आफूले आफैंलाई हेर्दा स्मार्ट देखिनुपर्छ, अरूले स्मार्ट देखियो भनेर स्मार्ट हुने होइन ।’ मेघा बैंकमा सिइओ अनिल केशरी शाहले उनको ‘सुकिलोपन’का बारेमा बताउन आग्रह गर्दा भने ‘मैले आफ्नो उमेर, स्थान तथा परिस्थिति विचार गरेर जे लगाउँछु, त्यो नै फेसन हो ।’ अनिल केशरी शाह पहिलेदेखि नै सुकिला देखिने व्यक्तित्वमा पर्छन् । अनिल केशरी शाहजस्ता अरू पनि छन्, जसलाई समाजले ‘सुकिला–मुकिला’को संज्ञा दिएको छ । सफा र चिटिक्क परेर हिँड्ने ती व्यक्तिहरूलाई समाजमा ‘आइकन’ पनि मानिएको छ ।
केही समयअघि ‘सुकिला–मुकिला’हरूलाई व्यंग्य गरेर केही राजनैतिककर्मीले अलग ग्रहका प्राणीजस्तो देखाउने प्रयत्न पनि गरे । वास्तवमा राजनीतिमा लागेर पदमा आसिन भए पनि चप्पल लगाएर जनतामाझ पुगेका तिनै नेता पनि केही समयपछि नै ‘सुकिला–मुकिला’ हुन्छन् । सुकिलो वा ‘टिप एन्ड टप’ हुनु भनेको समाजलाई देखाउनभन्दा पनि आफूलाई स्वस्थ एवं सफा राख्नका लागि हो भनेर बुझ्न जरुरी छ । मैलो वा फोहोरी देखिँदा पक्कै पनि कसैले मन पराउँदैनन् ।
चिटिक्क परेका नयाँ पहिरन, टलक्क टल्किएको जुत्ता, हरर बास्ना आउने अत्तर, आँखामा ब्रान्डेड गगल्स, व्यक्तित्वलाई मिलाएर काटिएको केश अनि महिलाको हकमा हल्का मेकअपले फरक एवं सफा देखिन्छ भने सफा देखिनुपर्छ भन्ने राय हालै ब्राजिलको रियोमा सम्पन्न ओलम्पिकमा रेफ्रीका रूपमा सहभागी दीपक थापाको छ । थापा भन्छन्– ‘सफा र चिटिक्क भएर घरबाट निस्कँदाको आत्मविश्वास नै बेग्लै हुन्छ ।
नेपाली समाजमा यस्ता ‘सुकिला–मुकिला’ व्यक्तित्व प्रशस्तै छन् । विशेष गरी चलचित्रका कलाकार, राजनैतिकर्मी, व्यवसायी, उद्योगपति, फेसनकर्मी, मोडल, संगीतकर्मी आदिले आफूलाई ‘सुकिला–मुकिला’ रूपमै प्रस्तुत गरेका हुन्छन् । छवि जस्तोसुकै धमिलो भए पनि देशको नेतृत्व सम्हालेर बसेका विभिन्न पार्टीका नेताहरूले आफूलाई ‘सुकिला–मुकिला’ रूपमै देखाइरहेका छन् ।
नेताहरूमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवादेखि पछिल्लो पुस्ताका योगेश भट्टराई, गगन थापाहरूसम्मले आफूलाई सकेजति ‘सुकिला–मुकिला’ देखाउन पछि परेका छैनन् । विशेष गरी सांसद, मन्त्री वा पार्टीको उच्चपदमा आसीन भैसकेपछि सामान्य ढंगबाट राजनैतिक यात्रा गरेका नेताहरू अनायसै ‘सुकिला–मुकिला’ देखिन थाल्छन् ।
उनीहरूले आफूलाई टिपटप देखाउन सम्बन्धित विशेषज्ञहरूसँग पनि सल्लाह लिएको पाइन्छ । पुरुषहरूमा हरेक दिन क्लिन सेभ, मिलाएर काटिएको केश, सुहाउने रंग एवं स्टाइलको पहिरन तथा जुत्ता, चस्मा वा गगल्स वा थप केही स्टाइलले उनीहरूलाई अलग र व्यक्तित्वशाली देखाइरहेको हुन्छ ।
‘सुकिला–मुकिला’को नाम आउनेबित्तिकै तीन दशकदेखि नेपाली चलचित्रमा छाइरहेका नायक भुवन केसीको नाम आउँछ । भुवन केसीलाई ‘स्टाइल आइकन’ भन्दा पनि फरक पर्दैन । ‘चलचित्रको नायक भएपछि आफूलाई मेन्टेन गर्नै पर्यो ।’ भुवनले आफू सुकिलो देखिनुको एउटा महत्वपूर्ण कारण बताए । उनले धेरै अघि मुम्बई जाँदाको सम्झना सुनाए– ‘म सानैदेखि सफा–चिटिक्क भएर हिंड्न रुचाउँथें ।
नेपाली चलचित्रमा नायक भएपछि मुम्बई जाने–आउने हुन थाल्यो । कामका सिलसिलमा भेटिएका बलिउड नायक सञ्जय दत्तले मेरो स्टाइलबाट प्रभावित भएर नेपालमा पाइने त्यही स्टाइलका पहिरन पठाइदिन आग्रह गरेको म अहिले पनि सम्झन्छु ।’
