पक्का गायक भएपछि दीप श्रेष्ठको खातामा दसैंको रमाइलो जम्मा भएको छैन । दीपका लागि नरमाइलो त हुँदै होइन दसैं । यत्ति हो कि अचेल उनलाई ‘डल’ लाग्छ । बस्यो, मासु खायो । अरू सामाजिक तथा सांस्कृतिक गतिविधि खासै हुँदैन । त्यसैले उनी दसैंमा रमाउन चाहेर पनि रमाउन सक्दैनन् ।
दसैंमा रमाउन नसक्नुका केही व्यक्तिगत कारण पनि छन् । बाल्यकालमा बुवाको निधन भएयता, ‘जान्ने–बुझ्ने’ भएपछि उनले घरमा काटमार गरेका छैनन् । मासु खाने, जाँड खाने, हो–हल्ला गर्ने काटमारकै कुरा गर्ने, उनलाई त्यति रमाइलो लाग्दैन । त्यसमाथि, परिवारका सदस्यहरू पनि सबै एकै ठाउँमा हुँदैनन् । यसले पनि, दसैंलाई अलिकति बेग्लै बनाएको छ दीपका लागि ।
दसैंमा उनी घरमा एक्लै हुन्छन् । केटाकेटीहरू मामाघर लाग्छन् । पत्नी माइती तिर । जान त दीप पनि चाहन्छन् ससुराली । त्यहाँ पक्कै रमाइलो हुन्थ्यो । त्यसमा त शंकै छैन तर, घर छोडेर परिवारका सदस्य सबै एकैसाथ हिँडनु पनि भएन । धोबी खोलाको किनारमा छ घर । घरमा तीन पटक खोलो पसिसक्यो । उनका गीतका सयौं एल्बम डुबानमा परेर सखाप भए । यो पटकको दसैंमा पनि मौसमको कुनै भर छैन । आफू बाहिर गएको बेला घरमा खोलो पस्यो भने ? ‘यो पटक पनि घरभित्र खोला पस्यो भने त सबै डुबानमा पर्ला !’ दीप ठट्टा गर्छन् ।
तिहार हो दीप रमाउने चाड । श्रेष्ठ भन्छन्, ‘परिवारका सबैजनासँगै हुन्छौं । वातावरण पनि सांगीतिक र सांस्कृतिक हुन्छ । तिहारको रमाइलो नै बेग्लै ।’
दसैं र तिहारबाहेक दीप रमाउने खास अवसरहरू छन् । उनलाई कन्सर्टमा रमाइलो लाग्छ । आफ्नै शो गर्दा उनी आनन्दित हुन्छन् । गाउनु उनका लागि एउटा गम्भीर कर्म हो । उनी जब कम्पोज गरिरहेका हुन्छन् त्यतिबेला आनन्दित हुन्छन् । कम्पोज गरेपछि परिवारलाई वरपर राखेर उनी आफ्नो सिर्जना सुनाउँछन् । बडो आनन्द लाग्छ उनलाई जतिबेला परिवारभित्र उनको संगीतको चर्चा हुन्छ ।
दीप भन्छन्– ‘मेरो परिवारले जसरी संगीत बुझेको छ, त्यसरी नै स्रोताले मेरो संगीत बुझ्छ । मेरो संगीतको पहिलो महा–विद्यालय घर नै हो । मेरा परिवार र मेरा स्रोतामा कुनै विशेष अन्तर छैन । मेरा स्रोता मेरा विशाल परिवार हुन् ।’
दीप श्रेष्ठ बेला–बेलामा समाजबाटै गीतको बीउ टिप्छन् । आफ्नो मनलाई छोएका ती दृश्य उनी गीतकार रमन घिमिरे र विप्लव प्रतीकलाई सुनाउँछन् । त्यही दृश्यका आधारमा गीत तयार हुन्छ । दीप त्यसको कम्पोजिसनको परिकल्पना गर्न थाल्छन् ।
