साप्ताहिक संवाददाता
असोज लाग्नेबित्तिकै मलाई दसैं आएजस्तो लाग्छ । हरेक वर्षको असोज ३ गते मेरो जन्मदिन पर्ने भएकाले होला, बर्थ डे मनाउने बेलाको मौसम पनि दसैंकै झैं लाग्छ । बिहान–बेलुका चिसो–चिसो हुने, दिउँसोको घाम प्यारो लाग्ने भएकाले होला, दसैं आफैंमा एउटा रमाइलो चाड हुन्छ ।
दसैं भन्नेबित्तिकै किनमेल गर्ने कुरा पहिलो प्राथमिकतामा पर्छ । हुन त बाल्यकालमा जस्तो दसैंको रौनक आज नहोला, तर पनि दसैंमा किनमेल गर्नुपर्छ भन्ने हाम्रो मानसिकता नै बनिसकेको छ । बाल्यकालमा त मलाई बुवासहित चार जना ठूलो बुवा–काकाहरूले एक–एकवटा कुरा किनिदिनुहुन्थ्यो । कसैले पाइन्ट, कसैले टिसर्ट, कसैले फ्रक अनि कसैले जुत्ता । आहा... दसैंमा मसँग कति धेरै लुगा हुन्थ्यो, ती लुगा झन्डै वर्षभरि नै लगाउन मिल्थ्यो ।
अभिनय क्षेत्रमा आएपछि हामी कलाकारका लागि लुगा किन्न दसैं नै कुर्नुपर्ने बाध्यता हट्यो । छायांकनका लागि जति नै लुगा भए पनि नपुग्ने भएपछि वर्षभरि नै लुगा किन्ने क्रम चलि नै रहन्छ । अझ अहिले त अनलाइन सपिङ गर्दा आफ्नो रोजाइको पहिरन घरमै आउने भएकाले दसैंको भीडभाडमा गएर किनमेल गर्ने झन्झट पनि हटेको छ । यसो भन्दैमा दसैंमा केही पनि नकिन्ने भन्नेचाहिं हुँदैन । दसैंमा बजारको वातावरण नै बेग्लै हुन्छ । बजार गएर दुई–चारवटा सामान नकिनेसम्म दसैं नै आएको होइन कि जस्तो लाग्छ ।
पछिल्ला केही वर्षयता मैले दसैंमा किन्ने सामग्री तथा पहिरनको स्वरूप परिवर्तन भएको छ । अचेल दसैंको किनमेल म आफैं गर्न थालेकी छु । पछिल्ला केही वर्षयता मैले दसैंमा कुर्ता–सलवार तथा लेहेंगा किन्दै आएकी छु । यसपटकको दसैंका लागि मैले नयाँ दिल्लीमा किनमेल गरेकी छु । सांस्कृतिक कार्यक्रमका क्रममा दिल्ली पुगेका बेला दसैंको किनमेल उतै गर्ने मौका मिल्यो ।
यसपटकको दसैंका लागि पनि मैले कुर्ता–सलवार तथा लेहेंगाहरू नै किनेकी छु । यसपटक मैले आमा तथा दिदीहरूका लागि पनि विभिन्न पहिरन किनेकी छु । आमाका लागि उहाँलाई मन पर्ने रंगको सारी किनिदिएकी छु । दिदीहरू नेपालबाहिर हुनुहुन्छ, उहाँहरूका लागि पनि उमेरअनुसार परम्परागत पहिरन किनिदिएकी छु ।