नेपालबाहिर रहनुहुनेहरूले कसरी दसैं मनाउने तयारी गर्दैछन् ? विभिन्न देशमा छरिएर रहेका नेपालीहरूसँगको कुराकानीमा आधारित :
कतारको दसैं
फरक धर्म र आस्था भए पनि विदेशमा बस्ने हामी नेपालीहरू भव्य रूपमा दसैं मनाउँछौ । आफ्नो संस्कृति छाड्न नसकिँदो रहेछ । यहाँ कतारमा हामीसँगै काम गर्ने भारतीय, बंगाली, पाकिस्तानी, इजिप्सीयन, मोरक्कोका साथीहरू भेला भएर दसैं मनाउछौं । कम्पनीले बिदा दिन्छ ।
हामी खीर, ढिंडो, सेलरोटीजस्ता विभिन्न परिकार बनाएर उनीहरूलाई ख्वाउँछौं । नेपालबाटै सुकुटी, अचार, कोदोको पीठो मगाएर बनाउँछौं । साथीभाइहरूसँगको जमघट, नेपाली परिकार चाख्न पाउँदा नेपालमै भएको महसुस हुन्छ । दसैंको बेला आफ्नो कामले यसपालि दुबईतिर जाने योजना छ । तिहार भने कतारमै मनाउने सोचमा छु ।
पीर मोहम्मद, कतार
डेनमार्कको दसैं
डेनमार्क यसपालिको दसैं एकदमै रमाइलो गरेर मनाउँदैछौं । नेपालबाट अभिनाश घिसिङ, कमल खत्री, भरत सिटौलाजस्ता कलाकारहरूलाई निम्ता गरेर सांगीतिक कार्यक्रमको आयोजना गर्दैछौं । डेनमार्कसंगै स्विट्जरल्यान्ड, इटाली, स्पेन, बेल्जियममा पनि कन्सर्ट गर्ने तयारी भैरहेको छ । नेपाली समुदायलाई लक्षित गरेर हामीले सांगितिक कार्यक्रमको आयोजना गर्न लागेका हौं । यस्तो कार्यक्रमले गर्दा नेपालमै भएको भान हुन्छ । यसबाहेक यहाँ रहनु हुने साथीहरू भेट्ने, आमाको हातबाट टीका थाप्ने योजनामा छु ।
माया सापकोटा, डेनमार्क
दक्षिण कोरियाको दसैं
विशेष गरेर यसपालिको दसैं एनआरएन र नेपाली राजदूतावास संयुक्त रूपमा मनाउने तयारी भैरहेको छ । दसैंको टीकाको दिन राजदूताबासमा टीका ग्रहण गर्ने योजना बनेको छ । परदेशको भूमिमा आफ्नो चलनचल्ती रीतिरिवाज जगेर्ना गर्ने परम्परा जोगाइराख्ने उद्देश्यले विदेश भूमिमा यसरी आफ्नो चाड मनाउन पाउनु गौरवको विषय हो । नेपाली मिठो परिकार बनाउने, नाचगान गर्ने, एक–अर्कामा शुभकामना आदान–प्रदान गर्ने सोचमा छु । टीकाको दिनमा आफ्नै घर–परिवार र रेस्टुराँमा काम गर्ने स्टाफहरूसँग मनाउने विचारमा छु । १६ तारेखमा सौलदेखि अलि टाढा नेपालिहरूको संस्थाले बिशेष कार्यक्रम आयोजना गरेको छ । त्यसैको निम्तोमा जान्छु । साथीभाइहरूलाई भेटघाट गरेर शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम छ । यो दसैं हर्षोल्लासका साथ मनाउने विचार छ ।
लक्ष्मी गुरुङ, दक्षिण कोरिया
गाउको याद आउँछ
कतारमा तामझामका साथ दसैं मनाउने तयारी भैसकेको छ । यहाँ मुस्लिम दाजुभाइहरूले पनि दशैं विशेष रूपमा मनाउँछन् । यसमा गर्व लाग्छ । कतिपय विदेशी कम्पनीहरूले दसैंमा बिदा दिन्छन् । कम्पनी मालिकहरूले स्नेहपूर्वक छुट्टी र दसैं पर्वमा खसी किनेर पर्व मनाउन दिने गरेको पनि पाइन्छ । यहाँका विभिन्न सामाजिक संघसंस्था तथा कम्पनीमा कार्यरत नेपालीहरूले क्याम्पहरूमा घटस्थापनाको दिनमा जमरा राख्ने प्रचलन बढ्दो छ ।
