मिलन अमात्य, गायिका
केही वर्षअघिसम्म मिलन नेवारको सुगन्धले पूर्वी भारत मात्र सुवासित थियो । नेपालका पूर्वी भेग, दार्जीलिङ हुँदै भारतको आसाम र नागाल्यान्डसम्म पनि मिलन नेवारको स्वरले वाहवाही पाएको थियो । मिलन नेवारको नाममा बंगाली गीत बज्थे ।
सुपरहिट आसामी तथा वोडो गीत गाउने नयाँ गायिकामा मिलन नेवारको नाम हुन्थ्यो । हुँदा–हुँदा राजस्थानी संगीतका शीर्ष गीत पनि मिलनका नाममा दर्ता हुन थाले । मिलन नेवारका २ सय आसामी गीत रेकर्ड छन् ।
१ सय ५० जति बंगाली गीत, दर्जनौ मैथली, भोजपुरी तथा वोडो भाषाका हिट गीत पनि मिलन नेवारका नाममा दर्ता छन् । उनले करिब ३ सय गीत राजस्थानी भाषामा गाएकी छिन् । सन् २००३ मा राजस्थानको जयपुरमा सम्पन्न हजारौं गायक–गायिकाबीचको एउटा प्रतिस्पर्धामा मिलन नेवार फस्ट रनर्सअप भएकी थिइन् । आखिर नेपालको एउटा जातिको नामलाई थर बनाएकी एउटी किशोरी कसरी भारतीय बजारमा हिट भैरहेकी छिन्, त्यतिबेला खोजीको विषय भएको थियो ।
अहिले मिलन नेवारको नाम क्रमश: हराउँदै गएको छ, त्यसको सट्टा मिलन अमात्यको स्वरले बजार पिट्न थालेको छ । नेपाली चलचित्रको पाश्र्व गायनमा मिलन अनिवार्य गायिका बन्न थालेकी छिन् । भारत आसामकी तिनै मिलन नेवार अहिले मिलन अमात्य बनेर नेपाली संगीत बजारमा हलचल मच्चाइरहेकी छिन् ।
तपाईं मिलन नेवार कि मिलन अमात्य ?
पहिले मिलन नेवार अहिले मिलन अमात्य ।
तपाईं मिलन नेवारको नाममा सुपरहिट गायिका भैसक्नुभएको थियो, अमात्य हुँदा केही फरक परेको छैन ?
भारतमा अझै पनि मलाई मिलन नेवारकै नामले चिनिन्छ । नेपालमा भने म मिलन अमात्यका नामले चिनिन चाहन्छु । मेरो हकमा नेवारले माइतीको प्रतिनिधित्व गर्छ, आमात्यले घरको । मैले माइतीलाई माया मारेको होइन, तर म घरका रूपमा चिनिन चाहन्छु ।
यसो गर्दा आफ्नो पुरानो परिचय ओझेलमा पर्छ भन्ने लाग्दैन ?
महिलाहरू माइतीलाई धेरै माया गर्छन्, तैपनि सबै कुरा मनभित्र राखेर घरलाई सिँगार्छन् । मलाई नेवार थर परिवर्तन गरेर अमात्य राख्नू भनेर कसैले कर गरेको होइन । म आफैंले घरलाई बढी महत्व दिएकी हुँ ।
तपाईं आसाममा जन्मनुभयो, तपाईंको पुर्खौली घरका बारेमा केही जानकारी छ ?
हाम्रो पुख्र्यौली थलो काठमाडौं नै हो । पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेपछि हाम्रा पुर्खाहरू भागेर पूर्वी नेपालको खाँदबारी पुग्नुभएछ । उहाँहरू त्यही खेती र व्यापार गरी बस्न थाल्नुभएछ । पछि हजुरबुवा रोजगारीको खोजीमा आसाम जानुभयो । त्यसपछि उहाँ त्यही घरजम गरेर बस्नुभएछ । बुवा भारतीय गोर्खा सेनामा भर्ना भएपछि हाम्रो परिवारले उतै घरजम बसाउँदै खेतीपाती तथा पशुपालन गर्न थालेको हो ।
तपाईंचाहिँ नेपाल आउनुभयो, किन ?
