साप्ताहिक संवाददाता
प्रश्न देख्नेबित्तिकै सानो छँदा सुनेको गीत सम्झना आयो, ‘नखेल्नु जुवा र तास, धनको नाश, जीवनको वनबास ।’ कुरा बुझ्नुभयो होला नि ।
नारायण कडरिया, भिजे
म त साथीभाइ तथा आफन्तहरूसँग अझ राम्रो सम्बन्ध होस् भनेर रमाइलोका लागि मात्र तास खेल्छु ।
सुनिलसिंह ठकुरी, गायक
खासै खेलिँदैन, तर कहिलेकाहीँ चाडपर्वमा परिवारसँग रमाइलो अनि साथीभाइहरूसँग जित्नका लागि खेलिन्छ ।
ज्ञानेन्द्र शर्मा, छायाँकार
पहिले रमाइलोका लागि भनेर खेल्न बसिन्छ । बिस्तारै हार्दै गएपछि जित्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्छ । मलाई मात्र होइन, सबैलाई यस्तै हुँदो रहेछ । त्यसैले रमाइलो गर्दै जित्नका लागि खेलिन्छ ।
राजनराज शिवाकोटी, संगीतकार
तास खेलिँदैन, एउटा बाँकी भएको राम्रो आदत बस यत्ति हो ।
सुगम पोखरेल, गायक
रमाइलोका लागि खेल्छु ।
धीरज राई, गायक
सकेसम्म तास खेलिँदैन, खेल्न बसिसकेपछि जित्ने इच्छाले नै बसिन्छ । जित्न सकिएन भनेचाहिँ उही पुरानो उखान ‘तासमा हार्नेले मायामा जित्छ’ भन्यो, चित्त बुझायो ।
नाजिर हुसेन, कलाकार
परिवारसँग रमाइलोका लागि, अरूसँग जित्नका लागि, किनभने परिवारलाई जितौरी बाँडन साह्रै रमाइलो हुन्छ ।
नरेश पौड्याल, निर्देशक
खेल सानो होस् वा ठूलो जित्नकै लागि खेलिन्छ । केटी राम्री होस् वा ठिक्ककी मन जित्नका लागि फकाइन्छ । जुवा होस् वा जिन्दगी सानोभन्दा सानो बाजी पनि आफैं जित्न मन लाग्छ ।
दीपकराज गिरी, कलाकार
थोरै खेलियो भने रमाइलोका लागि, ठूलै खाल बस्यो भने त जित्नकै लागि खेलिने हो नि !
विक्रम भाइरस, कोरियोग्राफर
जीवनमा तासको बाजी होस् कि अरू कुनै खेल, जित्नकै लागि खेलिन्छ । दसैं–तिहारमा चाहिँ साथीहरूसँग रमाइलोका लागि खेलिन्छ ।
हसन खान, नायक
जितेर रमाइलो गर्न, राम्रा साथीहरूसँग भेटघाट गर्न अनि हाउस पार्टीको बहानामा रमाइलो गर्न ।
मञ्चिन शाक्य, मोडल/कोरियोग्राफर
जित्नका लागि खेल्ने जुवाडेले हो, कर्मयोगीले होइन । म कर्ममा विश्वास गर्छु, त्यसैले रमाइलोका लागि खेल्छु । कतै तपाईंले जित्नका लागि खेल्ने भनेर बोलाउन लागेको त होइन ? विचार गर्नुस् है म कहिल्यै हार्दिनँ नि ।
सन्तोष सापकोटा, इभेन्ट व्यवस्थापक
चाडबाडमा रमाइलोका लागि खेलिन्छ । जितियो भने कतिखेर उठूँ भनेर छटपटी हुन्छ, हारियो भनेचाहिँ थप खेल्न मन लाग्छ ।
उत्तम थापा युडी, गायक
खेल्नेचाहिँ रमाइलोका लागि हो, तर खेलेपछि आफैंले जितौं भन्ने लाग्छ । फेरि आजसम्म मैले हारेको छैन । बरु आफूले जित्दा हार्नेलाई पैसा सापटी दिनचाहिँ रमाइलो लाग्छ ।
राजेश घतानी, निर्माता
म तास नै खेल्दिनँ, के भन्नु ?
प्रभात रिमाल, इभेन्ट व्यवस्थापक
खेल्ने पार्टनर नपुगेका बेला आफू पार्टनर भएर खेल्दा रमाइलो लाग्छ । म तास रमाइलोका लागि खेल्छु ।
दिनेश डिसी, निर्देशक
तासमा आउने भनेको जुटपत्ती हो, अरू खेल खासै आउँदैन । मचाहिँ तास सिक्नका लागि खेल्छु ।
विल्सनविक्रम राई, हास्यकलाकार
मलाई तासमा खेल्न आउने जम्माजम्मी जुटपत्ती मात्र हो । त्यसमा पनि जहिल्यै हार्छु ।
विनोद न्यौपाने, मोडल
जिते जुत्ता किन्ने, हारे ऋण नै त हो, तिरौला बिस्तारै भनेर खेलिन्छ ।
अनन्त तिमिल्सिना, चलचित्र निर्माण व्यवस्थापक
खेल्ने त जित्नकै लागि हो, तर त्यसका साथै रमाइलो पनि हुन्छ ।
अमिर गौतम, नायक/मोडल
बिल्कुल रमाइलोका लागि, जित्छु नै भनेर खालमा बस्छु तर सधैं टाट पल्टिन्छु ।
सशान कँडेल, गायक/भिडियो निर्देशक
खेल्ने त रमाइलोकै लागि हो, तर जितिएन भने के रमाइलो ?
रोशनी केसी, रंगकर्मी
रमाइलो गर्दै जित्नका लागि ।
सुवास थापा, निर्माता