थुप्रै नेपालीले कतारमा आफ्नो निवासमा जमरा राख्ने प्रचलन ह्वात्तै बढेको छ । यसपालिको दसैंमा यहाँ रहनुहुने ठूलाबडा र आफन्तजनकहाँ टीका थाप्न जाने, साथै आफूभन्दा सानालाई टीका लगाइदिने, शुभाशीर्वाद दिने योजना छ । चितवनको खासै खुब मिस गर्छु । दसैंअघि नै गाउँमा पिङ हालेको, जौ–तिल, मकैलगायतका अन्न माटोमा मिसाएर राखिएको जमरा सम्भिँmदा गाउँ झल्झली आँखामा नाचिरहन्छ । पुराना सहपाठीहरूसँग दसैंमा भेटघाट गर्न पाइन्थ्यो । प्रवासमा बस्दा बुवा–आमाको हातबाट टीका थाप्न नपाउँदा नमज्जा लाग्छ । छोराछोरी, चेलीबेटीसँग बसेर अक्षता र जमरा लगाइदिन नपाउँदा धेरै नै गाउको याद आउँछ ।
विजयादशमीको दिनमा स्काइप, भाइबरबाट टीका लगाएको देख्दा गाउघर पुग्न पाइदिएजस्तो लाग्छ । प्रवासको दसैंमा विभिन्न धर्म, सम्प्रदायका नेपालीजनहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्ने, सबैलाई बोलाएर भोजभतेर गर्ने पक्ष देख्दा रमाइलो लाग्छ ।
रवि रोशी, कतार
अमेरिकामा दसैंको रौनक छाएको छ । यस्तो चाडका बेला आफन्त र देशको सम्झनाले हामीलाई नरमाइलो लाग्छ । बाल्यकालमा दसैं मनाएको झलझली याद आउँछ । पिङ खेलेको, साथीहरूसँग रमाइलो गर्दै गाउँघर घुमेको र ठूलाबडाहरूबाट टीका लगाउँदै मीठो–मीठो खाएको भुल्नै सकिँदैन । यसपालिको दसैंमा न्युयोर्क पुगेर ठूलो बुबाबाट टीका र आशीर्वाद लिँदैछु । टीकाभन्दा केही दिनअघि अमेरिकामा हुने दसैं तिहारका कार्यक्रमहरूमा ब्यस्त हुन्छु ।
रमेश ‘दियाली’, अमेरिका
सांगीतिक कार्यक्रममा ब्यस्त
यसपालिको दसैंमा अस्ट्रिया र बेल्जियममा सांगीतिक कार्यक्रमको आयोजना हँुदैछ । ती दुवै देशका कार्यक्रममा प्रस्तुति दिनका लागि म सहभागी हँुदैछु । नेपालीहरूमाझ सांगीतिक वातावरणमा रमाउन पाउँदा एकदम रमाइलो लाग्छ । पछिल्ला दिनमा सांगीतिक कार्यक्रमहरूमै मेरो समय बितिरहेको छ । नेपालबाहिर रहेर पनि आफ्नो सोख र रहरको काम गर्न पाउँदा गर्व लाग्छ । जब चाडबाडहरू आउँछन्, त्यो बेला भने आफू जन्मेको ठाउको याद धेरै नै आउँछ । ठूलाबडाबाट आशीर्वाद, थापेको, साथीभाइसँग रमाइलो गरेको, सेल–रोटी खाएको सम्भँmदा नेपाल नै पुग्न मन लाग्छ ।
तुल्सी शिवाकोटी, स्पेन
अस्ट्रियाको दसैं
अस्ट्रियामा धेरैवटा सामाजिक संस्थाहरू भए पनि दसैं भने एउटामात्र संस्थाले सांस्कृतिक कार्यक्रम गरेर मनाउँछ । यस पटक नेपाली सांस्कृतिक तथा सामाजिक संस्था (नेसास) दसैंको कार्यक्रम भियनामा भव्यताका साथ फूलपातीको दिनमा भव्य रूपमा मनाउने भएको छ । करिब ३ सय नेपाली जमघट भएर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम छ । टीकाको दिन आफ्नै घरमा टीका लगाएर मनाइन्छ । यहाँको पुलिसले घरमा जुवा खेल्न गैरकानुनी मान्ने र फेला पारे हदैभन्दा कडा सजाय हुने भएकाले त्यसमा कसैको ध्यान नै जाँदैन । बिदा नहुने भएकाले कतिलाई त दसैं आयो, गयो थाहै हुन्न । टीका लगाएर फेसबुकमा राख्नु नै विशेष भएको छ ।