मेरो मावली हजुर बुवालाई हामीले नेपाली भाषा र संस्कृति बिर्सौंला भन्ने खुबै चिन्ता थियो । उहाँ गाउँलेहरूद्वारा निर्वाचित सरपञ्च हुनुहुन्थ्यो । सरकारबाट सुविधा पाएका कारण उहाँको ठूलो धाक थियो । उहाँ त्यहाँ आउने सबै नेपालीलाई हामी नेपाली जाति हौं, जहाँ बसे पनि आफ्नो भाषा संस्कृति बिर्सनु हुँदैन भनेर सम्झाइरहनुहुन्थ्यो ।
यो कुरा मेरा बुवा–आमाहरूले पनि हामीलाई सम्झाइरहनुहुन्थ्यो । त्यसले ममा निकै प्रभाव पारेको थियो । अर्को कुरा मलाई गर्मी मन नपर्ने । जब–जब म गर्मी भएको सिकायत गर्थे, मेरी ममी पख धेरै चिन्ता नगर, म तेरो बिहे काठमाडौंमै गराइदिन्छु भनेर जिस्क्याउनुहुन्थ्यो । सम्भवत: यो कुराले पनि प्रभाव पार्यो कि ?
तपाईं सुन्दर हुनुहुन्छ । उतै घरजम गर्ने सम्भावना कत्तिको थियो ?
धेरै थियो, मैले पाएका प्रेम प्रस्तावहरूमा विचार गरेको भए । मसँगै स्कुल–कलेज पढ्ने आसामी साथीहरूले विवाहका लागि हत्ते गरेका थिए । धेरै नेपालीबाट पनि प्रेम प्रस्ताव आएको थियो, तर म पहिलेदेखि नै संगीतमा भिज्न थालेँ । मैले संगीतलाई यति माया गरेँ कि अरूको मायाको आवश्यकता नै महसुस भएन ।
जब नेपाल आएँ, विवाह गर्नुपर्छ भनेर मेरी बहिनीकी ससुराले प्रस्ताव ल्याउनुभयो, मैले नचिनिकनै स्वीकार गरेँ । म गायनमा व्यस्त भएकाले मेरो भन्दा अघि बहिनीको विवाह धरानमा भएको थियो । नेपालमा मेरा अभिभावक भनेकै बहिनीको घर थियो । त्यसैले पनि मैले उहाँहरूको प्रस्ताव स्वीकार गरेकी हुँ ।
जतिबेला तपाईंले नेपालमा विवाह गर्ने निर्णय गर्नुभयो, त्यतिबेला तपाईं भारतमै चर्चित गायिका भैसक्नुभएको थियो ? त्यो प्रसिद्धि छाड्न गाह्रो भएन ?
जब म प्रसिद्ध हुन थालेँ, मेरो परिवारले नेपालमा गएर आफ्नो भाषामा गीत गाउनुपर्छ भन्न थाल्नुभएको थियो । मेरो संगीतकी प्रमुख गुरु मेरी ठूली आमा हुनुहुन्छ । हजुरबुवा बितेपछि उहाँ अहिले गाउँकी सरपञ्च हुनुहुन्छ । उहाँ त्यो क्षेत्रमा प्रसिद्ध गायिकाका रूपमा पनि चिनिनुहुन्छ । उहाँको गायन बिना कुनै पनि सार्वजनिक कार्यक्रम पूरा हुँदैन ।
उहाँको नाम टुकुना नेवार हो । सुरुमा उहाँले नै मलाई नेपालमा गएर गीत गाउनु, एल्बम निकाल्नु भनेर नेपाल पठाउनुभएको थियो । धरानमा बहिनीको विवाह भएपछि मैले नेपाली भाषाको पहिलो एल्बम ‘मिलन’ निकाल्ने तयारी प्रारम्भ गरेँ । त्यही एल्बमको तयारीका क्रममा विवाहको प्रस्ताव आएको थियो । त्यतिबेला मलाई त्यो प्रसिद्धि छाड्न गाह्रो हुन्छ भन्ने नलागेको होइन, तर ममा नेपालमै आफ्नो परिचय बनाउन सक्छु भन्ने विश्वास पलाएर आयो ।
मानौं, नेपालमा विवाह नभएको भए, तपाईंको सम्भावना के थियो ?