महिलाहरूमा पछिल्लो समयमा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) को सिइओ भएपछि भावना घिमिरे ‘स्टाइल आइकन’का रूपमा सबैको नजरमा परिन् । हाल क्यानकी पूर्वसिइओ भए पनि उनलाई ‘सुकिलो’ शैलीकै कारण मानिसहरूले बिर्सिएका छैनन् । सुहाउँदो तरिकाबाट टिपटप हुँदा मानिसहरूको नजरमा सहजै परिन्छ भन्ने कुराको उदाहरण हुन्— भावना घिमिरे । भावना टिपटप देखिनु आफ्नो बानी भएको बताउँछिन् । बैकर्स रविना देशराजलाई उनको ‘टिप एन्ड टप’ शैलीले पनि अलग पहिचान दिएको छ ।
नायकका रूपमा भर्खरै चलचित्रमा पदार्पण गरेका दुई छोराकी आमा भएर पनि आफूलाई ‘मेन्टेन’ गरिराख्नु रविनाको विशेषता नै हो । भनाइ पनि छ, बैंकमा काम गर्ने बैंकर्स सबैले ‘सुकिला–मुकिला’ लुगा लगाउनु पर्छ, तर सबै रविना जस्तो हुँदैनन् । ‘किन देखिनुहुन्छ टिप एन्ड टप ?’ उनको जवाफ थियो– ‘म आफूलाई माया गर्छु, त्यसैले ।’ उनको भनाइमा स्मार्ट देखिन पहिरन मात्र चिटिक्क लगाएर हुँदैन, व्यक्तित्वमा ‘सिम्पलीसिटी’ पनि जरुरी छ ।
सन २००० मा मिस नेपालको उपाधि जितेपछि आफूलाई ‘टिप एन्ड टप’ एवं ‘फिट एन्ड फाइन’ देखाउन थालेकी हुन्— उषा खड्गीले । उषा भन्छिन्– ‘फेसन गरेर आफूलाई अप टु डेट राख्ने रहर सानैदेखि हुनुपर्छ । सानोमा वीरगन्ज हुँदा पनि म आफूलाई चाहिने स्टाइलिस पहिरन काठमाडौंदेखि मगाएर लगाउँथें । मिस नेपाल भएपछि त झन् टिप एन्ड टप देखिनैपर्ने भयो । त्यसमा म कन्सियस छु ।’ दुई सन्तानकी आमा उषालाई नेपालकै सुन्दर महिलाहरूको सूचीमा अग्रस्थानमा राखिन्छ ।
टिपटप र महँगी
‘सुकिला–मुकिला’ देखिन गतिला पहिरन लगाउनैपर्यो । त्यस्ता पहिरन तथा सामग्री निकै महँगा हुन्छन् । यतिसम्म महँगा हुन्छन् कि महिनाको ३० हजार तलब बुझ्नेहरूले समेत महँगा पहिरन लगाउने आँट गर्न सक्दैनन् । घर–व्यवहार एवं व्यक्तिगत खर्चबाट जोगाएर पहिरनमा खर्च गर्नुपर्ने बाध्यता अधिकांशमा छ, त्यसैले ब्रान्डेड पहिरन लगाउन १० पटक सोच्नुपर्छ । व्यवसायी गृहेन्द्र घिमिरे भन्छन्– ‘टिपटप देखिन ब्रान्डेड र महँगा पहिरन नै लगाउनुपर्छ भन्ने छैन ।
मूल कुरा आफूले लगाउने पहिरनको क्वालिटीमा ध्यान दिनुपर्छ ।’ गायक रामकृष्ण ढकालका अनुसार– ‘लुगा महँगोभन्दा पनि सुहाउने हुनु महत्वपूर्ण हुन्छ । महँगो भएर पनि सुहाएन भने त्यसको महत्व हुँदैन ।’ नायक भुवन केसी भन्छन्– ‘सुहाउँछ भने महँगो र सस्तोले फरक पर्दैन । सुहाउँदैन भने लाखौं पर्ने पहिरन लगाए पनि राम्रो देखिँदैन । जबरजस्ती महँगो लगाउनु भनेको झूटो सान देखाउनु मात्र हो ।’
अरू पनि छन् सुकिला कान्तिपुर टेलिभिजनका भूषण दाहाल, सुरजसिंह ठकुरी, प्रेसिडेन्ट ट्राभल्सका भोला थापा, चौधरी ग्रुपका निर्वाण चौधरी, आईएमएसका अध्यक्ष दिकेश मल्होत्रा, पपगायक निमा रुम्बा, गोपीकृष्णका उद्धव पौडेल, निर्माता प्रदीपकुमार उदय, गायिका इन्दिरा जोशी, नायिकाहरू करिश्मा मानन्धर, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, नम्रता श्रेष्ठ आदि पनि सुकिला अर्थात् ‘टिप एण्ड टप’का रूपमा कहलिएका छन् ।
ट्रेन्ड सुहाउँछ भने पछ्याउँछु
भुबन केसी, नायक, निर्देशक
टिपटप हुन समय कत्तिको पुग्छ ?
