साप्ताहिक संवाददाता
म्यानमारकी चर्चित रक गायिका सीले बुद्धस्थल तिलौराकोट एवं लुम्बिनी विश्व शान्तिको प्रेरणाको स्रोत भएको बताएकी छिन् । बुद्धका उपदेशले मानिसलाई मुक्ति दिन्छ, अँध्यारोबाट उज्यालोतर्फ डोर्याउँछ, सीले भनिन्— अब म जीवनभर बुद्धवचन पछ्याउँछु ।
म्यानमारका हजारौं युवा–युवतीलाई फ्यान बनाउन सफल सीका अनुसार बौद्ध मुलुक भएकाले म्यानमारका हरेक नागरिकको सपना एकपटक तिलौराकोट, लुम्बिनी आदि पुगौं भन्ने हुन्छ, आज मेरो सपना पूरा भएकोमा निकै खुसी छु । सीले लुम्बिनीमा अशोक स्तम्भलाई तीनपटक नमन गरिन् भने मायादेवी मन्दिरमा पूजाआजा पनि गरिन् ।
म्यानमारका सञ्चारमाध्यमले लेडी गागाको उपमा दिने गायिका सीले नेपाल आउँदा आफ्नै नातेदारकहाँ आए जस्तो अनुभव भएको कुरासमेत बताइन् । सी म्यानमारकै चर्चित गीतकार तथा बौद्ध गुरु विन मिन थ्वे एवं आमाका साथ नेपाल आएकी थिइन् । उनले बुद्धजन्म स्थल लुम्बिनीमा पूजाआजा गरी ध्यानसमेत गरिन् । चित्रकारसमेत रहेकी सीले भनिन्— म्यानमारका जनतालाई बुद्ध जन्मस्थलको जानकारी दिएर यसको प्रवद्र्धनमा समेत सक्रिय हुने मन बनाएकी छु ।
सी म्यानमारमा अभियान चलाएर संकलित रकमले भूकम्प प्रभावित काभ्रेको बालुवापार्टी गाविस–६, डाँडागाउँमा निर्माण गरिएको सामुदायिक भवन उद्घाटन गर्न नेपाल आएकी थिइन् । भवन उद्घाटन गरेर फर्कने क्रममा उनले उत्साहित हुँदै भनिन्— फेरि नेपाल आउन लालायित छु । यहाँको आतिथ्यता र बसाइ कहिल्यै बिर्सन सकिँदैन, बुद्ध त्यसै नेपालमा जन्मिएका होइन रहेछन् ।