सरिता लामिछाने, अभिनेत्री
सञ्चारकर्मी
अभिनय यात्रा प्रारम्भ गर्नुअघि नै म सञ्चार क्षेत्रमा प्रवेश गरिसकेकी थिएँ । म योङ नेपाल टेलिभिजनमा चलचित्रसँग सम्बन्धित कार्यक्रम एक्सनको प्रस्तोताका रूपमा दर्शकमाझ आएकी थिएँ । स्पेसटाइम नेटवर्क हुँदै मैले च्यानल नेपाल तथा नेपाल टेलिभिजनमा सञ्चारकर्मीका रूपमा काम गरें ।
सरिता र तुलसी घिमिरे
मेरो अभिनय यात्राको टर्निङ प्वाइन्ट टेलिश्रृंखला ‘मुक्ति’ हो । उक्त श्रृंखलामा म छनौट हुनुको मुख्य कारण मेरो नाम नै थियो । मेरो नाम सरिता, उक्त श्रृंखलाको मुख्य पात्रको नाम पनि सरिता । यो कुराले ममा एक प्रकारको आत्मविश्वास पैदा गरेको थियो । मलाई त्यसरी दर्शकमाझ लोकप्रिय बनाउने काम निर्देशक तुलसी घिमिरेले गरिदिनुभएको हो ।
श्रीमान्
अभिनय मैले जीवनमा कहिल्यै नसोचेको कुरा थियो । म नजानिँदो ढंगले अभिनयतर्फ आकर्षित भएकी थिएँ । मलाई यो क्षेत्रमा ल्याउने सम्पूर्ण श्रेय मेरा श्रीमान्लाई जान्छ । कलाकारमा नभै नहुने गुणहरू अनुशासन, अभिनय तथा आत्मविश्वास मैले आफ्नै निर्देशक श्रीमान्बाट पाएकी हुँ ।
घमन्डी
मलाई टाढाबाट देख्नेहरूले घमन्डी भनेको पाउँछु । वास्तवमा ममा रत्तिभर घमन्ड छैन । घमन्डी भन्नेहरू मसँग संगत गर्दै जाँदा म सफा मनकी भएको प्रतिक्रिया दिन्छन् ।
महासचिव
नेपाल चलचित्र कलाकार संघको २७ वर्ष लामो इतिहासमा महासचिवजस्तो जिम्मेवार पदमा पुग्ने म पहिलो महिला कलाकार हुँ । महासचिवको निर्वाचनमा उम्मेदवार भएपछि उक्त पदमा विजयी हुन मैले जम्मा १ हजार २ सय ५० रुपैयाँ खर्च गरें ।
कमलो मन
मेरो मन असाध्यै कमलो छ । मलाई अरूको पीडाले चाँडै छुन्छ । अरूको दु:ख देख्नै सक्दिनँ । सकेसम्म आफैं सहभागी भएर अरूको पीडा तथा दु:ख कम गरौं जस्तो लाग्छ ।
विश्राम
२०५९ सालतिरको कुरा हो, धेरै शुभचिन्तकले मलाई जुन टेलिभिजन हेरे पनि सरिता लामिछाने मात्र देखिन्छे भन्नुहुन्थ्यो । टेलिश्रृंखला, विज्ञापन, स्टेज कार्यक्रम सबैतिर मलाई देखेपछि उहाँहरूले ‘यसरी धेरै काम गर्नु हुँदैन, चार्म घट्छ’ भन्ने सुझाव दिनुभएको थियो । उक्त सुझावपछि मैले केही वर्ष कुनै पनि काम नगरी विश्राम लिएकी थिएँ ।