रविचन्द्र भट्टराई, अस्ट्रिया
साउदी अरबको दसैं
विगतका वर्षहरूमा झैं साउदी अरबको रियादमा रहनुभएका नेपालीहरू मिलेर एक–आपसमा टीका थाप्ने, शुभकामना आदानप्रदान गरेर, खसी काटेर, सांगीतिक कार्यक्रम गरेर मनाउँदैछौं । नाच्दै–रमाउदै, खसीको मासु र चिउरा खाँदै तास खेल्न पाउँदा रमाइलो हुन्छ, तर साउदी अरबको तत्कालीन अवस्था अलि सहज नभएकाले र त्यसमाथि साउदी अरब आफैंमा एक कट्टर मुस्लिम देश भएकाले टीका लगाउन मिल्दैन । दसैंमा घर, परिवारको धेरै याद आउँछ । साथीसंगी, इष्टमित्रहरूको याद आउँछ । पहिले–पहिले दसैंमा गाउघरमा एक महिना पहिले देखी हुने चहलपहल हुन्थ्यो । सबै मिलेर गाउघर सफा गर्ने, रङ्याउने, रमाइला कार्यक्रम गर्ने, पिङ हाल्ने, बिहानै देवीका मन्दिरहरूमा जाने, दसंैको टीकापछि मान्यजनहरूकोमा टीका लगाउन जाँदाका रमाइला पल सबै मिस गरिन्छ ।
लामो समयपछि पारिवारिक जमघट, पुराना साथीभाइहरूसँगको भेट, मीठा–मीठा परिकारहरू बनाएर खाने, विभिन्न कुराको तनावबाट केही दिनका लागि भए पनि छुट्कारा पाउने, एक–आपसमा टीका आशीर्वाद ग्रहण गर्दै, बाटो–बाटोमा पिङ खेल्दै टाढाटाढा मान्यजनहरूकोमा टीका, आशीर्वाद थाप्न जाने पक्षहरू दसंैका रमाइला पक्ष लाग्छन् ।
सुरेशराज त्रिपाठी, रियाद, साउदी अरब
अष्ट्रेलियाको दसैं
दसैका यादहरूमध्ये के–के याद छैन होला र यो मनलाई ? वस, ती यादहरू मस्तिस्कमा छताछुल्ल भएर बसेका छन् । नेपालीहरूको महान् चाडवाडमा आफ्नो प्यारो मातृभूमिबाट कोसौं टाढा हुँदा, आमा–बुवाको न्यानो मायाबाट वञ्चित हुँदा विगतका दसैंको सम्झनामा आखा रसाउनु कुनै अस्वाभाविक कुरा होइन ।
विगत तीन वर्षदेखि म अस्ट्ेरलियाको सिड्नीमा छु । पहिलो दुई वर्षको दशै साह्रै नीरस र खल्लो रह्यो । विद्यार्थीकालमा अध्यनको बोझ र सगरमाथा भन्दा अग्लो फीको भारी बोकी हिँड्नुपर्ने बाध्यता आमनेपाली विद्याथीहरूको समस्या हो । त्यसमा म पनि अछुतो रहिनँ । ती दुई वर्ष दसैंमा विगतकै यादहरूलाई झोला बनाई बोकी हिँडियो । यादहरू, सम्झनाहरू पनि कति प्यारा िकति सजिला, चाहेको बेला सुटुक्क ल्याउन सकिने ।
नेपाल हुँदा सबै आफन्तसँग जन्मघर पाल्पा गएर सबै मान्यजनसँग टीका थाप्दै आशीर्वाद थाप्नुको मज्जा र रोमाञ्चकता न त सिड्नीमा क्रिसमसको बेला स्टार क्यासिनोमा गएर पाइन्छ, न त कुनै सामुद्रिक तटमा । सबैभन्दा मिस हुने कुरा भनेको आमाले बनाउने कर्कलाको अचार, पाल्पाली चुकाउनी र अनरसा रोटी सम्झदा पनि मुखै रसाएर आउछ ।