राजस्थानमा सम्पन्न अल इन्डिया म्युजिक कम्पिटिसनमा म हजारौं गायक–गायिकालाई पछाडि पार्दै फस्ट रनरअप भएकी थिएँ । त्यसपछि म अचानक राजस्थानी संगीत उद्योगमा लोकप्रिय भएँ । धमाधम मेरा गीत रेकर्ड हुन थालेका थिए । राम्रा कम्पनीहरूले उतै बस्ने प्रस्तावसमेत ल्याएका थिए, तर मलाई घर छाडेर उता बस्न मन लागेन ।
त्यसपछि मुम्बईमा जिटिभीले सुरु गरेको सारेगामापामा मैले पठाएका गीतका नमुनाले निर्णायकहरूको मन जितेछ । त्यहाँबाट बोलावटसमेत आएको थियो । त्यतिबेला मुम्बई गएको भए म सम्भवत: उतै सेटल हुन्थें, तर सुरुमा संघर्ष गर्न केही खर्चको आवश्यकता थियो । म बुवालाई आर्थिक भार दिन चाहन्नथेँ, किनभने त्यतिबेला हाम्रो आर्थिक अवस्था उति राम्रो थिएन । यसरी हेर्दा सम्भावनाहरू निकै थिए जस्तो लाग्छ ।
कहिलेकाहीँ ती सबै सम्भावना छाडेकोमा दु:ख लाग्दैन ?
लाग्दैन, किनभने नेपालमा मैले करिब ३ सय गीत गाइसकेँ । चलचित्रको पाश्र्व गायनमा मलाई निकै राम्रो मानिन्छ । सबैले प्रशंसा गर्नुहुन्छ । कुनै दिन काम नपाएर बस्नुपरेको छैन । म खुसी छु । आफ्नो घरमा बसेर यसरी व्यस्त हुन पाउनु भाग्यको कुरा हो । अर्को कुरा, मलाई के लाग्छ भने म अहिले पनि मुम्बई, आसाम वा राजस्थान गएँ भने पनि मैले आफ्नो स्थान बनाउन सक्छु । मलाई धेरैले चिन्नुहुन्छ ।
म केही महिनाअघि राजस्थान गएकी थिएँ, त्यहाँ मिलन नेवार आएकी छ भन्ने कुरा सुन्नेबित्तिकै त्यहाँको वातावरण नै फरक भयो । वर्षमा एक–दुई पल्ट स्टेज पर्फमेन्स र केही गीत रेकर्ड गराउन अहिले पनि म राजस्थान जान्छु । आसाममा मैले परिचय बनाइरहनु पर्दैन । मुम्बईमा पनि मेरा धेरै साथी छन् । उनीहरूले बोलाइरहन्छन् । त्यसकारण सम्भावना नभएका होइनन्, म यहीँ रमाएकी मात्र हो ।
तपाईं राम्रो पैसा कमाउने गायिका मानिनुहुन्छ । कहिलेकाहीँ श्रीमान्कै कमाइ खान पाइयोस्, श्रीमान्लाई घुक्र्याएर कपडा र गहना किनाउन पाइयोस् भन्ने लाग्दैन ?
मेरा श्रीमान् व्यापार–व्यवसायबाट राम्रै आम्दानी गर्नुहुन्छ । म आफूले कमाएको पैसा पनि उहाँलाई दिन्छु तर तिम्रो कमाइ तिमी नै राख, पछि काम लाग्न सक्छ भनेर बैंकमा राखिदिनुहुन्छ । त्यसपछि मेरा जति आवश्यकता छन्, उहाँले नै पूरा गरिदिनुहुन्छ । मैले श्रीमान्लाई मज्जाले घुक्र्याउन पाएकी छु ।
दसैं आयो, कस्तो महसुस गर्नुहुन्छ ?
मलाई अरुबेला आसामको खासै सम्झना आउँदैन, तर जब दसैं आउँछ काठमाडौं सुनसान हुन्छ । सबै जना आ–आफ्नो गाउँ जानुहुन्छ, त्यतिबेला मेरा बा–आमा काठमाडौंबाट धेरै टाढा हुनुहुन्छ भन्ने लाग्छ । उहाँहरूको सम्झना आउँछ । म आसामलाई त्यतिबेला सम्झन्छु जब त्यहाँका बाल्यकालका साथी वा आफन्तलाई काठमाडौंमा भेट्छु वा जब दसैं–तिहारजस्ता चाड आउँछन् ।
आसामको दसैं र काठमाडौंको दसैंमा के फरक पाउनुभयो ?
आसाममा चाडपर्व लाग्यो भने नेपालीहरू स–परिवार गाउँ छाडेर सहरमा रमाइलो गर्न जान्छन् । नेपालीहरू दसैंमा बिदा मिलाएर छुट्टी मनाउन, किनमेल गर्न, मनोरञ्जन गर्न सहरतर्फ लाग्छन् । काठमाडौंमा ठिक उल्टो रहेछ । यहाँका मानिसहरू सहर छाडेर गाउँ फर्कंदा रहेछन् । गएको वर्ष म नियमित हिँडिरहेको बाटो अनौठो लाग्यो । पछि पो थाहा भयो, दसैंले सुनसान भएको बाटो निकै फराकिलो देखेपछि म झुक्किएकी रहेछु ।
आसामका नेपाली तथा नेपालका नेपालीबीच के फरक पाउनुभयो ?
