साप्ताहिक संवाददाता
२० वर्षअघि नै टेलिभिजनमा अत्यधिक रुचाइएको हास्यश्रृंखला ‘ट्वाक्क टुक्क’ नयाँ स्वरूपमा पुन: प्रसारण हुन थालेको छ । ‘ट्वाक्क टुक्क रिटन्र्स’ शीर्षकमा निर्देशक दिनेश डिसीले यो श्रृंखलालाई कान्तिपुर टेलिभिजनमार्फत दर्शकमाझ ल्याएका हुन् ।
अहिलेको पुस्ताका अधिकांश हास्य कलाकारले यही श्रृंखलाबाट अभिनयमा पदार्पण गरेको इतिहास छ । दुई साताअघिदेखि प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुन थालेको यो श्रृंखलाले कम समयमै दर्शकको मन जितेको छ । श्रृंखलामा निर्देशक दिनेश डिसीसहित नक्कली प्रचण्ड अर्थात घनश्याम गौतम, महादेव त्रिपाठी, रेशम फिरिरी, सुशीला निरौला, जुंगे भट्टराई, माधव पण्डित, सुरेश असिम, जनक खड्का आदि कलाकारले अभिनय गरिरहेका छन् ।
के जमाना आ
सिपी पुडासैनीद्वारा निर्देशित हास्यश्रृंखला ‘के जमाना आ’ को प्रसारण प्रारम्भ भएको छ ।
नेपाल टेलिभिजनबाट प्रत्येक मंगलबार राति ९:३० बजेदेखि प्रसारण हुने यो श्रृंखलामा सिपी पुडासैनी, शिरोमणी दवाडी, गोविन्दप्रसाद खतिवडा, उमेश केसी, दिप्तप्रकाश अधिकारी, शशिविक्रम थापा, सुशीला निरौला, टेकराल लाङघाली, विकासराज पाण्डे, दीपा केसी, प्रमिला न्यौपाने, प्रवेश दाहाल आदि कलाकारले अभिनय गरेका छन् ।
निर्देशक पुडासैनीका अनुसार कात्तिक १८ गतेदेखि यो श्रृंखला प्रत्येक शनिबार राति ९:३० बजे प्रसारण हुनेछ । श्रीराम रायमाझीको परिकल्पनामा तयार भएको यो श्रृंखलाको तीन भाग प्रसारण भैसकेको छ ।
ल खत्तम
हास्य श्रृंखला ‘मेरी बास्सै’ का राजु मास्टर अर्थात् राजु पौडेलले आफ्नै निर्देशनमा हास्य श्रृंखला ‘ल खत्तम’ को छायांकन प्रारम्भ गरेका छन् । पोखरामा छायांकन प्रारम्भ गरिएको यो श्रृंखला त्यहींको एक टेलिभिजन तथा यूट्युबबाट प्रसारण हुने बताइन्छ । श्रृंखलाको निर्माणमा निर्देशक पौडेललाई पोखराका कलाकार दिवाकर भण्डारीले साथ दिएका छन् । उनीहरू दुवै जना यो श्रृंखलाको मुख्य भूमिकामा छन् ।
'पहुँच' को प्रसारण
नेपालको पहिलो नागरिक–प्रहरी रियालिटी गेम शोका रूपमा तयार पारिएको ‘पहुँच’ को प्रसारण प्रारम्भ भएको छ । प्रहरी तथा नागरिकबीच सहकार्यमा आधारित यो रियालिटी शो असोजको पहिलो सातादेखि प्रत्येक शुक्रबार साँझ ७:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको हो ।
१३ भाग लामो यो गेम शोमा विभिन्न पृष्ठभूमिका ८ जना प्रतियोगी छन् । उनीहरूले शोमार्फत कर्तव्य ज्यान, मानव बेचबिखन, सवारी सडक सुरक्षा, यौन दुव्र्यवहार आदि विषयमा प्रहरीद्वारा सम्पादन गरिने कार्यलाई सम्पादन गर्ने प्रयास गर्छन् ।
ती कार्य कसरी सम्पादन गरिन्छ भनेर प्रतियोगीहरूलाई नेपाल प्रहरीका अधिकृतले प्रशिक्षण दिन्छन् । छिरिङ रितार शेर्पाले यो शोलाई निर्देशन गरेका छन् ।