साप्ताहिक संवाददाता
यस वर्ष मदन पुरस्कारबाट सम्मानित लेखक रामलाल जोशी तथा जगदम्बा पुरस्कारबाट सम्मानित लीलबहादुर क्षेत्रीलाई आज औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको छ । पाटन ढोकास्थित रातो बंगला स्कुलमा आयोजित कार्यक्रममा आइतबार अपरान्ह लेखकद्वय जोशी र क्षेत्रीलाई सम्मान गरिएको हो । दुबै पुरस्कारको राशी नगद दुई लाख रुपैंयाँ रहेको छ ।
औपचारिक कार्यक्रममा जगदम्बा पुरस्कारबाट सम्मानित लेखक क्षेत्रीले मदन पुरस्कार विजेता जोशीलाई खादा ओढाएका थिए । यससंगै कमलमणि दिक्षित, प्रकाश सायमी लगायतलाई खादा ओढाएका थिए । कथा संग्रह ‘ऐना’ लेखेबापत पेशाले शिक्षक जोशी यस वर्षको मदन पुरस्कारका लागी छनौट भएका हुन् । ‘साहित्यमा लाग्न अझ आफूलाई प्रेरणा र उत्साह मिलेको छ ।’ मदन पुरस्कार विजेता जोशीले भने, ‘सुदूरपश्चिमको अबस्था चित्रण गर्न मलाई अझ बल पुगेको छ ।’
सन् १९३२ मा असम, गुवाहाटीमा जन्मिएका क्षेत्री ६० वर्ष भन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित छन् । उनले लेखेको उपन्यास बसाँइ चर्चित छ । जगदम्बा श्री पुरस्कार पाएका क्षेत्रीले आफूले पाएको मध्ये एकलाख रुपैंया भूकम्प पीडितको लागि सहयोग गर्नुभएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै क्षेत्रीले आफूले पाएको पुरस्कार पूर्वोत्तर भारतमा बस्ने समग्र गोरखालीहरुको सम्मान भएको बताए ।