साप्ताहिक संवाददाता
चलचित्र ‘अलबिदा’ निर्माण गरेर नायकका रूपमा डेब्यु गरेका हसन खानले चलचित्र ‘रोमियो’ बनाउने घोषणा गरेको धेरै भैसकेको छ । उक्त चलचित्र निर्देशक नारायण पुरीले निर्देशन गर्ने र यही दसैंअगावै छायांकन थाल्ने तयारी थियो ।
अनायसै निर्देशक पुरी ग्रिनकार्ड लिएर परिवारसहित अमेरिका उडेपछि जिल्ल परेका हसन खानले एक नयाँ निर्देशकलाई ‘रोमियो’को निर्देशनको अभिभारा सुम्पिएका छन् । दसैंलगत्तै छायांकन गर्न लागेका हसन फेरी एकपटक छक्क परेका छन् । ‘रेशम फिलिली’का निर्माता तथा नायक विनय श्रेष्ठले नायिका सृष्टि श्रेष्ठका साथ चलचित्र ‘रोमियो एन्ड मुना’को घोषणा गरेका छन् ।
चलचित्र विकास बोर्डमा दर्ता भैसकेको आफ्नो चलचित्रको शीर्षकसँग मिल्दो शीर्षकमा विनयले चलचित्र बनाउने भएपछि हसनले बोर्डमा यस विषयमा जानकारी दिए पनि विनय पनि पछि हट्ने पक्षमा देखिँदैनन् । हेरौं, अब यी दुई रोमियोको शिर्षक लडाइँले कस्तो रूप लिने हो ?