आसाममा ३ लाखजति नेपाली छन् । ती सबै नेपालीबीच ठूलो माया प्रेम छ । कसैलाई समस्या पर्यो भने अर्को नेपालीले साथ दिन्छ । को कुन जातको हो, को मान्छे कुन स्थानबाट आएको हो भन्ने कुनै मतलब छैन । केवल म नेपाली हुँ भनेपछि त्यो मान्छे आफ्नो भैहाल्छ तर यहाँ त्यस्तो पाइन । यहाँ नेपालीलाई भन्दा पनि जात र थरलाई महत्व दिइदो रहेछ । यहाँ त्यसैमाथि राजनीति हुँदो रहेछ, अनौठो लाग्यो ।
आसाममा बोलिने नेपाली भाषा र त्यहाँ मनाइने चाड–पर्वबीचचाहिँ के फरक छ ?
आसाममा प्रचलित नेपाली भाषामा बंगाली, आसामी, नागा, हिन्दी सबैको प्रभाव परेको छ । यहाँको तुलनामा भाषामा धेरै मिसावट छ । उता नेपाली बोल्ने मानिस धेरै पाइँदैनन् । कसैले नेपाली बोल्यो भने पनि खुसी लाग्छ, तर यहाँ सबैले नेपाली नै बोलेको देख्छु । पहिलोपल्ट म नेपाल आउँदा गाडीमा सबैले नेपाली बोलेको देख्दा छक्क परेकी थिएँ । यहाँको भाषामा अहिले पनि शुद्धता छ ।
यस्तो भाषा सुन्दा निकै खुसी लाग्दो रहेछ । उता नेपाली चाडपर्वहरूमा पनि मिसावट भएको छ । दसैंलाई दुर्गा पूजा भनिन्छ । दुर्गाका ठूला–ठूला मूर्ति स्थापना गर्ने, रावण वध गर्ने चलन छ । नेपाली बाहेक अरूले टीका लगाउँदैनन् । यो टिका लगाउने चलन मलाई युनिक लाग्छ । तिहारमा उता म्ह पूजा गरिदैन । उता चाडपर्वमा धेरै ठूलो आतिसबाजी गरिन्छ । लाखौं रुपैयाँ पटका पड्काएरै नष्ट पारिन्छ । त्यसले पोलुसन पनि धेरै हुन्छ । बढि हल्लाखल्ला गर्ने चलन छ । यहाँ त्यस्तो छैन । मलाई त यतै रमाइलो लाग्छ ।
तपाईं नेवार भैकन पनि विवाहअघिसम्म नेवारी संस्कृतिसँग एकाकार हुनुहुन्नथ्यो । अहिले नेवार परिवारकी बुहारी हुँदा कस्तो महसुस गर्नुहुन्छ ?
बुहारी भएर भित्रिएको एक–दुई वर्षमा म निकै मोटाए । नेवारमा धेरै भोज हुँदो रहेछ । नयाँ बुहारी भए पछि भोजहरूमा जानुपर्ने । सबैले खान कर गर्ने । यस्तो पारिवारिक भोजको चलन मलाई रमाइलो लाग्यो । वाहिर नेपाली संस्कृति भनिए पनि नेपाली संस्कृतिभित्र पनि अनेकन विविधता रहेछ । यो कुरा वाहिरका नेपालीहरूले विर्सदै गएका छन् । यहाँका नयाँ पुस्ताका नेपालीहरूले पनि यो संस्कृति कति महत्वपूर्ण छ भन्ने कुरा बुझेजस्तो लाग्दैन ।
अब केही संगीतका कुरा गरौं । तपाईंले कहिलेदेखि गाउन थाल्नुभयो ?
