हामी अगाडि बढिरहेका मानिस । हामी बाँचेको समय आधा सेकेन्ड पनि रोकिँदैन । हामी चलायमान होऊँ–नहोऊँ, समयको आफ्नै गति छ । बाटाहरू त सधैँ उसैगरी लमतन्न तेर्सिएका हुन्छन् । जो अगाडि पर–परसम्म पनि फैलिएको हुन्छ । जो पछाडि धेरै परबाट गाँसिएको हुन्छ । त्यही बाटो जहाँबाट हामी आएका छौँ र त्यही नै बाटो जसलाई पैतालामुनि थिचेर हामी अघि बढिरहेका छौँ । मानिसहरूका आ–आफ्ना तर्क छन् । केही मान्छे भन्छन्— यात्रामा हिँडेको मान्छेले पछाडि फर्कन हुँदैन । अगाडि मात्र ध्यान दिनुपर्छ ।
केही मान्छे भन्छन्— यात्रामा दायाँबायाँ, अगाडि–पछाडि चारैतिर विचार पुर्याउनुपर्छ । यात्रामै हिँडेको मान्छेले कहिलेकाहीँ पछाडि नफर्के, पछाडि के–के आइरहेको छ थाहा नपाए, आफ्नो बाटोलाई कसरी सहज बनाउन सक्छ ? हाइवेमा गुडिरहेका हरेक गाडीले रफ्तार बढाउने बेलामा होस् वा घटाउने बेलामा होस्, एकपटक पछाडि आएका गाडी नहेरी छाड्दैनन् । सन्तुलित यात्राका लागि कहिलेकाहीँ पछाडि पनि हेर्नैपर्ने रहेछ ।
मानिस जीवनमा पनि अक्सर पछाडि फर्कन रुचाउँछ । कुनै पनि मान्छे जीवनमा पछाडि नफर्की अगाडि बढ्न सक्दैन । अतीतमा फर्केर वर्तमानमा त्यसको प्रभाव महसुस गर्न चाहन्छ । जीवनमा के गरियो अथवा के गरिएन ? केमा खुसी मिल्यो ? केमा पछुतो भयो ? लेखाजोखा राखिरहन मन लाग्छ । पछाडि फर्कनु भनेको यात्रामा अल्झनु मात्र होइन । पछाडि फर्कनु भनेको घाउहरू बल्झनु मात्र पनि होइन । पछाडि धेरै थोक हुन्छन् । सुख पनि हुन्छ, दु:ख पनि हुन्छ । आरोह पनि हुन्छ, अवरोह पनि हुन्छ । यात्रा गर्दा ऊर्जा मिल्ने तत्त्व पनि हुन सक्छ भने यात्रै बिथोलिदिने तत्त्व पनि हुन सक्छ ।
फरक यति मात्र छ कि केही मान्छे अतीतलाई मुटुमा किलाजस्तै ठोकेर हिँडेका छन्, केही मान्छे क्षणभरलाई मात्र बोकेर हिँडेका हुन्छन् । केही मान्छे त अतीतबाट सास फेरेर वर्तमानमा बाँचेका हुन्छन् । सबैका अतीत दुखाउने किसिमका हुँदैनन् । सबैका अतीत लुकाउने किसिमका पनि हुँदैनन् । कतिपय मानिसको अतीत उसको प्राण बचाउने किसिमको हुन्छ । जीवन यदि साँच्चै यात्रा हो भने, उसलाई यात्रामा टिकाउने किसिमको अतीत हुन्छ कतिपयसित ।
पछाडि फर्कनु भनेको सधैँ सबै अवस्थामा ढिलो हुनु, रेसमा हार्नु वा प्रतिगामी हुनु मात्र पनि होइन । गुलेलीबाट मट्याङ्ग्रा छुट्दा पनि एकपटक पछाडि ठेलिन्छ । बन्दुकबाट गोली निस्कनुअघि पनि एकपटक बन्दुक पछाडि ठेलिन्छ । अगाडि बढ्ने शक्ति पछाडिका तत्त्वहरूमा लुकेको हुन्छ । यसै आँखा चिम्लिएर अघि बढ्नुले कहीँ पुर्याउँदैन ।
अक्सर म पछाडि फर्कन्छु र विचार गर्छु । पछाडि, धेरै पछाडि देखिएका दु:खहरू सम्झेरै मलाई अगाडि भेटिएका दु:खहरू पनि सुखझैँ लाग्छन् ।
पछाडि फर्केर हेर्दा गरिएका भूलहरू सम्झन्छु र भूल गर्नुको तीतो अनुभवलाई नजिकबाट चिनेर अगाडि भूल नगर्ने कुरामा सचेत हुन्छु ।
पछाडि फर्कन्छु म यी र यस्तै कुराका लागि । पछाडि फर्कन्छु र मुस्कुराएका, खुसी भएका क्षणहरू स्मरण गर्छु । अगाडि दु:खी भएको अवस्था छ भने पनि तिनले अनुहारमा कमसेकम एउटा मुस्कान पक्कै दिलाउँछ ।
जहाँ पुगियोस् । जस्तो अवस्थामा भइयोस् । पछाडि नफर्की त अगाडि बढ्न सम्भवै नहुने रहेछ । धेरै दु:ख पार गरेर कहीँ पुगेका मानिसहरू भन्छन्, जीवनमा कहिल्यै पछाडि फर्कन चाहन्नँ । पछाडि फर्केर अतीतलाई एकपटक नियाल्दैमा ती दु:खले आक्रमण गर्ने होइनन् ।
तिनले अघि बढ्न नदिने होइनन् । परबाट एउटा छोटो नजर लगाउँदैमा दु:ख बल्झने होइन । तिनले त हामीलाई अझ बलियो बनाउँछन् । यसैका लागि पछाडि फर्केर हेर्नुपर्छ, किनभने अगाडि बढाउने ऊर्जा पछाडिका तत्त्वहरूमै लुकेको हुन्छ ।