बुलेट राइडरको एउटा समूह सोलुखुम्बुको फाप्लुसम्म पुगेर फर्किएको छ । सगरमाथा क्षेत्रअन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह काठमाडौंबाट प्रस्थान गरेको थियो । २३ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुगेको थियो ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजित उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दूरी पार गरेको थियो । बुलेट राइडरहरू सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किएका थिए । पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
आकर्षक स्टन्ट शो
मोटरसाइकल चलाउनु मात्र कला होइन, मोटरसाइकलमार्फत धेरै डरलाग्दा कला पनि प्रस्तुत गर्न सकिन्छ । यही कला गत शनिबार राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउन्डमा देखियो । राइडर्स युनिफाइडका राइडरहरूले भारतीय स्टन्ट राइडर क्रिस एन्जेलका साथ रोमाञ्चक प्रस्तुति दिएको उक्त स्टन्ट सोको प्रमुख प्रायोजकमा टीभीएस मोटरसाइकल थियो ।