साप्ताहिक संवाददाता
कतिपय दर्शकलाई थाहा नहुनसक्छ नायिका रेखा थापाका प्राय: चलचित्र मल्टिप्लेक्समा चलाइँदैन । यसको कारण रेखा थापालाई ‘सिंगल थिएटर’की नायिका भनिनु पनि हो । थापाका चलचित्र मल्टिप्लेक्सका दर्शकका लागि बन्दैनन् भन्ने सोच मल्टिप्लेक्सका व्यवस्थापकहरूको छ ।
फेसबुकमा सर्वाधिक हिट नायिका रेखा नेपालकी नम्बर एक नायिका भए पनि उनका चलचित्र मल्टिप्लेक्समा नचलाइनु वास्तवमै अचम्म लाग्दो कुरा हो । कात्तिक २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पलाँस’मा भने मल्टिप्लेसका व्यवस्थापकले रुचि देखाएको बताइन्छ ।
‘पलाँस’की निर्मात्री कृषा चौलागाईंका अनुसार उक्त चलचित्रको टिजर युट्युबमा रिलिज भएपछि मल्टिप्लेक्समा पनि ‘पलाँस’ चलाउने कुरा अघि बढेको छ । कुनै चर्चित एवं दर्शकले रुचाएकी नायिकाको चलचित्रलाई यसरी मल्टिप्लेक्स र सिंगल थिएटर भनेर छुट्याउनु गलत भएको निर्मात्री चौलागाईंको गुनासो छ ।