साप्ताहिक संवाददाता
आधा दर्जन गुरुङ म्युजिक भिडियोमा कोरियोग्राफी तथा दुईवटा चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेपछि पोखराकी रसिला गुरुङ अब नेपाली चलचित्रमा नायिका तथा कोरियोग्राफरका रूपमा काम गर्ने तरखरमा छिन् । १३ वर्षकै उमेरमा एउटा मैथिली गीतको म्युजिक भिडियोमा अभिनय गरेकी रसिलाले भारतको देहरादूनस्थित कत्थक डान्स ट्ेरनिङ सेन्टरबाट नृत्यको प्रशिक्षण लिएकी हुन् ।
कास्की जूनतारासहित पोखरामा आयोजित एक दर्जनभन्दा बढी नृत्य प्रतियोगितामा विजयी भएपछि उनी अभिनय तथा कोरियोग्राफीमा होमिएकी हुन् । सन् २०१४ को मिस गुरुङ इन्टरनेसनलकी उपविजेता रसिलाले नायिकाको भूमिका निर्वाह गरेका गुरुङ चलचित्र स्वदेशमात्र होइन हङकङदेखि बेलायतसम्म मन पराइएका छन् ।
प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘तिमी नभए’ को शीर्षक गीतको कोरियोग्राफीपछि उनलाई नेपाली चलचित्रबाट कोरियोग्राफीका लागि निम्तो आउन थालेको छ । प्राय: सबै विधाका नृत्यमा पोख्त रसिला आगामी दिनमा अभिनयमा जम्ने हुन् कि कोरियोग्राफीमा, हेर्न बाँकी नै छ ।