जिन्दगीमा कोही पैसा कमाउन, कोही पावर र नाम कमाउन व्यस्त छन् । जति नै व्यस्त भए पनि सबैलाई टिपटप भएर हिंडन मन लाग्छ । त्यसका लागि समय मात्र निकाल्नुपर्यो । टिपटप देखिन व्यक्तित्वमा ईश्वरीय वरदान पनि आवश्यक छ ।
कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ ?
पटक्कै छैन, मेरा लागि ब्रान्डको लुगा लगाउनुभन्दा सुहाउनु जरुरी छ ।
फेसनसँग अपडेट भैरहनु कत्तिको जरुरी हुन्छ ?
एकदम अपडेट छु । ट्रेन्ड हेर्छु, सुहाउँछ भने पछ्याउँछु ।
स्वदेशी ब्रान्ड पनि प्रयोग गर्नुभएको छ ?
किन नगर्नु ? डोचालाई त स्टाइल बनाए । खद्दर
र ढाकाको पहिरन पनि लगाएको छु ।
फेभरेट ब्राण्ड
घडी : रोलेक्स
पफ्र्युम : युज गर्दिनँ
सुटिङ/सर्टिङ : यही भन्ने छैन
जुत्ता : इटालियन
गगल्स : १२–१५ वटा
आत्मविश्वासले स्मार्ट देखिन्छ
गृहेन्द्र घिमिरे, सिइओ, ग्रीष्मा इन्टरप्राइजेज
प्राय: टिपटप देखिनुहुन्छ, कुनै कारण छ ?
बिजनेस म्यान हुँ । त्यस हिसाबले पनि आफूलाई सधैं तयारी रूपमा राख्नुपर्छ । टिपटप भइयो भने आत्मविश्वास बढेको महसुस हुन्छ ।
कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ ?
कन्सियस त छु, सँगै समय सापेक्ष पनि छु ।
फेसनसँग अपडेट भैरहनु कत्तिको जरुरी हुन्छ ?
फेसन भनेकै जीवनसँग जोडिएको कुरा हो, त्यसैले जरुरी छ ।
के गर्दा सबैभन्दा स्मार्ट देखिन्छ ?
आत्मविश्वासले स्मार्ट देखिन्छ । मलाईचाहिँ आफूले लगाउने ब्रेल्जरले ।
फेभरेट ब्राण्ड
घडी : टिसोट
पफ्र्युम : गुची
ड्रेस : प्राय: सबै
जुत्ता : डबमिलानो इटली, फ्रेड पेरी
गगल्स : ताघु, टमफोर्ड
ठमेलका टिसर्ट पनि लगाएको छु
अनिल शाह, सिइओ, मेगा बैंक
सधैं टिपटप देखिनुहुन्छ, कुनै कारण छ ?
टु फिल गुड, ह्याव टु वि गुड । भित्रबाटै राम्रो देखिनुपर्छ भन्ने भावनाले गर्दा ।
व्यस्तताबीच टिपटप हुन कसरी समय निकाल्नुहुन्छ ?
समय भन्ने चिज आफ्नो वशमा हुनुपर्छ । कुनै विषयलाई समय दिने कुरा आफ्नो प्राथमिकतामा पर्दैन भने समय निकाल्न सकिँदैन । म आफू र आफ्नो व्यक्तित्व राम्रो बनाउन समय दिन्छु ।
कुनै स्टाइलिस वा डिजाइनरसँग कन्सल्ट गर्नुहुन्छ ?
