साप्ताहिक संवाददाता
तीजमा तीज विशेष गीत–संगीत सार्वजनिक हुनु सामान्य भैसकेको छ । तीज लगत्तै आउने ठूलो पर्व दसैंलाई लक्षित गर्दै गीत–संगीत सार्वजनिक गर्ने क्रमको पनि थालनी भएको छ । केही वर्षयता दसैंलाई लक्षित गर्दै तयार पारिएका गीत तथा म्युजिक भिडियोको संख्या बढ्दो छ ।
गायक कमल के क्षेत्रीले ‘दसैं र तिहार...’ शीर्षकको गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । गायक सुगम पोखरेलकी छोरीको समेत स्वर समेटिएको उक्त गीतका रचनाकार तथा संगीतकार पनि गायक क्षेत्री नै हुन् । अनिल के मानन्धरद्वारा निर्देशन गरिएको यो गीतको भिडियोमा दसैं तथा तिहारको झझल्को दिने दृश्यहरू कैद गरिएका छन् ।
गायक सुमित खड्काले ‘दसैं गीत’ को अडियो मात्र सार्वजनिक गरेका छन् । युट्युबमा उपलब्ध उक्त दसैं गीतमा नवराज सुब्बाको शब्द तथा सुमित खड्काकै संगीत सुन्न सकिन्छ । गायक कमल किरणले ‘कोही भन्छन्...’ गीतमा दसैं मनाउन स्वदेश फर्कन नसकेका नेपाली दाजुभाइहरूको पीडालाई समेटेका छन् । डम्बर बराइलीको शब्द तथा कमल किरणको संगीतको यो गीतको भिडियोलाई युगल पोमो लिम्बुले निर्देशन गरेका हुन् ।
‘फेन्टास्टिक...’ गीतको म्युजिक भिडियोका निर्देशक गायक सागर राजले तयार पारेको दसैं–तिहार गीतले कम समयमै दर्शक तथा स्रोताको मन जितेको छ । ‘लै बरी लै...’ शीर्षकको यो गीतमा सागर राजले टिनएजरहरूको दसैं उत्साहलाई समेटेका छन् । यो गीतमार्फत गायकले दसैं पर्व उत्साह, एकता तथा उमंगको पर्व हो भन्ने कुरालाई चित्रण गरेका छन् ।
गायक हेमन्त शर्माले संगीतकार सरोज प्याकुरेलको संगीत तथा सुदन डोटेलको शब्दमा दसैंमा हो दसैंमा शीर्षकको गीत गाएका छन् । गायक प्रमोद खरेल तथा गायिका मेलिना राईले पनि यसैपाली पहिलो पटक दसैं गीत गाएका छन् । उक्त युगल गीतमा विकास चौधरीको संगीत छ भने गोविन्द गौतमका शब्दहरू सुन्न सकिन्छ । ‘दसैं आयो...’ शीर्षकको यो गीतको म्युजिक भिडियोमा पनि दसैंकै उमंगलाई कैद गरिएको छ जसमा नायिका केकी अधिकारी, पुष्प खड्का, सबिना तथा असिमले अभिनय गरेका छन् ।
गायक सुसन साम्सोहाङ लिम्बूले ‘दसैं–तिहार रमाइलो...’ शीर्षकको गीत गाएका छन् । ओमप्रकाश राईको संगीतको यो गीतमा गायक लिम्बूकै शब्द सुन्न सकिन्छ । देव नेपालद्वारा निर्देशित यो गीतको भिडियोमा गृष्मा लिम्बू तथा अनु कार्कीले अभिनय गरेका छन् ।
लोक गीतमा दसैं
दसैंको रमझम तथा दसैं मनाउन नपाउनेहरूको पीडा समेट्दै दसैं विशेष गीतहरूसमेत सार्वजनिक भैरहेका छन् । पछिल्ला एक महिनायता सार्वजनिक भएका अधिकांश दसैं विशेष लोक गीतमा वैदेशिक रोजगारीका क्रममा विदेश गएको नेपाली युवा दसैंमा घर फर्किन नसकेको प्रसंग चित्रण गरिएको छ । हर्ष, उमंग, उत्साहको पर्व दसैं मनाउने हरेक नेपालीको चाहना हुन्छ । लोक गीतमार्फत बजारमा आएका अधिकांश गीतहरूले भने दसैं मनाउन नपाएको पीडालाई प्राथमिकता दिएका छन् ।
गायक सन्तोष केसीले ‘ए परदेशी फर्कि आउ घर’ शीर्षकको गीत गाएका छन् भने गायक रामचन्द्र चन्दले ‘छुट्टी पाइन’ शीर्षकको गीत प्रस्तुत गरेका छन् । गायक सागर खड्काले ‘दसैं–तिहार आउँदा...’ शीर्षकको गीत गाएका छन् भने गायिका नीता पुनले ‘तिमी घर आउने कहिले’ गाएकी छिन् । कुलेन्द्र विश्वकर्मा तथा सीता माझीले ‘जाँदैछु घर..’ शीर्षकका दसैं गीत गाएका छन् ।
गायक सुमन न्यौपाने तथा गायिका शर्मिला थापा ‘मै दु:खीलाई के दसैं के तिहार’ शीर्षकको गीतमार्फत श्रोतामाझ आएका छन् । मोहन खड्का तथा सन्ध्या बुढाले ‘दसैं आयो आमा’ गाएका छन् भने शिव हमाल तथा सविता परियारले ‘पाँच पाथी धान’ गाएका छन् । कमल खड्का तथा शिवराज खड्काले ‘थाले होला जमरा राख्नलाई’ तयार पारेका छन भने पशुपति शर्माको लय तथा शब्द संकलनमा सम्झना भण्डारीले ‘बाबिया काटेर’ गाएकी छिन् । अमृत खाती तथा पूजा राना मगरले गाएको ‘टीका जमरा’ गीतमा दसैंकै परिवेश झल्काइएको छ ।