भर्खरै नेपाल भित्रिएका स्मार्टफोनदेखि सस्ता फोनसम्मले धेरै ग्राहकको ध्यान खिचेका छन् । अहिले हुवावे तथा जियोनीका नयाँ सेटहरूमा धेरैको आकर्षण देखिन्छ । यसपटक विशेष गरी हुवावे, जियोनी तथा सामसुङका मोबाइल खरिद गर्न ग्राहकहरूको भीड देखिएको विक्रेताहरू बताउँछन् । त्यसैगरी नितान्त नयाँ ब्रान्ड शाओभी तथा ओप्पोमा पनि धेरैको चासो छ ।
अहिले हुवावेको जीआर–५ का साथै मिनी स्मार्टफोन, जियोनीको सेल्फी स्मार्टफोन एस–६ एस एवं पी–५ मिनी फोनमा ग्राहकको आकर्षण बढी देखिएको दाबी गरिन्छ । त्यस्तै लाभाको ८७० तथा ८२० स्मार्टफोन पनि धेरै बिक्री भएका सेट हुन् । कलर्सको पी–५ तथा सामसुङ जे–२ (६ संस्करण) पनि बढी बिक्री हुने फोनमा दरिएका छन् । लाभाका प्रमोटर विशाल खड्का विगतको तुलनामा यस वर्ष लाभाको व्यापार राम्रो भएको बताउँछन् ।
हुवावे जीआर–५
१३ मेगापिक्सेलको रियर क्यामेरा भएको यो स्मार्टफोनमा सेल्फीका लागि पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । २ जिबीको र्याम तथा १६ जिबीको इन्टरनल स्टोरेज भएको यो सेटमा फोटो, डकुमेन्ट तथा भिडियो सेभ गर्न सकिन्छ । ५ दशमलव ५ इन्चको एचडी एलसिडी आइपिएस डिस्प्ले युक्त यो सेटको बजार मूल्य २४ हजार ४ सय ९९ रुपैयाँ छ । यसमा ३००० एमएएचको ब्याट्री छ । १६ हजार ९ सय ९९ रुपैयाँको हुवावे जी प्ले मिनी पनि धेरैको रोजाइमा पर्ने सेट हो ।
जियोनी एस सिक्स एस
भर्खरै मात्र नेपाल भित्रिएको जियोनी एस सिक्स एसमा १३ मेगापिक्सेलको सोनी आईएमएक्स २५८ रियर क्यामेरा छ भने फ्रन्ट एलईडी फ्ल्यास तथा स्क्रिन फ्ल्याससहितको फ्रन्ट क्यामेरा छ । यसमा १ दशमलव ३ गिगाहर्जको प्रोसेसर छ । यो फोनमा ३ जीबी र्याम तथा ३२ जीबी इन्टरनल स्टोरेज छ । डुअल सिमयुक्त यो सेटमा ३१५० एमएएचको ब्याट्री छ । मोका गोल्ड तथा लाट्टे गोल्ड गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ पर्छ । त्यस्तै ७ हजार ९ सय ९९ पर्ने जियोनी पी–५ मिनी स्मार्ट फोन पनि धेरैको रोजाइमा पर्दै आएको छ ।
सामसुङ ग्यालेक्सी जे–२
नयाँ संस्करणका रूपमा नेपाल आएको सामसुङ ग्यालेक्सी जे–२ स्मार्टफोनमा क्युएचडी सुपर एमोलेड स्क्रिन, १ दशमलव ३ जिएचजेड क्वाडकोर प्रोसेसर, अल्ट्रा डाटा सेभिङ मोडजस्ता सुविधाहरू छन् । ब्लुटुथ, वाइफाई, जिपिएस, जिपिआरएसरएज, माइक्रो युएसबी पोर्ट आदियुक्त यो फोन आकर्षक देखिन्छ । यसमा ४ दशमलव ७ इन्चको स्क्रिन, सुपर एमोलेड डिस्प्ले, पछाडि ५ मेगापिक्सेल तथा अगाडि २ मेगापिक्सेल क्यामेरा छ । यो फोनमा सेल्फी फिचर एवं भिडियो कलिङको सुविधा पनि छ । यसमा १ जिबी र्याम, ८ जिबी इन्टरनल मेमोरी छ भने यसको मूल्य १५ हजार ९ सय रुपैयाँ पर्छ ।
