साप्ताहिक संवाददाता
केही विजेताका लागि खास–खास शब्द प्रयोग गरिन्छ, जस्तो वास्तविक विजेता, जितका वास्तविक हकदार, साँच्चैको च्याम्पियन आदि–आदि । खेलकुदकै भाषामा भन्ने हो भने ट्रयु च्याम्पियन । वाईवाई ईपीएल ट्वान्टी–२० क्रिकेटको विजेता पञ्चकन्या तेजको उपाधिसम्मको यात्रा यस्तै रह्यो । पूरा प्रतियोगितामा एउटै हार नबेहोर्नु पञ्चकन्याको सबैभन्दा ठूलो विशेषता थियो । उसको अर्को विशेषता थियो, सम्भावित हारको दबाबमा पनि राम्रो खेल्नु ।
पञ्चकन्यासँग त्यस्ता केही खेलाडी थिए, जसले ठूलो अवसरमा आफूलाई सिद्ध गर्न कुनै कसर बाँकी राखेनन् । जस्तो, आसिफ सेख । वीरगञ्जका यी किशोर ब्याट्सम्यानले फाइनलमा १ सय ११ रनको नटआउट इनिङस खेले । टीयूको मैदानमा अहिलेसम्म देखिएका जति पनि राम्रा प्रदर्शन छन्, त्यसमध्ये यो अहिलेसम्मकै उत्कृष्ट थियो । आशिफले त्यस क्रममा जति सट प्रहार गरे, ती क्रिकेटका किताबमा पाइने प्राविधिक सट नै थिए, परिणाम : उनले सबैको मन जिते ।
फाइनलका म्यान अफ द म्याच आशिफ नै रहे । उनकै प्रदर्शनको मदतले पञ्चकन्याले फाइनलमा पहिले ब्याटिङ गर्दै १ सय ७१ रन बनायो । जवाफमा टिम कलर्स एक्स फ्याक्टर्सले १ सय ३१ रन मात्र बनाउन सक्यो । नतिजा पञ्चकन्या ४० रनले विजयी भयो । यो प्रतियोगिताको अन्त्यमा क्रिकेटलाई अलिकति पनि बुझेका सबैको एउटै निचोड थियो, कुनै टिमले पूरा प्रतियोगितामा राम्रो खेल्छ भने उपाधि पनि उसैले जित्छ । यो सामान्य सिद्धान्त नै हो र यसैलाई पञ्चकन्याले फेरि प्रमाणित गरेको छ ।
अर्कातर्फ कलर्सलाई प्रतियोगिताकै भाग्यमानी टिम माने हुन्छ । अघोषित सेमिफाइनलमा कलर्सको भिडन्त थियो, विशाल वारियर्सविरुद्ध । पानीले उक्त खेल सम्भव नभएपछि कलर्स फाइनलमा पुग्यो । यसपल्टको प्रतियोगिता तीनवटा टिमको वरीपरी घुमेको थियो, जसमा फाइनलका दुई टिम त हुने भए नै, अर्को टिम थियो, विशाल वारियर्स । विशाल भने दुर्भाग्यशाली रह्यो, उसका दुई खेल पानी परेका कारण सम्भव भएनन् जसका कारण उसले अंक बाँड्नुपर्यो ।
ईपीएलका पाँच विशेषता
फ्रेन्चाइज टिम
भारतको आईपीएलले फ्रेन्चाइज टिमको सोच अगाडि ल्याएको हो, क्रिकेटमा । यसअघि यस्तै चलन अमेरिकी खेलकुदमा थियो । अब यो ठूलो स्तरमा नेपालमै पनि भित्रिएको छ । त्यसो त ईपीएलमा पनि यिनै टिम थिए, तर पनि यसपल्टको ईपीएलको सबैभन्दा ठूलो विशेषता रह्यो, ६ फ्रेन्चाइज टिम । यी ६ टिमले प्रतियोगितामा लगभग ३ करोड रुपैयाँ खर्च गरे । त्यसमध्ये खेलाडीले पारिश्रमिकका रूपमा ६० लाख रुपैयाँजति पाए ।
ब्याटिङको कमाल
कसले भन्छ, नेपालको ब्याटिङ सधैं कमजोर हुन्छ ? कम्तीमा यसपल्टको ईपीलले प्रमाणित गरेको छ, नेपाली क्रिकेट खेलाडीको ब्याटिङ पनि चल्छ । यसपटकको ईपीएलमा बलिङमाथि ब्याटिङ हाबी रह्यो ।
युवा खेलाडीहरूको चमक
ईपीएलको अर्को सबैभन्दा ठूलो विशेषता थियो, युवा खेलाडी चम्किनु । नेपाली राष्ट्रिय टिमका प्रमुख खास–खास खेलाडी त चम्किए नै, त्यससँगै उनीहरूको बराबरीमा प्रदर्शन गर्नेमा युवा खेलाडीहरू पनि पछि परेनन् । उमेर समूहमा नेपालका लागि खेलेका केही खेलाडीले माथिल्लो स्तरमा पनि आफूलाई सिद्ध गरे । जस्तै, आसिफ सेखदेखि सुशील कँडेलसम्म ।
अलराउन्डर सोमपाल
सोमपाल कामी प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भए । यी खेलाडीलाई नेपाली क्रिकेटको भविष्य मानिन्छ र उनले त्यसलाई सिद्ध पनि गरे । उनको बल र ब्याट दुवै चल्यो । सोमलाई प्रतियोगितामा कसैले नजिकबाट व्यक्तिगत चुनौती दिए भने ती थिए, आसिफ सेख । आसिफ भने इमर्जिङ प्लेयर घोषित भए ।