मैले माथि नै टुकुना नेवारको कुरा गरेँ । उहाँ धेरै अघिदेखि नै चर्चित गायिकाका रूपमा चिनिनुहुन्थ्यो । उहाँले रिजाय गर्दा म उहाँसँगै गाउँथे रे । म भित्र गायकीको प्रतिभा छ भनेर उहाँले नै चिन्नुभएको हो । स्थानीय रेडियोमा उहाँका धेरै गीत रेकर्ड छन् । उहाँकै कारण मलाई आफ्नो प्रतिभा देखाउन सहज भयो । मैले १२ वर्षको उमेरदेखि नै स्टेज फर्फमेन्स गर्न थालेकी हुँ । मेरो ठूलो मामा डुकुना भन्ने बाजा बजाउनु हुन्थ्यो ।
चाडपर्वमा गाउँलेहरू उहाँको डुकुना सुन्न भेला हुन्थे । मेरो सानो मामा तबलामा उस्ताद् हुनुहुन्थ्यो । निकै राम्रो बजाउनुहुन्थ्यो । मेरो बुवा गोर्खा रेजिमेन्टमा मेकालिकल इन्जिनियरिङ विभागमा काम गर्नुहुन्थ्यो । उहाँमा पनि संगीतको ठूलो सौख थियो । उहाँ राम्रो ड्रमर हुनुहुन्थ्यो । म सानैदेखि खैजडी बजाएर ठूलो ममी डुकुना नेवारको रियाजलाई साथ दिन्थें । यसरी हेर्दा मेरो परिवार नै संगीतमय थियो भन्दा हुन्छ ।
संगीतको औपचारिक ज्ञान लिनु भएन ?
म सानैदेखि स्टेज पर्फमेन्स दिन्थे । एक दिन वेदव्यास नामका एक संगीतज्ञले मैले गाएको सुन्नुभएछ । उहाँले मलाई गुवाहाटी लगेर संगीत कक्षामा भर्ना गरिदिनुभयो । त्यहाँका गुरुहरूले नै मलाई राजस्थानमा हुने बृहत्तर संगीत प्रतिस्पर्धामा पठाउनुभएको हो । त्यहाँ प्रतिस्पर्धा गर्न नपुगेको भए सायद म राजस्थानमा यति लोकप्रिय हुन्नथेँ । अहिले पनि भानुजयन्ती तथा यस्तै विभिन्न कार्यक्रममा मलाई आसाममा गीत गाउन बोलाइन्छ । बेला–बेलामा राजस्थानबाट पनि बोलाइन्छ ।
संगीतमा रियाजलाई ठूलो महत्व दिइन्छ, तपाईं कुन बेला रियाज गर्नुहुन्छ ?
समय मिल्यो भने बिहान–बेलुका दुई–दुई घण्टा रियाज गर्छु । नत्र बिहान सातदेखि नौ बजेसम्म अनिवार्य गर्छु । कसैको गला विशेष खालको हुन्छ, जसले थोरै रियाज गर्दा पनि हुन्छ । मेरो गलाले गहिरो साधना माग्छ । मैले त्यो गर्नै पर्छ ।
संगीतमा थप कुनै योजना छन् ?
श्रोताहरूले मेरो स्वर मन पराउनुभएको छ । गीतहरू सुपरहिट भएका छन् । यो अवस्थामा थप केही योजना छैनन् । काम गर्ने योजना मात्र छ । कहिलेकाहीँ मुम्बई गएर एक–दुई वर्ष संघर्ष गरौं कि जस्तो पनि लाग्छ तर काठमाडौं छाडेर हिँड्न मन लाग्दैन । मलाई काठमाडौं स्वर्गजस्तै लाग्छ । यति चियो मौसम, यति आत्मीय मानिस कहाँ पाउनु ?
विवाह भएको पाँच वर्ष हुन लाग्यो । अब त नेपालमा पनि सुपरहिट गायिका हुनुभएको छ । कहिलेकाहीँ आमा बन्न ढिला भएजस्तो लाग्दैन ?
लाग्छ, म महिलाको यो सुन्दर पक्षमा पनि ध्यान पुर्याइरहेकी छु । कहिलेकाहीँ संगीतका कारण परिवारलाई समय दिन पाइन भन्ने पनि लाग्छ ।
अन्त्यमा मैले सोध्न बिर्सिएको वा तपाईंलाई भन्न मन लागेका कुरा केही छन् ?
मैले पहिलोपल्ट मिडियामा यसरी आफ्ना मनका सबै कुरा भन्न पाएँ । मेरो माइतीघर, नेपालप्रतिको माया सबै कुरा गर्न पाएँ । यसमा निकै खुसी लागेको छ । तैपनि श्रोता–दर्शकहरूलाई एउटा कुरा भन्न छुट्यो कि जस्तो लाग्छ ।
के कुरा ?
महिलाहरूलाई साथ दिनुहोस् । महिलाहरू संवेदनशील हुन्छन् । उनीहरूलाई सधैं सपोर्टको आवश्यकता पर्छ । यो केटीले केही गर्न सक्दिनँ, यसबाट केही हुँदैन भनेर कहिल्यै नभनिदिनुहोला । महिलाहरू परिवारलाई बढि ध्यान दिन्छन् । तपाईंले पनि उनीहरूको खुसीको ख्याल गरिदिनुहोला ।