अमेरिकाको कोलोराडो राज्यको डेनभरमा आगामी तिहार तथा छठ पर्वपछि कात्तिक २७ गते अर्थात् नोभेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म एवार्ड शीर्षकको कार्यक्रम हुने भएको छ । चलचित्रसम्बन्धी पुरस्कार समारोह अधिकांश रूपमा मुलुकभित्र मात्र हुँदै आएकोमा नेपाली चलचित्रलाई विश्वसामु चिनाउने ध्येयले अमेरिकामा पहिलो पटक यस्तो कार्यक्रम आयोजित गर्न लागिएको बताइएको छ ।
उक्त समारोहमा उत्कृष्ट चलचित्र, उत्कृष्ट नायक तथा नायिका, सहनायक तथा नायिका, वर्ष हास्यकलाकार, निर्देशक, जीवनकाल कार्यसिद्धि पुरस्कारसमेत गरी आठवटा विधामा पुरस्कार प्रदान गरिनेछ । समारोहमा नायक शिव श्रेष्ठ, कृष्ण मल्ल, नीर शाह, सुनिल थापा, नायिका शर्मिला मल्ल, कलाकार बसुन्धरा भुसाल, संगीत निर्देशक शम्भुजित बाँस्कोटा, नृत्य निर्देशक वसन्त श्रेष्ठ, नायक तथा निर्माता मधु श्रेष्ठ आदि सहभागी हुनेछन् ।
यसैगरी समारोहमा चलचित्र निर्देशक सुदर्शन थापा, नायिका अशिस्मा नकर्मी, पूजा शर्मा, युना उप्रेती तथा नन्दिता केसी, नायक गणेश उप्रेती, विक्रान्त बस्नेत, चलचित्र बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघ नेपालका अध्यक्ष रामकेशर बोगटी, निर्देशक उदय सुब्बा, निर्देशक श्याम भट्टराई आदि पनि सहभागी हुने बताइन्छ ।
कार्यक्रममा अमेरिका, नेपाल तथा विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकहरूले जानकारी दिएका छन् । कार्यक्रम कोलोराडोको ब्रुमफिल्ड सभामण्डपमा हुने तय भएको छ ।
विजय थापा