लाभा आइरिस–५०५ सी
लाभा कम्पनीले उत्पादन गरेको सबैभन्दा सस्तो यो सेटको मूल्य ५ हजार ४ सय ५० रुपैयाँ छ । विभिन्न भर्सनमा उपलब्ध यो सेटमा दुईवटा सिम लाग्छ । फाइब मेगाफिक्सलको क्यामेरायुक्त यो फोनमा २००० एमएएचको ब्याट्री क्षमता छ । ५ सय १२ एमबीको र्याम भएको यो फोनमा ४ जिबीको इन्टरनल मेमोरी छ ।
माइक्रोसफ्ट लूमिया ५५०
विन्डोजमा आधारित माइक्रोसफ्टको यो स्मार्टफोन सन् २०१५ मा सार्वजनिक भएको हो । यसमा ४ दशमलव ७ इन्चको एचडी डिस्प्ले, १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज छ । ५ मेगापिक्सेलको रियर क्यामेरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो फोन विन्डोज–१० मा आधारित फोन मन पराउनेहरूमाझ हट केक मानिन्छ । यो स्मार्टफोन ११ हजार ५ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
जेडटिई एस–७
इभोलुसन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनका रूपमा ‘जेडटिई ब्लेड एस–७’ बजारमा उपलब्ध गराएको छ । थोरै रकममा आकर्षक फिचरहरूले सजिएको ब्लेड एस–७ मा ५ इन्चको फूल एचडी डिस्प्ले (१०८०×१९२० पिक्सेल रेजोलुसन) छ । यो फोनको अगाडि र पछाडि दुवै भागमा कोर्निङ गोरिल्लाग्लास–३ को सुरक्षा छ जुन ब्लेड एस ७ को सबल पक्ष हो । ब्लेड एस–७ को अगाडि र पछाडि दुवैपट्टि १३/१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको छ । क्यामेराका अन्य फिचरहरूमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर तथा पानोरोमा छन् ।
लेनोभो ए३१९
लेनोभोको ए–३१९ स्मार्टफोन फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुन चाहनेहरूलाई ध्यानमा राखेर ल्याइएको हो । यो स्मार्टफोनमा ४ इन्चको डिस्प्ले छ भने ५१२ र्याम तथा ४ जीबीको स्टोरेज छ । ५ मेगापिक्सेलको रियर क्यामेरा तथा २ मेगापिक्सेलको सेल्फी क्यामेरासहितको यो फोनको ब्याट्री क्षमता १५०० एमएएच छ । वाईफाई, ब्लुटुथ, एफएम रेडियोजस्ता विशेषतासहितको यो फोनको मूल्य ६ हजार ७ सय ५० रुपैयाँ छ ।
ओबीआई एसएफ वान
अमेरिकाको सन् फ्रान्सिस्कोमा डिजाइन गरिएको ओबीआई कम्पनी एप्पलका पूर्वकार्यकारीले स्थापना गरेका हुन् । नेपालमा उपलब्ध ओबीआई एसएफ वानलाई छोटो समयमै यसको फरक डिजाइन र लुक्सले लोकप्रिय बनाएको छ । यसमा ५ इन्चको एचडी डिस्प्ले छ भने २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज छ । १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरासहितको यो फोन एन्ड्रोइडको ललीपप ५.० भर्सनमा सञ्चालन हुन्छ । ३,००० एमएएचको ब्याट्री क्षमतासहितको यो फोनको मूल्य २१ हजार ४ सय ९९ रुपैयाँ छ ।