नेपालमा पठन संस्कृति बढिरहेको छ । कुनै बेला आफ्ना लागि मात्र लेख्ने लेखकहरू अब पाठकको रुचि पनि ध्यान दिन थालेका छन् । कुनै बेला एक हजार पुस्तक बिक्री हुनुलाई ठूलो कुरा मानिन्थ्यो । आज राम्रा मानिएका लेखकहरूका पुस्तक १० हजार प्रति सजिलै बिक्री हुन थालेका छन् । यी सबै पाठक बढिरहेको प्रमाण हो । यद्यपि यसको अर्को पाटो पनि छ । अहिले चर्चामा रहेका धेरै पुस्तक साहित्य र ज्ञानका दृष्टिले कमजोर मानिन्छन् ।
पठन संस्कृतिलाई अघि बढाउन रुचिकर मात्र होइन, ज्ञानवद्र्धक पुस्तक पढ्ने संस्कार पनि बढ्नुपर्छ । पुराना कृतिहरूमध्ये विश्वविद्यालयका पाठ्यक्रममा परेका पुस्तक मात्र पढ्ने पाठकहरूको संख्या धेरै छ । पाठ्यक्रममा नपरेका कतिपय पुस्तक राम्रा भएर पनि ओझेलमा परेका छन् । विशेषगरी पुराना पढ्नै पर्ने पुस्तकसम्बन्धी जानकारी कतिपय पाठकलाई छैन ।
यसपटक साप्ताहिकले नेपालका चर्चित साहित्यकार, समीक्षक, प्रकाशन गृह एवं विश्वविद्यालयका शिक्षकहरूबाट चर्चित सय पुस्तकको नाम संकलन गरेको थियो । आख्यान र गैरआख्यान दुवै क्षेत्रका नेपाली भाषामा लिखित एवं अनुदित पुस्तकलाई यसमा महत्व दिइएको छ । पुस्तकको नाम संकलन गर्दा प्राय : सबै व्यक्तिले नाम लिएको पुस्तकको नाम मात्र राख्ने प्रयास गरिएको छ । यो सूचीमा बौद्धिक रूपमा बोझिल, राम्रा भैकन पनि अल्छी लाग्ने पुस्तक समावेश छैन । बरु यो सूचीले सरल भाषामा लेखिएका तर युवा पाठकले एकपटक अध्ययन गर्नैपर्ने पुस्तकलाई बढि ध्यान दिइएको छ ।
आत्मकथा र स्मरण
प्रकाशन गृह एवं पुस्तक बिक्री कक्षहरूको रिपोर्टअनुसार नेपालमा सबैभन्दा बढी धार्मिक पुस्तक बिक्री हुने गरेका छन् । दोस्रो नम्बरमा आत्मकथा र स्मरणजन्य सामग्री बढी बिक्री हुने गरेको छ । चर्चित व्यक्तिहरूको आन्तरिक कुरा जान्ने पाठकहरूको रुचिका कारण पनि अहिले धमाधम आत्मकथा तथा स्मरण छापिने गरेको छ । यो पहिलेदेखि कै चलन हो । यो विधाअन्तर्गत पढ्नैपर्ने केही पुस्तक :
बीपी कोइरालाको आफ्नो कथा
जेल जर्नल
बीपी कोइरालाको संस्मरण अन्तर्वार्ता
गणेशराज शर्माद्वारा लिखित राजा, राष्ट्रियता र राजनीति ।
खगेन्द्र संग्रौलाको सम्झनाका कुइनेटाहरू
धच गोतामेका तीन बास, उत्तरोत्तर, कालान्तर, संज्ञा सर्वनाम ।
डा. शंकर उप्रेतीको जीवन एक सपना
डा. चित्रप्रसाद वाग्लेको डा. चित्र
नरेन्द्रराज जोशीको सिडियो साब
गणेश मान सिंहको तीन भागमा लिखित मेरा कथाका पानाहरू
मदनमणि दीक्षितको आनन्दमयी जीवन
शान्ता चौधरीको कमलरीदेखि सभासद्सम्म
बीपी कोइरालाको मेरो जीवन असफल भएन
खगेन्द्र संग्रौलाको आफ्नै जीवनको लयमा
खेमराज नेपालको समाज, संस्कार र शासन
हरिवंशको चिना हराएको मान्छे
विनोद चौधरीको आत्मकथा
विजयकुमारको खुसी
सीता पाण्डेको बन्दकी खुसीहरू
बसन्त थापा (ऋतुरातको) ऋतुविचार (व्यङ्ग्य स्मरण र टिप्पणीहरू)
जगदीश घिमिरेको अन्तरमनको यात्रा
हालसालै प्रकाशित डा. बाबुराम भट्टराईको जीवनकथा
यी पुस्तकहरूले ती व्यक्तिको जीवन कथा मात्र भन्दैनन्, उनीहरूले बाँचेको देशको परिस्थित, तत्कालीन राजनीतिक तथा सामाजिक अवस्थाको वर्णन पनि गर्छन् । यी पुस्तकमध्ये धेरै जसोको भाषा शैली सरल एवं पठनीय छ ।
नेपालमा धेरै पढिने पुस्तकमा उपन्यास तथा कथा पनि आउँछन् । नेपालमा १९९२ सालदेखि कथा र उपन्यासले आधुनिक गति प्राप्त गरेको हो । यस अर्थमा यो विधामा कलम चल्न थालेको ८० वर्ष भयो । प्रत्येक वर्षका मुख्य–मुख्य कथा वा उपन्यास मात्र राख्ने हो भने पनि यो सूची निकै लामो हुन पुग्छ । तीमध्ये केही पढ्नै पर्ने कृतिको सूची यसमा समावेश छ । यो सूचीमा यसअघि नै चर्चामा आएका, विश्व विद्यालयमा पढाइ भैरहेका ठिकैका कृतिहरूको नाम समावेश गरिएको छैन ।