खासै छैन, आफूले आफैसँग कल्सट गर्छु । सुटमा केही समययता आस्तिक शेरचनको डिजाइन लगाइरहेको छु ।
तपाईंले लगाउने पहिरन महँगो नै हुनुपर्छ ?
महँगो हुनु जरुरी छैन । सुहाउने भए ठमेलका टिसर्ट पनि लगाएको छु ।
टिपटप भएर घरबाट निस्कन कति समय लाग्छ ?
जिममै लुगा फेर्छु, जसमा २० मिनेट लाग्ला । बरु अचेल जुँगा पालेको छु, त्यसको मेन्टेनमा पाँच मिनेट थपिन्छ ।
फेभरेट ब्राण्ड
घडी : रोलेक्स (बाजे ससुरा सुवर्णशमशेर जबराको हो ।)
पफ्र्युम : सेरिथ न्युगलरको इन्जल
जुत्ता : बाटा
गगल्स : ट्यागभ्युअर
आम्दानी अनुसारको लगाउनुपर्छ
भावना घिमिरे, पूर्वअध्यक्ष, क्यान
व्यस्तताबीच टिपटप हुन समय पुग्छ ?
प्लान गर्दिनँ । प्राय: एउटै गेटअपमा हुन्छु ।
ब्रान्ड कन्सियस हुनुहुन्छ ?
बाहिर बस्दा थिएँ, यहाँ किन्दा ब्रान्डमा फरक लागेन । त्यसैले यहाँ ब्रान्डमा कन्सियस हुन्न ।
पहिरन महँगो नै हुनुपर्छ ?
आम्दानीअनुसारको लगाउनुपर्छ ।
स्वदेशी ब्रान्ड पनि प्रयोग गर्नुभएको छ ?
गरेकी छु, हस्तकलाको ब्याग, नेपाली बुट्टा भरिएको जुत्ता, ढाकाको सारी आदि प्रयोग गर्छु ।
टिपटप भएर घरबाट निस्कन कति समय लाग्छ ?
१५ मिनेट
फेभरेट ब्राण्ड
घडी : स्वाज
पफ्र्युम : गुची
पहिरन : जारा
जुत्ता : जारा, अल्डो
गगल्स : गुची
रिदम मिल्दा कन्फिडेन्ट बढ्छ
दीपक थापा
ओलम्पिक कोच/इभेन्ट मेनेजर
सधैं टिपटप देखिनुको कुनै कारण छ ?
हस्पिटिलिटी ब्याकग्राउन्डको भएपछि यत्तिको त हुनैपर्यो । म आफूलाई टिपटप भने मान्दिनँ ।
ब्रान्ड कन्सियस हुनुहुन्छ ?
छैन, मन पर्यो भने मात्र किन्छु ।
के गर्दा सबैभन्दा स्मार्ट देखिनुहुन्छ ?
लुगाको रिदम मिल्दा आफूमा कन्फिडेन्ट बढ्छ, अनि स्मार्ट पनि देखिन्छ ।
फेभरेट ब्राण्ड
घडी : टिसोट र स्वाज
पफ्र्युम : बोस
ड्रेस : यही भन्ने छैन
जुत्ता : किकर्स तथा नेपाली ब्रान्डहरू
गगल्स : रेबन
फुटपाथमा पनि किन्छु
रविना देशराज, बैंकर
कुनै स्टाइलिससँग कन्सल्ट गर्नुहुन्छ ?
अहँ, गरिरहेकी छैन । कम्र्फटेबल जे हुन्छ त्यही लगाइन्छ ।
ब्रान्ड कन्सियस नि ?
छु पनि, छैन पनि । ब्रान्डेड चिज मात्र लगाउनुपर्छ भन्ने छैन,
मन परे फुटपाथमा पनि किन्न सक्छु ।
के लगाउने पहिरन वा ग्याजेट महँगो नै हुनुपर्छ ?
महँगोभन्दा पनि क्वालिटी राम्रो हुनुपर्छ । विशेष गरी हेयर तथा स्किन प्रोडक्ट ब्रान्डेड एवं क्वालिटेटिभ हुनुपर्छ ।
टिपटप हुन नभ्याउँदाको कुनै क्षण सम्झनामा छ ?
