साप्ताहिक संवाददाता
सुरिलो स्वरकी धनी गायिका अञ्जु पन्त कुनै दिन नायिकाका रूपमा चलचित्रको पर्दामा झुल्किइन् भने अचम्म नमाने हुन्छ, किनभने उनले अभिनयका बारेमा सोचिरहेको कुरा हालै एउटा अन्तर्वार्ताका क्रममा बताएकी छिन् । त्यसो त सुन्दर मुहारकी यी गायिकालाई विगत एक दशकदेखि नै चलचित्रमा अभिनय गर्ने प्रस्ताव आइरहेका थिए ।
उनले ती प्रस्ताव अस्वीकार गरिरहेकी थिइन् । अहिले आएर उनले अभिनयका लागि नयाँ सर्त पनि सार्वजनिक गरेकी छिन् । अञ्जुले भनेकी छिन्— ‘यदि कसैले मेरो आफ्नै कथामा चलचित्र निर्माण गर्छ भने म नायिकाको भूमिका निर्वाह गर्न तयार हुनेछु ।’ अञ्जुले आफ्नो बायोग्राफीमा चलचित्र निर्माण हुने भयो भने मात्र अभिनयका लागि तयार हुने बताएकी हुन् ।
अञ्जुले आफ्नो सांगीतिक संर्घष, सफलता, जीवनका आरोह–अवरोहलाई समेट्ने हो भने एउटा राम्रो चलचित्र तयार हुनसक्ने सम्भावना समेत व्यक्त गरेकी छिन् । अञ्जुले आफ्नो आत्मकथाको पुस्तक सार्वजनिक हुने क्रममा रहेको समेत खुलाशा गरेकी छिन् ।