साप्ताहिक संवाददाता
केही अघि नायिका तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले फेसबुकमा एउटा तस्बिर पोस्ट गरिन्, जसमा सृष्टिले समुद्री किनारजस्तो लाग्ने बलौटे पृष्ठभूमिमा अंग्रेजी अक्षरमा ‘एस लभ’ मात्र लेखेर मुस्कुराउँदै पोज दिएकी थिइन् । कसैले उक्त तस्बिरलाई फोटोसप गरेर ‘एस लभ एस’ बनाइदियो । त्यसपछि उक्त तस्बिर यसरी भाइरल भयो कि चलचित्रवृत्तमा अनुमानका अनेक खेती प्रारम्भ भए ।
एस अर्थात सृष्टि त सबैले बुझे, फोटोसप नै गरिएको भए पनि अर्को एसको खोजी हुन थाल्यो । रमाइलो संयोग के भैदियो भने चलचित्र ‘झुम्की’ को प्रिमियर शोमा सृष्टि एक जना एससँग थिइन्, जो थिए— अभिनेता सौगात मल्ल अर्थात् अर्का एस । सिनेमा हलमा दुई जनालाई मात्र देखिएपछि सौगात र सृष्टिको अफेयरको हल्लै चल्यो ।
गसिपका रूपमा आफ्नो नाम सौगातसँग जोडिएपछि सृष्टिले मुख खोलिन् । उनको तर्क छ— ‘हामी राम्रो साथी मात्र हौं, सञ्चारमाध्यममा हाम्रो लभ–अफेयरका गसिप पढ्दा आफैंलाई आश्चर्य लाग्छ ।’ सौगात तथा आफू लालपुर्जाका लागि अनुबन्धित भैसकेको दाबीसमेत गरेकी छिन् ।