आशिरमानलाई पाउन जाँदा प्रश्रव पीडामा समेत हात–खुट्टामा नेल पालिस लगाएँ । डाक्टर नै छक्क परेका थिए ।
फेभरेट ब्राण्ड
घडी : रोलेक्स
पफ्र्युम : केनल
पहिरन : जारा
जुत्ता : जारा, एल्डो
गगल्स : प्राय: सबै
गोल्डस्टार जुत्ता मन परेर किने
डा. आयुष्मान घिमिरे, चिकित्सक
यसरी सधैं सुकिलो देखिनु पछाडिको कारण ?
मेरो पेसामा डिसेन्ट र जेन्टलमेन देखिनु जरुरी हुन्छ, त्यसैले ।
व्यस्त जीवनमा जेन्टलम्यान बन्न समय निस्कन्छ त ?
मार्क जुकरबर्ग र स्टिभ जब्सले जस्तो समय जोगाउनुपर्ने पनि त छैन मलाई । साधारण छु, ३० मिनेटमा तयार भैसक्छु ।
पहिरन महँगो वा सस्तो, कस्तो रोज्नुहुन्छ ?
महँगोभन्दा पनि सफा र चिटिक्क पारेर लगाउन रुचाउँछु ।
स्वदेशी ब्रान्ड पनि प्रयोग गर्नुहुन्छ ?
मन परेको खण्डमा गरिन्छ । केही दिनअघि अनलाइनबाट गोल्डस्टारको जुत्ता मनपरेर किने ।
फेभरेट ब्राण्ड
घडी : राडो जुबली कलेक्सन
पफ्र्युम : हुगो र बोस
ड्रेस : मार्क स्पेन्सर
जुत्ता : रोस्सो ब्रुनेला
गगल्स : अर्मानी
लोडसेडिङ फेसन गर्न बाध्य
रामकृष्ण ढकाल, गायक
कुनै स्टाइलिस वा डिजाइनरसँग कन्सल्ट गरिरहनुभएको छ ?
कोही छैन । म अनलाइनबाट फेसन ट्रेन्ड हेर्छु र सुहाउने रहेछ भने पछ्याउँछु ।
कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ ?
विदेश घुम्न थालेपछि ब्रान्ड कन्सियस हुन थालिएको छ, तर निकै कम । विशेष गरी घडीचाहिँ ब्रान्डेड नै लगाउँछु ।
स्वदेशी पहिरन प्रयोग गर्नुभएको छ ?
जुत्ता, टिसर्ट आदि कहिलेकाहिँ मन पर्दा किन्छु ।
टिपटप हुन नभ्याउँदाको क्षण ?
खासै सम्झना छैन, भैरहेको हुन्छ । यद्यपि बत्ती नभएको बेला हामी लोडसेडिङ फेसन (आइरन नगरिएको पहिरन) गर्न बाध्य छौं ।
फेभरेट ब्राण्ड
घडी : फोसेल्स, एमके र राडो
पफ्र्युम : हेगो, जुप र सिके
ड्रेस : ग्याप, एचएनएम र सिके
जुत्ता : कन्भर्स र बेन्टली
गगल्स : रेबन
कन्फिडेन्ट हुनुपर्छ
उषा खड्गी, मिस नेपाल–२०००
टिपटप हुन समय पुग्छ त ?
यो पार्ट अफ रेगुलर सेडुअल भैसक्यो । भोलिपल्ट लगाउने पहिरन अघिल्लो रात नै तयार पार्छु ।
डिजाइनरसँग कन्सल्ट गर्नुहुन्छ ?
विश्व गौतम, शुभेच्छा भँडेल र मनिष शाहीको डिजाइन लगाउँछु ।
अनि तपाईंको त आफ्नै बुटिक छ, त्यहाँको लगाउनुहुन्न ?
लगाए पनि नलगाए पनि आफ्नो त आफ्नै भैहाल्यो नि ।
के आफूले लगाउने पहिरन वा ग्याजेट महँगो नै हुनुपर्छ ?
यो इन्कममा भर पर्ने कुरा हो । बिस हजार कमाउनेलाई पाँच हजार पनि महँगो लाग्छ ।
के गर्दा सबैभन्दा स्मार्ट देखिन्छ ?
आउटलुक, इनरलुक दुबै राम्रो भए । कन्फिडेन्ट पनि हुनुपर्यो । कुन समयमा के लगाइएको छ, त्यसले पनि महत्वपूर्ण भूमिका खेल्छ ।
फेभरेट ब्राण्ड
घडी : डिके एन वाइ, फोजल, टिसोट र टमी हाइफायर
पफ्र्युम : लोमानी वुमन र बरबेरी
ड्रेस : जारा
जुत्ता : प्लेटस्, जारा र म्याङ्गोगगल्स : एभिएटर र रेबन