रंगकर्मी जोडी सुनिल पोखरेल र निशा शर्मा नाटक यात्रामा अमेरिका आईपुगेका छन् । अमेरिकाको दक्षिण राज्य टेक्सासबाट उनिहरुले नाट्य यात्रा थालनि गर्ने भएका छन् । टेक्सासको डालसको अर्भिङ आर्ट सेन्टरबाट उनिहरुले झन्डै दुई महिनाको नाट्य यात्रा थाल्ने छन् ।
याज्ञसेनी र यात्रा नामका दुई सोलो नाटकमा निशा र सुनिलले अभिनय गर्नेछन् । याज्ञसेनीमा निशाले दोप्रदीको कथामा र यात्रामा सुनिलले आफ्नो जीवन यात्राको विषयलाई नाटकमा उतार्नेछन् । दुई घण्टा चल्ने नाटकमा निशांसले पनि साथ दिनेछन् । निशांसले यात्रा नाटकको पहिलो पटक निर्देशन गर्दैछन् ।
युरोपमा झन्डै एक महिनाको नाटक यात्रा गरेका यी जोडीको यसपटक दुई महिनाको लामो यात्रा हुनेछ । यो अहिलेसम्मकै विदेशको लामो नाटक यात्रा हो निशा शर्माले भनिन्– ‘हाम्रो लागी एकल नाटक देखाउने यो नयाँ अनुभव पनि हो ।’ उनले उडिसा भाषामा लेखिएको लोकप्रिय उपन्यासमा आधारित याज्ञसेनीमा अभिनय गर्ने बताइन् । झन्डै एक घन्टा उनले आफ्नो एकल प्रस्तुती दिनेछिन् भने सुनिले पनि एक घन्टामा आफनो प्रस्तुतीमा गीत गजल कविताको प्रयोग गर्ने छन् । उक्त नाटक टेक्सासपछि एटलान्टा, बोष्टन, न्युयोर्क लगायत दर्जनौ राज्यमा मञ्चन हुनेछ । अमेरिकाको यति लामो नाटक यात्रा हुन लागेको यो पहिलो पटक भएको आयोजकले बताएको छ ।