साप्ताहिक संवाददाता
बुईपा, खोटाङका ७८ वर्षीय रत्न राईलाई उनका काइँला छोराको अहिलेसम्म विवाह नभएकोमा असाध्यै चिन्ता छ । जीवनमा अत्यधिक कठिन काममा समेत सफलता प्राप्त गर्ने रत्नलाई आफ्नो छोराको विवाह गराउन नसक्दा विरक्तसमेत लागेको छ । प्रसंग हो, गायक राजेशपायल राईको विवाहको । अधिकांश समय बेलायतमा बसोबास गर्ने रत्न राई राजेश पायल राईका बुवा हुन् ।
अघिल्लो साता ‘दर्शन नमस्ते–३’ को विमोचन समारोहमा झन्डै आधा घण्टा आफ्नो मनको वह पोख्ने क्रममा रत्न राई अधिकांश समय राजेशपायल राईको विवाहमै केन्द्रित रहे । ‘मैले त जुनसकै जातको ल्याए पनि हुन्छ, हामी रोकतोक गर्दैनौं समेत भनिसकेको छु, राईको भनाइ थियो— ‘खै कुन कुराले मेरो काइँला छोराको विवाह हुन सकिरहेको छैन, मैले बुझ्न सकेको छैन ।’ बुवाको बिलौना ध्यानपूर्वक सुनेपछि प्रत्युत्तरमा राजेशपायलले भने— ‘म यही समारोहबाट बुवा तथा आमालाई मेरो विवाहका बारेमा चिन्ता नलिन आग्रह गर्छु, समय आएपछि ढिलो–छिटो अवश्य विवाह गर्नेछु ।’