साप्ताहिक संवाददाता
गायक राजेशपायल राईले गाएका आधुनिक गीतहरुको पछिल्लो एल्बम ‘दर्शन नमस्ते–३’ लाई उनकै बुवा–आमाले काठमाडौंमा लोकार्पण गरेका छन् ।
बिन्दबासिनी म्युजिकले बजार व्यवस्थापन गर्ने यो एल्बमलाई उक्त कम्पनिले १५ लाख रुपैयाँमा सर्वाधिकार खरिद गरेको घोषणा समेत समारोहमै गरिएको छ । समारोहमा बिन्दबासिनीका प्रवन्धक सुवास रेग्मीले गायक राईलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
यसअघि ‘दर्शन नमस्ते’ तथा ‘दर्शन नमस्ते–१’ का गीतहरु अत्यन्त लोकप्रिय भएका थिए । ‘दर्शन नमस्ते–३’ गायक राईको स्वरका ९ गीत सुन्न सकिन्छ । ती गीतहरुमा महेश खड्का, हरि लम्साल, सन्तोषराज, विनोद खम्बु, राई नविन तथा ईन्दिरा जोशीको संगीत सुन्न सकिन्छ । महेश खड्का, रत्नशमशेर थापा, डा. नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई तथा केदार सुनुवारले एल्बममा गीतहरु रचना गरेका हुन् ।
समारोहमा राजेशपायलले विमोचित एल्बमका तीन गीत गाएका थिए । उनले हास्य अभिनेता विल्सन विक्रम राईको निर्देशनमा एल्बमको शीर्षक गीतको म्युजिक भिडियो निर्माण हुने जानकारी गराए । समारोहमा एल्बममा आवद्ध स्रष्टा तथा विभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।