साप्ताहिक संवाददाता
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले तयार पारेको नेपाली चलचित्र ‘सफर’ प्रदर्शन गर्न निर्देशक आशीष श्रेष्ठ स्वदेश आएका छन् । असोज १४ गते प्रदर्शनमा आउने यो चलचित्रमा सञ्जय गुप्ता, मनन सापकोटा, शिविर पोखरेल, नुरजा श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । केही अघि प्रोमो तथा पोष्टर सार्वजनिक गर्दै प्रचार–प्रसारमा उत्रिएको सफरले यो साता धर्मेन्द्र सेवानको स्वरको शीर्षक गीतको भिडियो पनि दर्शकमाझ ल्याएको छ ।
तिहारपछि 'पलाँस'
रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाँस’ तिहारपछि अर्थात् कात्तिक २६ गते प्रदर्शनमा आउने भएको छ । कृषा चौंलागाईंको यो चलचित्रको निर्देशन सुवास कोइरालाले गरेका हुन् जसमा अयुव केसी तथा कामेश्वर चौरसियाको पनि महत्वपूर्ण भूमिका छ ।
पछि हटे दुई चलचित्र
‘छक्का पञ्जा’ को व्यवसायिक सफलतासँगै दसैंमा प्रदर्शनमा आउन तयार दुई चलचित्र ‘२१ वर्ष’ तथा ‘किङ’ ले आफ्नो प्रदर्शन मिति परिर्वतन गरेका छन् । असोज २१ गते प्रदर्शन हुने भनिएका यी दुई चलचित्रमध्ये जनक खड्काको निर्देशनको चलचित्र ‘२१ वर्ष’ कात्तिक ५ गते प्रदर्शनमा आउनेछ भने सबिर श्रेष्ठद्वारा निर्देशित ‘किङ’ले प्रदर्शनको नयाँ मिति तोकेको छैन ।
तेस्रो सातामा प्रवेश
दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा’ व्यवसायिक सफलता हासिल गर्दै आज शुक्रबार प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ । भदौ २४ गते प्रदर्शन प्रारम्भ भएको यो चलचित्र मल्टिपेल्क्सदेखि सिङ्गल थिएटरसम्म हाउसफूलका साथ प्रदर्शन भैरहेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताएका छन्
जम्दैछ जोडी
वास्तविक जीवनमा प्रेमि–प्रेमिका रहिसकेका अनुपविक्रम शाही तथा मलिना जोशी चलचित्र ‘रानी’ मार्फत जोडीकै रुपमा दर्शकमाझ आउने छन् । दयाराम दाहालले निर्देशन गर्ने यो चलचित्रमा मनिष श्रेष्ठ, सौरक ताम्राकार आदिले पनि अभिनय गर्नेछन् । अर्जुन पोखरेलको संगीत रहने चलचित्र रानीको छायांकन काठमाडौं तथा जोमसोममा हुने बताइन्छ ।