चार सयभन्दा बढी गीत गाइसकेका छन् उनले । एक प्रबुद्ध संगीतकार तथा गायकका रूपमा उनको पहिचान बनिसकेको छ । तै पनि, गुणी मानिसहरू सोच्छन, दीप श्रेष्ठले गाएका कालजयी गीतहरूलाई जति मान्यता दिइनुपर्ने हो त्यो दिइएको छैन । यसको कारण पनि स्पष्ट छ । दीपको कमीजमा राजनीतिको कुनै रंग पोतिएको छैन । त्यो नपोतिएसम्म एउटा कलाकारले विशिष्टता पाउनै नसक्ने संस्कार बसालिएको छ देशमा ।
राजनीतिसँग सम्बन्ध छैन भने मानिस जतिसुकै प्रतिभाशाली होस्, त्यसले खासै अर्थ राख्दैन । स्वाभाविक छ दीप श्रेष्ठ राजनीतिको होइन, जीवनको गीत गाउँछन । मानिसको जीवन जो सर्वाधिक महत्वपूर्ण हुन्छ । मानिसको कोमल मनमा जव संगीतले कुतकुती लगाउन थाल्छ त्यसपछि नै त मानिस आनन्द विभोर हुन्छ ।
दीप जतिबेला संगीततर्फ आकर्षित भएका थिए त्यतिबेला उनी नारी स्वरमा गाउँथे । झण्डै १५ वर्षको उमेर पार नगर्दासम्म उनी त्यही अवस्थामा रहे । त्यसपछि मात्र उनको वास्तविक स्वर खुल्यो । समयको त्यो विन्दुदेखि नै उनले निरन्तर गाउँदै आएका छन, ‘म पत्थरको देवता होइन...’ उनको पहिलो गीत नै सदावहार छ । त्यसपछि उनले लगातार गाएका छन् । उनका पपुलर नम्बरहरू कुन–कुन हुन् ? यसको हिसाब–किताब नराखेकै वेश हुन्छ तर कसले बिर्सन सक्छ उनका यी कालजयी गीतहरू ? कि,
बितेका कुराले केही चोट लाग्छ,
गुराँसको फूल सिउरी
साईंलीवरी चियाबारीमा,
भन्थिन मेरी उनी
मेरो पाइला नटेकी दिनु भनेर,
झीरमा उनिनु एउटा कुरा,
पीरमा उनिनु त्यो अर्को कुरा,
हर रात सपनीमा ऐंठन हुन्छ
गाउँमा शायद पहिरो गयो कि ?
यी गीत त्यत्तिकै अनमोल भएका होइनन् ।
नेपालमा संगीतका विभिन्न धारहरूले प्रवेश गरी सकेका छन् । ओपेरा आएको छैन । हाम्रो संगीत अन्तर्राष्ट्रिय स्तरको छ, तर विदेशमा नेपाली संगीतको वाणी खुली सकेको छैन । दीप श्रेष्ठले विप्लव प्रतीकको एउटा गीति कवितालाई लयबद्ध गाएका छन । शब्द र संगीतको तन्मय मिलन छ यसमा – प्रतीक्षाको लामो सुरुङबाट, म आएको छु तिमी कहाँ, भनन्–भनन्, तिमी कसको प्रतीक्षामा ? यो गीत सार्वजनिक भएको छैन तर, नेपाली स्रोताले यसलाई सहज र सरल ढंगले हृदयसात गर्नेमा अविश्वास गर्नुपर्ने कारण छैन ।
संगीतमा दुनियाँले परिवर्तन खोजेको छ । नयाँपन खोजेको छ । जीवनको गति र लय खोजेको छ । त्यसैले प्रयोगहरूलाई रुचाउने मानसिकता बनेको छ नेपाली समाजको ।
