कुरा यस्ता छन् कि तिनको स्थान जति हुन्छ, त्यो त्यति नै प्रिय हुन्छ अर्थात् कुनै पनि चीज सकिनुले नै हामीलाई त्यसप्रतिको मिठास प्राप्त भएको हो । त्यो चीज फेरि फर्केर हाम्रो जीवनमा आयो भने त्यसको खासै महत्व हुँदैन । मीठा खानेकुराहरू अघाउनेभन्दा बढी खाँदा बिसन्चो हुन्छ । दसैं वर्षैभरि चलेर जीवनलाई खुसी बनाइरहने होइन । कुनै यात्राले हामीलाई अतृप्त मिठास दिन्छ भने त्यो बडो प्रिय अनुभूति हो । जब हामी तृप्त हुन्छौं तब मिठास पनि सायद नरहला कि † केही अधुरा प्रेमहरू, केही घोच्ने, दुखाउने समय, केही कठिन यात्रा, केही रुवाउने सम्बन्धहरूले नै जीवनलाई जीवनजस्तै बनाइदिन्छन् । कुनै पनि चीज सुरु भएपछि त्यो एक दिन सकिन्छ पनि । सकिनु त्यो चीजको आफ्नै नियति हो अनि त्यो चीजप्रति मोह बढ्दै जानु हाम्रो ह्दयको प्राकृतिक भाव ।
यी स–साना चीजहरूप्रतिको मोह त आफ्नो ठाउँमा छँदैछ, तर सबैभन्दा मुख्य कुरा, बुझ्नैपर्ने कुरा— जीवनलाई पनि हामी त्यसैगरी प्रेम गरौं, मानौं यो सकिन लागेको छ, अनि मात्र यो पनि प्रिय लाग्नेछ, रुचिकर लाग्नेछ ।