सबै दाजुभाइ मिलेर वर्षमा एकपल्ट तास खेल्दा हारजित होइन, आत्मीयताको खाल बेसी हुन्थ्यो । वर्षभरि सायदै भेटिने हामी दाजुभाइहरू सबै मिली तासमा भाइचारा र सह्दयताको खाल लगाउँथ्यौं । अहिले त ती सबै सम्झना न भए । रमाइलो र भेट त एकछिनको न हो, बाँकी जीवन त त्यही सम्झनालाई लौरी बनाई जीवनको उकाली–ओराली भन्ज्याङ–चौतारीहरूमा सुसेल्दै हिँड्ने रहेछ ।
यसपालिको दसंैमा पनि घर जाने निकै ठूलो रहर थियो, तर रहर रहरमै सीमित भैदियो । विदेशको ठाउँ अनेकन कुराले थिचिँदो रहेछ । यसपालि जान नपाए पनि अर्को दसैंमा जरुर जानेछु । आफ्नो जन्मदेश हेर्न, त्यहाँको माटो स्पर्श गर्न आमा र बुबाको काखमा फेरि मातृवात्सल्यको याद ताजकी गराउन, विगतका दसंैहरूमा जस्तै यसपालिको दसैंमा पनि योजनाहरूको चाङ नै छ, तर अफिस जानुपर्ने बाध्यता भए पनि यसपालि बिदा मागी दसैं भव्य रूपमा मनाउने सोचमा छु ।
यसपालि घरमै जमरा राख्नेछु । लिङ्गे पिङ खेल्ने रहर त पूरा नहोला तर साथीभाइहरूसँग मिली खसी काट्ने योजना छ । विगतका दसैंको न्यास्रो मेट्ने गरी दसंै मनाउने योजनामा छु । आमाले बनाउने पाल्पाली चुकाउनी आफैं बनाउने छु, सेल–रोटी बनाउन नजाने पनि नजिकैको नेपाली पसलबाट किनेर भए पनि दसैंको दिन ल्याउनेछु । नेपाली रीतिथिति र संस्कृतिको रक्षा गर्नका निम्ति आफ्नो ठाउँबाट सानो प्रयास गर्नेछु ।
नरेन्द्र शाश्वत
सिड्नी अस्ट्रेलिया
कुवेतमा यसपालिको दसैं रमाइलो गरी मनाउने तयारीमा छौं । हामीले यहाँ सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछौं । विविध सांस्कृतिक कार्यक्रमसँगै लिम्बु, गुरुङ, राई, तामाङ, नेवार सबै जातजातिको नाच देखाउने, पञ्चैबाजा बजाउने कार्यक्रम छ ।
डिबी, लोप्चन, कुबेत
यसपालिको दसैंमा नुवाकोट जिल्ला, तुप्चे अक्करेमा रहेका करिब २६ जना दृष्टिविहीन बालबालिकाहरूको आवास पूर्ण निर्माणमा सहयोग गर्ने निर्णय गरेको छु । समाजसेवा गरेर दसैं मनाउने योजना गरियो ।
इन्दिरा क्षेत्री, बहराइन
दसैं शब्द सुन्दै रमाइलो लाग्दो रहेछ । बिदेशी भुमिमा अहिले सम्झनामा तिनै गाउँघरमा हुने कार्यक्रम, स्वदेश तथा बिदेशमा भएकाहरु आउने भएकाले साथी भाइसंगको भेटघाटले निकै याद दिलाइरहन्छ । र, अरु पनि अहिले बिदेशमा भएको ले याद गर्ने मात्रै हो । योजना खासै छैन । सायद टीकाको दिनमा पनि धमाधम काम गरिरहेको हुन्छौं होला ।
राजेश, दक्षिण कोरिया
डेनमार्कको दसैं
यसपालीको दसैं परिवारसंग मनाउँन पाइएन । दु:ख लागिरहेको छ । बुबा, आमा घरमा एक्लै हुनुहुन्छ । उहाँहरुले पनि दु:ख मान्नु भयो होला । यहाँ डेनमार्कमा चिनजानका दिदी, दाई हुनुहुन्छ । उहाँहरुसंगै मनाउने तयारीमा छु । नेपालमा हुँदा धेरै रमाईलो गरिन्थ्यो । दसैंको बेलामा गाउ गएर आफन्तहरु भेटिन्थ्यो । पिङ खेलिन्थ्यो । जुन सबैभन्दा बढी मिस हुन्छ । दसैं हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । हामी जहा रहेपनि हाम्रो संस्कृति भुल्नु हुँदैन ।
अमृत पौडेल, डेनमार्क