जतिबेला दीप श्रेष्ठमा संगीतको कुनै ज्ञान थिएन त्यतिबेला पनि स्रोताहरूले उनका गीत मन पराएका थिए । धरानमा उनले वंगो बजाएर सिकेका हुन गीत गाउन । ‘वंगोले मलाई सुरमा त साथ दिएन, तालमा भने निकै साथ दियो’ उनी सम्झिन्छन् । तिनताका उनले निकै गाए निराशाका गीतहरू । उनको जीवनको जटिल समय थियो त्यो । बुवाको निधनपछि मन दु:खी रहन थाल्यो । उनले पढ्न सकेनन् । एकदिन बाटोमा हिँड्ने क्रममा उनले च्यातिएको कापीको पाना फेला पारे ।
त्यो पाना पट्याइएको थियो र त्यसमा एउटा गीत लेखिएको थियो, ‘दुखेको दिल, टुटेको मन, दुखेर चूरचूर भयो,’ गीतकार थिए मविवि शाह । त्यतिवेला दीप भर्खरै हार्मोनियम बजाउन सिक्दै थिए । २०२३ सालमा एसएलसी परीक्षा दिएर काठमाडौं झरेपछि उनले संगीत महा–विद्यालयमा पढे र संगीत स्नातक भए । स्नातक भएपछि उनलाई थाहा भयो, संगीत यस्तो विधा रहेछ जसलाई बुझेर पनि बुझ्न सकिँदैन । गल्ती भै सकेपछि सच्याएर सच्याउन पनि सकिँदैन । दीप भन्छन्, प्रारम्भिक दिनमा मैले विजय श्रेष्ठ, वसन्त थापा तथा शिव शंकर थापाका गीतबाट आफ्नो यात्रा सुरु गरें । अहिले पनि म गीतकारलाई उत्तिकै सम्मान गर्छु । राजेन्द्र थापा र विप्लव अहिले मलाई मन पर्ने गीतकार हुन् ।
वर्तमान समयमा नेपाली सांगीतिक क्षेत्रले सामना गर्नु परेको जटिलतालाई दीपले राम्रैसँग बुझेका छन् । उनको विचारमा, ‘संगीतमा चाहना र आकांक्षाको लर्को लागेको छ । त्यसअनुरूप साधना र संगतको अभाव छ । समयको मांग बढ्दो छ । गीतमा नयाँपन वा फरकपनको खोजी भैरहेको छ । दुर्भाग्य यति हो, आधुनिक उपकरणहरूले संगीतलाई आधुनिक बनाउन खोज्यो । संगीत भनेको त विचार, स्मृति, अभिव्यक्ति एवं दर्शन हो जसलाई उपकरणले उत्खनन गर्न सक्दैन । आधुनिक गीत गाउन चाहनेले सबैभन्दा पहिले आफ्नो चेतनालाई आधुनिक बनाउनु पर्यो । गीतलाई आधुनिक उपकरणले घन्काएर मात्र कोही आधुनिक हुन सक्दैन । संगीतले गीतको अपमान गरेको अनुभूति हुनु संगीतको हकमा हुँदैन ।’
दीप आफूलाई बुढेसकालले छुन लागेको कुरासँग सहमत छैनन्, ‘ऐना हेर्दा जब घाँटीको चाउरी देखिन्छ, त्यतिबेला लाग्छ उमेर बढेछ । उमेर बढ्दैमा कोही बुढो हुँदैन ।’ जवानीका दिनमा उनी विशेष गरी युवतीहरूका बीच सारै ‘पप’ थिए । तै पनि, उनले कसैको कुनै प्रस्ताव मानेनन् । आफैंले एउटी गुरुङसेनी युवती सोफियासमक्ष प्रेम प्रस्ताव राखे, बिहे गरे र अहिले सुखद जीवन भोगिरहेका छन् ।
उनी जहिले पनि बिहान ऐना हेर्छन् र साँझ संगीत सिर्जना गर्छन् । सायंकाल उनका लागि सिर्जनाको सर्वोत्तम समय हो । यो समयमा दीप श्रेष्ठले गाएको गीत झूर हुनै सक्दैन ।