धच गोतामेको घामका पाइलाहरू
बीपी कोइरालाका नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन तथा श्वेत भैरवी
मनु ब्राजाकीका कथाहरू तिम्री स्वास्नी र म एवं अन्नपूर्णा
बुद्धिसागरको कर्नाली ब्लुज
अमर न्यौपानेको पानीको घाम
नारायण ढकालको प्रेतकल्प
कृष्ण धरावासीको शरणार्थी, राधा र झोला
कुमार नगरकोटीको मोक्षान्त फिवर काठमाडौं
सरुभक्तको पागल बस्ती
नयनराज पाण्डेको उलार र चकलेट
नारायण वाग्लेको पल्पसा क्याफे
उपेन्द्र सुब्बाको लाटो पहाड
शारदा शर्माको ताप र कम्प
राजेश्वर देवकोटाको द्वन्द्वको अवशान
पारिजातको शिरीषको फूल
डा. वानिरा गिरीको कारागार
ध्रुवचन्द्र गौतमको अलिखित
रमेश विकलको अविरल बग्दछ इन्द्रावती तथा नयाँ सडकको गीत
विजय मल्लको अनुराधा
संजीव उप्रेतीको घनचक्कर
दौलतविक्रम विष्टको ज्योति–ज्योति महाज्योति
इन्द्रबहादुर राईको आज रमिता छ
तारानाथ शर्माका नेपालबाट अमेरिकासम्म
भैरव अर्यालद्वारा सम्पादित साझाकथा
विनोदप्रासद धितालको उज्यालो हुनुअघि
महेशविक्रम शाहको छापामारको छोरो
इन्द्रबहादुर राईको आज रमिता छ
इतिहास तथा अन्य गैरआख्यान
नेपालको इतिहास निकै रुचिपूर्ण छ । हाम्रो विगत जति अनौठा घटनाहरूले जेलिएका छन्, त्यही खालका पुस्तक भने त्यति लेखिएका छैनन् । तै पनि करिब एक दर्जन कृति यस्ता घटनाका विषयमा जान्न नपढी नहुने खालका छन् । त्यसैगरी निबन्धात्मक कृति पनि आफ्नो स्थानमा बेजोड छन् । नेपाली समाज र इतिहास बुझ्न यस्ता कृति पढ्नु आवश्यक छ । यो सूचीमा केही अनुदित कृति पनि समेटिएको छ ।
सरदार भीम पाँडेको त्यस बखतको नेपाल
बाबुराम आचार्यको अब यस्तो कहिल्यै नहोस्
ज्ञानमणि नेपालको नेपालको महाभारत
मदनमणि दीक्षितको शास्वत नारी
प्रकाश सुवेदीको छोरी ज्वाइँ भेट्न अमेरिका
अश्विनी कोइरालाको उनी
माधव पोखरेलको मेरो मान्छे, नाग दहको स्थिति र गार्गीको गाँठो
मोहन मैनालीको उपल्लो थलो र
मान्ठा डराएको जुग
गोविन्द वर्तमानको सोह्र साँझ
ढुण्डीराज कोइरालाको महाभारत कथा
भुवनलाल प्रधानको नेपालको जनक्रान्ति
वेदुराम भुसालको नेपालमा प्रचलित दार्शनिक चिन्तन
डा. दुर्गा भण्डारीको मृगस्थली
जनकलाल शर्माको हाम्रो समाजको एक अध्ययन
हर्क गुरुङको मैले देखेको समाज
सौरभको २५ वर्ष
बाबुराम आचार्यको नेपालको सांस्कृतिक परम्परा
तारानाथ शर्माको बेलायततिर बरालिँदा
डोरबहादुर विष्टको सबै जातको फूलबारी र राराको सौंराई
जनकराज शर्माको डोल्पो
बासु बरालको हिन्दु सामाजिक संगठनको प्रारुप
अनूदित पुस्तकहरू
योगायोग – रवीन्द्रनाथ ठाकुर
लु सुनका कथाहरू
युद्ध र शान्ति– लियो टोल्टाय
सिद्धार्थ
विल गेट्स, स्टिभ जब्स तथा आइस्टाइनका जीवनीहरू
हामी आमा–बुवा– गिजुभाइ
खलिल जिव्रानका कथा एवं उपन्यास ।
२०७३ का चर्चित १० पुस्तक
वर्ष २०७३ का ६ महिना बित्न लागेको छ । यो छ महिनामा करिब सय पुस्तक प्रकाशित भएको अनुमान गरिन्छ । ती पुस्तकमध्ये चर्चा कमाएका केही पुस्तक :
मनसुन –सुविन भट्टराई
कम्प– शारदा शर्मा
सल्लिपीर– नयनराज पाण्डे
फूलानी– खगेन्द्र लामिछाने
इती– उमा सुवेदी
हर्मिताज – मनोजबाबु मिश्र
आगो निभेको छैन – हरिहर विरही
म अर्थात् आईमाई मान्छे
–सीमा आभास
आँसुको शक्ति – सुनिता दनुवार
तृष्णा– रवीचन्द्र भट्टराई